जापानको नयाँ सरकार
Primary tabs
अक्टोबर १ मा, शिगेरु इशिबाले जापानको नयाँ प्रधानमन्त्रीको रूपमा सपथ लिए। तत्कालीन सरकारले पूर्ण रूपमा राजीनामा दियो र नयाँ प्रमुखले तुरुन्तै आफ्नो क्याबिनेट गठन गर्न थाले। यी परिवर्तनहरू अपेक्षित थिए। किनकि त्यसकाे अघिल्लो दिन इशिबाले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखको निर्वाचन जितेका थिए। जसले, कोमितो पार्टीसँग मिलेर संसदको दुवै सदनमा बहुमत प्राप्त गरेको छ।
शिगेरु इशिबाले यसअघि चार पटक प्रधानमन्त्रीको लागि उम्मेदवारी दिएका थिए तर असफल भएका थिए। यसपटक पनि दौड कठिन थियो। नौ जना उम्मेदवारहरू सहभागी थिए। तर तिनीहरू मध्ये केवल दुई जना, कोइजुमी शिन्जिरो र इशिबा शिगेरु, पार्टी समर्थकहरू र जनताका बीच स्पष्ट रूपमा छनौटको केन्द्रमा थिए।
दुई हप्ताको अभियानको अन्त्यसम्ममा तेस्रो उम्मेदवार देखा परिन्, ताकाइची सानाए, जसले दुबैलाई चुनौती दिइन्। वास्तवमै ताकाइचीले पहिलो चरणको मतदानमा पहिलो स्थान हासिल गरिन्। इशिबा दोस्रो स्थानमा झरेका थिए। कुल सात सय छत्तीस मत आवश्यक थियो। जसमध्ये देशभरका आधा पार्टी सदस्यहरूबाट र आधा सांसदहरूबाट आएको थियो। ताकाइचीले साधारण नागरिकहरूबाट १०९ मत र संसदका सदस्यहरूबाट ७२ मत प्राप्त गरिन्। जसले गर्दा उनको कुल मत १८१ भयो। इशिबा, क्षेत्रीय पार्टी सदस्यहरूबीच पुरै निर्वाचन दौडमा स्थिर मनपर्ने उम्मेदवार रहिरहे तापनि सांसदहरूबाट कम समर्थन पाए र दोस्रो स्थानमा १५४ मतका साथ आए।
दोस्रो चरणको नतिजा २१५ मत विपक्षमा १९४ थियो। जसले उम्मेदवारहरुको छनोटमा पार्टीभित्रका असहमतिहरु उजागर गर्यो। यहाँ हामीले जापानको राजनीतिक संरचनाको बारेमा केही भन्नु पर्छ। हाम्रो विचारमा कुनै पनि पार्टीभित्र अनुशासन हुनु पर्छ। तर, जापानमा सबै राजनीतिक दलहरू विभिन्न गुटहरूको समूहमा बिभाजित छन्, जसका स्वार्थहरू कहिलेकाहीं एकअर्कासँग बाझिन सक्छन्।
६७ वर्षीय बैंकरबाट राजनीतिज्ञ बनेका व्यक्ति, जो लामो समयदेखि सबैभन्दा उच्च पदको आकांक्षी थिए। उनको आफ्नो ३८ वर्ष लामो राजनीतिक करियर (सन् १९८६ मा पहिलो पटक संसदमा निर्वाचित भएका थिए) को क्रममा मुख्यत: सुरक्षा र जापानमा ग्रामीण समुदायहरूको पुनरुत्थानका मुद्दाहरूमा उठान गरेका छन्। शिगेरु इसिबालाई "Military geek" (सैन्य गीक) भनेर चिनाइएको छ। उनको भनाइ अनुसार उनको रक्षा नीतिमा चासोको कारण गल्फ युद्धपछि उत्पन्न भएको थियो। उनी सैन्य उपकरणहरूको मोडल सङ्कलन गर्छन् र एनिमेका प्रशंसक हुन्। तर उनको सैन्य विषयहरूमा चासो (उनी देशका रक्षा मन्त्री बनिसकेका थिए) यतिमा मात्र सीमित छैन।
इशिबाले एसियाली नाटोको स्थापनाको समकक्षीताको वकालत गर्छन् र एसिया-प्रशान्त क्षेत्रमा अमेरिकी परमाणु हतियार तैनाथ गर्ने सम्भावनाको समर्थन गर्छन्। उनले यी प्रस्तावहरू चुनावी अभियानका क्रममा अघि सारेका थिए। त्यही समयमा, उनले यसलाई संयुक्त राज्य अमेरिकामा पनि सक्रिय रूपमा प्रचार गरिरहेका छन्। विशेष गरी, हड्सन इन्स्टिच्युट विश्लेषणात्मक केन्द्रले २५ सेप्टेम्बरमा एसियाली क्षेत्रको द्विपक्षीय सहकार्य र सुरक्षा प्रणालीको बारेमा इशिबाको दृष्टिकोणमा आधारित लेख प्रकाशित गरेको थियो।
इशिबाको सन्दर्भमा, परराष्ट्र नीति र सुरक्षामा जोड दिइएको कुरा एक ठूलो भूमिका खेल्यो। चुनाव अघि इशिबाले ताइवान भ्रमण गरेका थिए र जापान-ताइवान सम्बन्ध तथा चीनलाई रोक्ने उपायहरूबारे राष्ट्रपति लाइ छिङ-तेसँग छलफल गरेका थिए। यसभन्दा अगाडि नै समुन्द्रमा केही घटनाहरू भैसकेका छन् । जहाँ चीन र जापानले एक अर्कालाई आफ्नो क्षेत्रीय जलक्षेत्र उल्लङ्घन गरेको आरोप लगाएका थिए। इशिबाले विश्वास गर्छन् कि जापानी आत्मरक्षा सेनालाई अन्य विदेशी जहाजहरूले आफ्नो हवाई वा जलक्षेत्रमा प्रवेश गरेमा चेतावनीको रूपमा गोली हान्न अनुमति दिनुपर्छ।
एशियामा नेटो जस्तै संगठन स्थापना गर्ने अवधारणाका साथै, इशिबाले जापानमा अमेरिकी सैन्य उपस्थिति नियमन गर्ने अमेरिकी सशस्त्र बलहरूको स्थितिको सम्झौता संशोधन गर्न आवश्यकताको बारेमा केही प्रस्तावहरू पनि प्रस्तुत गरेका छन्। इशिबाले भनेका छन् कि, यो उनको मन्त्रिपरिषद्को लागि प्राथमिकताहरू मध्ये एक हुनेछ।
अभियानमा दोस्रो प्रमुख बिन्दु विदेश नीति सेप्टेम्बर १८ मा चीनको शेनझेनमा एक दस वर्षीय जापानी बालकको मृत्युमा जापानको प्रतिक्रिया थियो। जब उनकी आमा उनलाई विद्यालय पुर्याउँदै थिइन्। चिनियाँ अधिकारीहरूले यो घटना संयोगवश भएको दाबी गरेका थिए। तर यो १९३१ को मुक्डेन घटनाको वार्षिकोत्सवमा भएको थियो। जसले दोस्रो चिन-जापान युद्धको सुरुवात गराएको थियो।
ध्यान दिनु पर्ने कुरा यो छ कि इशिबाले आफ्नो शक्तिहरू र चुनावी वाचाहरू पूरा गर्न दृढतापूर्वक कदम चाललेका छन्। अक्टोबर १-२ को रातमा, आफ्नो क्याबिनेटको उद्घाटन पछि, इशिबाले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई फोन गरी जापान-अमेरिका गठबन्धनलाई सुदृढ बनाउन छलफल गरे र उनले संयुक्त राज्य अमेरिकालाई जापानसँग विश्वव्यापी साझेदारका रूपमा नजिकबाट काम गर्न आग्रह गरे। इशिबाले जापानको रक्षा बजेट र उपकरणहरू बढाउने आफ्नो उद्देश्यको घोषणा पनि गरे ताकि यसको सैन्य क्षमता बलियो बनाउन सकियोस्।
यो पनि ज्ञात छ कि बाइडेन र इशिबाले समान विचारधारा भएका राष्ट्रहरूको बहुपक्षीय सञ्जालको विकास आवश्यक रहेकोमा सहमति जनाए। जस्तै क्वाड्रिलेटरल पार्टनरशिपको ढाँचामा अष्ट्रेलिया र भारतसँगको सहयोग, साथै दक्षिण कोरिया र फिलिपिन्ससँगको त्रिपक्षीय साझेदारी। यसका उत्तर कोरिया, युक्रेनको साथै इजरायलमा इरानको ब्यालिस्टिक मिसाइल प्रक्षेपणका विषयहरू पनि समेटिएका थिए।
यद्यपि इशिबाले आर्थिक रूपमा जापानलाई लामो समयको मुद्रास्फीतिको चक्रबाट बाहिर ल्याउन फुमियो किशिदाको मार्गलाई निरन्तरता दिने घोषणा पनि गरे। जापानको प्रधानमन्त्रीको रूपमा उनको निर्वाचनले येनको विनिमय दरमा उतारचढाव ल्यायो - उनी पार्टीको नयाँ प्रमुख निर्वाचित हुनु अघि डलरको लागि १४६ येन दिइएको थियो। र सोमबार, सेप्टेम्बर ३० मा विनिमय दर १४१ येनमा झरेको थियो। इशिबा आफैले वित्तीय आम्दानीमा कर बढाउने आफ्नो चाहना व्यक्त गरे। जसले निक्केई सूचकाङ्कमा गिरावट ल्यायो। किनकि लगानीकर्ताहरू यो विश्वास गर्छन् कि यस्तो नीतिले जापानी स्टकहरूलाई नकारात्मक असर गर्न सक्छ।
येनको छिटै कमजोर हुने अन्य संकेत र कारकहरू पनि छन्। जसमा सट्टेबाजी खरीदहरू समावेश छन्।
यद्यपि जापानमा र संयुक्त राज्य अमेरिकामा चुनावहरू हुने बेला नोभेम्बरको सुरु सम्ममा मौद्रिक अस्थिरता कायम रहने सम्भावना धेरै छ। जसको परिणामबाट जापान र संयुक्त राज्य अमेरिकाको मौद्रिक नीतिको दिशा निर्धारण गर्न सजिलो हुनेछ।
जापानी संसदको तल्लो सदनको विघटन अक्टोबर ९ मा हुने संभावना छ। र प्रारम्भिक चुनावहरू अक्टोबर २७ मा हुनेछन्। नयाँ प्रधानमन्त्रीले प्रतिनिधि सभा चुनावका लागि आफ्नो तयारी व्यक्त गरिसकेका छन् र भनेका छन्: "म पुरा दिल र आत्माबाट, भयरहित, चुनावलाई सिधै सामना गर्न चाहन्छु।" यद्यपि उनले यो चुनाव सजिलो नहुने सम्भावना रहेको बताइएको छ। सेप्टेम्बर २३ मा जापानको संविधानिक प्रजातान्त्रिक पार्टीले पूर्व प्रधानमन्त्री नोदा योशिहिकोलाई आफ्नो नयाँ नेता चयन गर्यो। जसले असन्तुष्ट मध्यमार्गी परम्परावादीहरूको मन जित्न प्रयास गरेको छ। एलडीपीको साझेदार कोमेटो पार्टीमा पनि नेतृत्व परिवर्तन भइरहेको छ।
यसबाहेक, एउटा धारणा छ कि उनले प्रधानमन्त्रीको पदसम्म पुग्न सफल भए पनि, इशिबा धेरै समय टिक्न सक्ने छैनन्। उनको "एशियन नाटो" को प्रस्ताव पूर्ण रूपमा अवास्तविक छ र यो संसदमा छलफलमा उत्रिन सक्दैन। वास्तवमा, संयुक्त राज्य अमेरिका स्वयं पनि यस विचारलाई धेरै सतर्कताका साथ हेरिरहेको छ। र कर वृद्धिको लागि गरिएको उनको भनाइलाई जापानी मतदाताहरूले नकारात्मक रूपमा लिनेछन्। अन्ततः, जापानको राजनीतिक प्रणालीका आफ्नै विशेषताहरूले, जहाँ मन्त्रिपरिषद्का मन्त्रीहरूलाई समेट्ने घोटालाहरू वा दल बदल्ने घटनाहरू अक्सर देखा पर्छन्, र त्यसले पनि भूमिका खेल्न सक्छ। यसबाहेक, पूर्व प्रधानमन्त्री शिन्जो आबेका विशेष सल्लाहकारले इशिबाको राजनीतिक स्थान र उनको शंकास्पद व्यवस्थापकीय कौशलले राम्रो संकेत गर्दैन भनी विश्वास गर्छन्।
रुसका लागि, स्पष्ट छ कि, यदि "एशियन नाटो" को विचारहरू आंशिक रूपमा पनि यथार्थमा परिणत हुन सुरु गर्छ भने, यो विशेष रणनीतिक मार्गले सबैभन्दा पहिले जापानलाई साथै यो सम्पूर्ण क्षेत्रको सुरक्षाको लागि पनि राम्रो संकेत गर्ने छैन।
अनुवादक: मोहनप्रसाद ज्ञवाली