नयाँ याल्टा र बहुध्रुवीयताको उदय

असी वर्ष अघि, सन् १९४५ फेब्रुअरी ४ मा, मित्रराष्ट्र शक्तिहरूको याल्टा सम्मेलन प्रारम्भ भयो। जसले नाजी जर्मनीको पराजयपछि नयाँ विश्व व्यवस्थालाई आकार दियो। यो पराजय पहिले नै तय भइसकेको थियो।  विजयी पक्षका नेताहरू (सोभियत गुट र पश्चिमी उदार-पुँजीवादी विश्व)ले युद्धपछिको  नाजी-पछिको वैश्विक व्यवस्थाको आधारशिला तयार गरे।

यस आदेशलाई केवल दुई शिविर, दुई गुट र दुई विपरीत विचारधाराहरूको अस्तित्व स्वीकृत विशेषताद्वारा मान्यता दिइएको थियो। जसले विश्वलाई विभाजन गरी आ-आफ्नो प्रभाव क्षेत्रहरू तोक्यो। यो मोडेल प्रभावकारीरूपमा वार्सा सन्धिको विघटन र अन्ततः सोभियत संघको पतनसम्म स्थिर रह्यो। सो पतनसँगै, याल्टा प्रणाली प्रभावकारी रूपमा समाप्त भयो र एकध्रुवीय विश्वको मार्ग प्रशस्त भयो।

अतः, संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ( जुन मूलतः एक गुप्त र विघटनकारी संस्था हो) ले सोभियत संघपछिको रुसी राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको कुरा कुनै आश्चर्यको विषय होइन। यसले येल्तसिन युगको संविधान, नयाँ कर संहिता, भूमि संहिता तथा अन्य संरचनात्मक परिवर्तनहरूलाई प्रभाव पार्‍यो। यसले याल्टा सम्झौताको पूर्णरूपेण विघटनका साथ एकध्रुवीय विश्व व्यवस्थाको विजयलाई लागु गर्‍यो।

अब हामी पुटिन र ट्रम्पबीचको भेटघाटको सम्भावना देख्छौं। निसन्देह, यी दुई महान् राजनीतिक व्यक्तित्वहरू हुन् साथै  दुई सभ्यतागत राष्ट्रका नेतृत्वकर्ता पनि।  तर, अहिलेको अवस्थामा उनीहरूको भेटघाटमा आगामी विश्व व्यवस्थाका मापदण्डहरू परिभाषित गर्ने गरि  "नयाँ याल्टा" भने हुने छैन। जुन अनिवार्य रूपमा बहु ध्रुवीय विश्व व्यवस्थामा मात्र हुन सक्छ। मानवताको भविष्यबारे वास्तविक वार्तामा पुग्नका लागि दुई प्रमुख सर्तहरू पूरा हुनुपर्छ। पहिलो, यसका लागि केवल पुटिन र ट्रम्प मात्र पर्याप्त छैनन्। दोस्रो, रुसले विश्वव्यवस्थाको पुनः संरचनामा पूर्ण रूपमा सहभागिता जनाउनका लागि एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुपर्छ। युक्रेनमा भूमंडलीकरणमाथि विजय। जसरी स्टालिनले महान् देशभक्त युद्धमा हिटलरमाथि विजय प्राप्त गरेका थिए। त्यसरी नै पुटिनले युक्रेनमा विजय हासिल गर्नुपर्छ।

हो, हामी यस लक्ष्यतर्फ अघि बढिरहेका छौँ। साथै यो हासिल गर्नेछौँ। तर, युक्रेनमा विजय प्राप्त गरेपछि मात्र रुस र पश्चिमी सभ्यताबीच वास्तवमै महत्त्वपूर्ण वार्ता सम्भव हुनेछ। यद्यपि, ती वार्ताहरूले पनि वैश्विक संरचनाको अन्तिम प्रारुप निर्धारण गर्ने छैनन्। किनभने बहु ध्रुवीय विश्वलाई अन्य सभ्यतागत राष्ट्रहरूको सहभागिता आवश्यक हुन्छ। न्यूनतम रूपमा, चीन र भारतको संलग्नता अपरिहार्य छ। जसले गर्दा कम्तीमा चार पक्षीय वार्ताको आवश्यकता पर्छ।

यसबाहेक, युरोप क्रमशः संयुक्त राज्य अमेरिका भन्दा अलग हुँदै एक विशिष्ट भू-राजनीतिक मोडेल निर्माण गरिरहेको छ। यसरी, युरोप अर्को सम्भावित सहभागी बन्न सक्छ। त्यस्तै, इस्लामिक संसार, जसका अर्बौँ अनुयायी छन्, साथै अफ्रिका र ल्याटिन अमेरिका पनि विचारणीय छन्। यी तीन अतिरिक्त सभ्यतागत पक्ष हुन्, जसको दृष्टिकोणलाई नयाँ वैश्विक संरचनामा उपेक्षा गर्न सकिन्न।

तर, नयाँ विश्व व्यवस्था पहिले नै आकार लिँदै छ। अमेरिकी गृहयुद्धको बीचमा (जहाँ ट्रम्पका समर्थकहरू र "डिप स्टेट") अर्थात् स्वयं अमेरिकाभित्र रहेको उग्र वैश्वीकतावादी अभिजात वर्गबीच सङ्घर्ष चलिरहेको छ। यस सन्दर्भमा, डेमोक्र्याटहरूले युएसएआइडी को समर्थनमा प्रदर्शन आयोजना गर्नु अत्यन्त अर्थपूर्ण छ। यो एजेन्सी ट्रम्प र मस्कद्वारा बन्द गरिएको छ। किनभने यसले डेमोक्रेटिक पार्टीको शीर्ष नेतृत्वका साथै रिपब्लिकन पार्टीका केही अंशहरूलाई समेत आपराधिक रूपमा संलग्न गराउने कागजातहरू राखेको हुनसक्छ भन्ने मान्यता छ।

यसै कारण हाल अमेरिका आन्तरिक संघर्षमा जलिरहेको छ। ट्रम्पले यो सङ्घर्ष जित्नै पर्छ र आफ्नो अमेरिकी दर्शनको आधारमा अमेरिका निर्माण गर्न थाल्नुपर्छ। त्यसैगरी, रूसले पनि युक्रेनमा आफ्नो युद्धमा विजय हासिल गर्दै भूमण्डलीकरणवादीहरू र तिनका कठपुतलीहरूलाई युद्धमैदानमा पराजित गर्न आवश्यक छ। चीन, भारत, अफ्रिका र ल्याटिन अमेरिका पनि नयाँ चुनौतीहरूको सामना गर्दै आफूलाई प्रमाणित गर्नुपर्नेछ। इस्लामिक विश्व आफ्नो भागको रूपमा हाल "महान इजरायल" परियोजनाको चुनौतीको सामना गर्दै आफुलाई परिक्षण गरिरहेको छ।

अन्तमा पुनः दोहोर्‍याउनुपर्दा, हामी अहिले नयाँ याल्टा विश्वको अवस्थामा पुगेका छैनौँ। जहाँ दुई शिविरहरूले तेस्रोमाथि निर्णायक विजय प्राप्त गरीसकेका छन् र विश्व इतिहासको अर्को चक्र परिभाषित गर्ने तयारीमा छन्। हालका लागि, हामी अझै द्वन्द्वको बीचमा छौँ। सायद एक ठूलो युद्धको संघारमा समेत छौँ। जब यी युद्धहरू समाप्त हुन्छन् र विजेता तथा पराजित स्पष्ट हुन्छन्। त्यतिबेला मात्र ठूला महाशक्तिहरूका महान् नेताहरूबीचको ऐतिहासिक तथा भाग्यनिर्णायक भेटघाटको सम्भावना रहनेछ। जसले नयाँ विश्व व्यवस्थाको संरचना निर्धारण गर्नेछ।

नोट: अलेक्जेन्डर दुगिन यस लेखमा तर्क गर्छन् कि "नयाँ याल्टा" रुस, पश्चिम, चीन, र भारतजस्ता प्रमुख सभ्यतागत शक्तिहरूबीच हुने महत्त्वपूर्ण वार्ताले निर्धारण हुनेछ। जसले अन्ततः पश्चिमी वर्चस्वभन्दा पर एक बहु ध्रुवीय विश्व व्यवस्थाको निर्माण गर्नेछ।

अनुवाद: मोहनप्रसाद ज्ञवाली

प्रकाशित मिति : २ घण्टा अघि