अमेरिका: उत्तर- उदारीकरण युगको अनिश्चितता
Primary tabs
पहिले गरिएका भविष्यवाणीहरू र योजनाहरू तथ्यको क्षेत्रमा मेलखान्छन् भने तिनीहरुसँग तुलना गरेर पालना गर्न सकिन्छ। साथै वास्तविकता जाँच पूर्वानुमानसँगको सम्बन्धद्वारा समर्थन गरिन्छ। यो सही छ, त्यो गलत छ र यो विचलन हो।
तर, त्यस्ता परिस्थितिहरू पनि आउँछन्, जहाँ तथ्यहरूले कुनै पनि पूर्वानुमान र योजनालाई खण्डन गर्छन्। सम्पूर्ण परिस्थितिलाई उल्ट्याएर देखाउँछन्। र प्रमाणित गर्छन् कि पहिलेको परिप्रेक्ष्य नै पूर्णतया गलत थियो। यो केवल भविष्यसँग मात्र होइन, अतीत र वर्तमानसँग पनि सम्बन्धित हुन्छ। यदि कुनै त्यस्तो कुरा हुन्छ जुन सामान्यतया कुनै पनि परिस्थितिमा सम्भव नहुने हो, त्यसको अर्थ सामान्यताको संरचना नै त्रुटिपूर्ण थियो र विश्लेषण गम्भीर गल्तीमा आधारित थियो। जब तपाईंले भविष्य देख्न र नियन्त्रण गर्न सक्नुहुन्न भने, यसको अर्थ तपाईं वर्तमान र विगतको बारेमा पनि गलत हुनुहुन्छ।
त्यो घटना USSR को अन्ततिरको अवस्था थियो। मार्क्सवादी कट्टरपन्थी इतिहास व्याख्याअनुसार समाजवाद पूँजीवादको पछि आउँछ। त्यो परिस्थिति कहिल्यै पनि उल्टिन सक्दैन। त्यसैले पूँजीवादमा फर्कनु असम्भवप्राय: मानिन्थ्यो। जब यो भयो, समाजवाद एउटा सिद्धान्तको रूपमा विस्फोट भयो। USSR को अन्त्यले भविष्यको भविष्यवाणी गर्न असफल भयो र देश र विचारधारा दुबै सदाका लागि समाप्त भयो। यो केवल एउटा 'ब्ल्याक स्वान' को प्रदर्शन मात्र थिएन। यो वैचारिक संरचनाको आन्तरिक विघटन थियो। "यो अन्त हो, मेरो मित्र।"
यही कुरा अहिले उदारवादसँग भइरहेको छ। USSR को पतनपछि फुकुयामाको 'इतिहासको अन्त' आएको थियो। र उदारवादको विश्वव्यापी विजयलाई अपरिवर्तनीय रूपमा व्याख्या गरियो। वैश्वीक सरकार (लगभग) यहाँ थियो। वैश्वीकतावादले शासन गर्न सुरु गर्यो। पश्चिमी उदारवादले सबै ऐतिहासिक शत्रुहरूलाई जित्यो। जस्तैः क्याथोलिसिज्म, साम्राज्यहरू, सामन्तवाद, राष्ट्रिय राज्यहरू, फासिवाद, साम्यवाद - सबै प्रणालीहरू जो सामूहिक पहिचानमा आधारित थिए। अब केवल लिंगको सामूहिक पहिचानबाट मुक्ति बाँकी थियो। त्यसैले लिङ्ग राजनीति। उत्तर-मानव युगको तयारी सुरु भएको छ।
उदारवादी सिद्धान्त अनुसार यसको उल्टो सम्भव छैन भन्ने ठानिन्थ्यो। केवल प्रगति। यसरी नै जागरुक राजनीतिमा (woke-politics) को आगमन भयो। अस्वीकृत संस्कृति (cancel culture), वाम उदारवाद, उत्तर-आधुनिकता (post-modernism), उत्तर-मानववाद (post-humanism), शक्तिशाली कृत्रिम बुद्धिमत्ता (strong AI), एकत्व (Singularity), र आशावादी तीव्रता (optimistic accelerationism) ले आकार लियो।
२०१६ मा ट्रम्पको उदय भएको बेलामा यसलाई एउटा छोटो सर्किटको रूपमा बुझियो। जस्तो कि कम्प्युटर बिग्रेको छ। केवल एक गल्ती। उनले जित्नुपर्ने होइन। कहिल्यै। कुनै प्राविधिक त्रुटि। कालो हाँस (black swan)। सम्भाव्यताको सिद्धान्तले यस्ता घटनाहरू कहिलेकाहीं हुन्छन् भनेर स्वीकार्छ। २०२० मा प्रगतिवादीहरूले त्यो सुधार्न सकेजति गरे। जस्तोसुकै माध्यमको प्रयोग गरेर। झूट, धोखाधडी, हिंसा। २०२४ को चुनाव नजिक आयो। फुकुयामा र हरारीले चेतावनी दिए: यदि ट्रम्प जिते भने त्यो (उदारवादी) विश्वको अन्त्य हुनेछ। उनले हार्नु पर्छ।
अहिले ट्रम्पले जितेका छन्। उदारवादी विश्वको अन्त्य भएको छ। वास्तवमा यो यहाँ छ। तथ्य जाँचले उदारवादी भविष्यवाणीहरूको खण्डन गर्दछ। र ट्रम्पलाई रोक्ने उनीहरूको सबै प्रयास असफल भएका छन्। ट्रम्प केवल ट्रम्प भन्दा बढी हुन्। उनी इतिहास हुन्। इतिहासको गैर-उदारवादी र उत्तर-उदारवादी मोडमा।
उदारवादी सिद्धान्तभित्र ट्रम्पको दोस्रो आगमन सम्भव थिएन। दुई पटक त पक्कै पनि सम्भव थिएन। यो अब कुनै छोटो सर्किट होइन, न त कुनै अप्रत्याशित घटना। यो सोभियत प्रणालीको अन्त्यजस्तै हो— केही असम्भव, जसले सबै भविष्यवाणी, योजना, र पूर्वानुमानलाई उल्ट्याइदियो। उदारवादीहरूले आफ्नो भविष्य गुमाएका छन्।
उदारवादीहरूले केवल भविष्यमा नियन्त्रण गुमाएका छैनन्। त्यसका साथसाथै उनीहरूले आफ्नो विगतमा पनि नियन्त्रण गुमाएका छन्। उदारवादको सम्पूर्ण वैचारिक सिद्धान्त गलत साबित भएको छ। उदारवाद असफल भएको छ। तथ्यहरूको क्षेत्रले उदारवादी सिद्धान्तको दायरालाई पार गरेको छ। ठीक सोभियत संघको अवस्थामा मार्क्सवादसँग भएकोजस्तै।
ट्रम्प, वान्स र ट्रम्पवादको दोस्रो आगमन पुर्णरूपमा असम्भव र अप्रत्याशित थियो। त्यसैले, उनीहरूले ट्रम्पलाई दुई पटक मार्ने प्रयास गरे। उनीहरूले तथ्यलाई कृत्रिम रूपमा सुधारेर भविष्यलाई जोगाउने प्रयास गरे। उनीहरूले हार खाए। पोस्ट-लिबरल (उत्तर-उदारवाद) भविष्य यहाँ छ। पूर्ण रूपमा अज्ञात। अप्रत्याशित।
सोभियत संघको पतनको अवस्थामा परिस्थिति अलि सजिलो थियो। समाजवादी विचारधारा भत्कियो र रसियाले उदारवादी विचारधारालाई अपनायो। अलमलपूर्ण रूपमा। जसरी सकियो। दुई ध्रुवहरूमध्ये एउटा समाप्त भयो र रसियाले बाँकी रहेको ध्रुवको विचारधारालाई अपनायो। काट्ने र जोड्ने विधि। त्यो समाजवादी विचारधाराको खारेजी थियो तर उदारवादी विचारधारालाई सुदृढ र स्वीकार गर्नु थियो। रसियनहरूले फुकुयामासँग सहमति जनाए। रसियाले वैचारिक रूपमा पूर्ण रूपमा आत्मसमर्पण गर्यो। तर भू-राजनीतिक रूपमा रसियाले आफ्नो सार्वभौमसत्ता (केही मात्रामा) जोगायो। जब पुटिन सत्तामा आए। उनले त्यो सार्वभौमसत्तामा भर परेर रसियाली स्वतन्त्रतालाई पुनः स्थापित गर्न सुरु गरे। र राज्यलाई यथार्थवादी दृष्टिकोणमा थप महत्व दिन थाले। यो नै उदारवाद र विश्वव्यापीकरणसँग रसियाको विरोधाभासको सुरुवात थियो।
उदार प्रणालीको अन्त्य सँग-सँगै (जुन अहिले अमेरिकामा समाप्त हुँदैछ) अन्य कुरा अझ जटिल भएका छन्। सामूहिक उदार पश्चिमबाहेक अब कुनै पनि ध्रुव छैन। कम्तीमा अमेरिकी हेगेमोनिक चेतनाले कुनै पनि यस्तो मोडेललाई मान्यता दिन्न। जुन विचारधाराको क्षेत्रमा आदर्श बन्न सक्दछ। कट र पेस्ट रणनीति अब असम्भव छ। अमेरिका आफैंले यसलाई पार गरेको छ। यसको लिबरल क्षण समाप्त भएको छ।
कसको पक्षमा? कोहीलाई थाहा छैन। यो नै अहिलेको परिस्थितिको सुन्दरता हो। चुनौती हो। र खतरापूर्ण अवस्था पनि।
यहाँ "ट्रम्पो-फ्युटुरिज्म" को घटना देखा पर्दछ। अमेरिकी परम्परागत मूल्यहरू प्लस मंगल ग्रहको उपनिवेशीकरण र ग्रेट फिल्टरलाई पार गर्ने प्रयासमा छ। साइबर कन्जरभेटिभ क्रान्ति। अन्तरिक्ष साम्राज्य। स्टीव बैनन र एलेक्स जोन्सको वार रूम टोलीलाई पुनः शिक्षित गरिएको एआई। डार्क इनलाइटेन्मेन्ट र ब्ल्याक एक्सेलेरेशनिज्म।
रोमाञ्चक। एपस्टीनको सूची सार्वजनिक गर्न र एलेक्जाण्डर सोरोसलाई पक्राउ गर्न नबिर्सनुहोस्।
अनुवाद: मोहन ज्ञवाली