पिटर सावित्स्की र युरेसियनवादको उदय

२८ मेका दिनमा रुसका एक विशिष्ट चिन्तक तथा वैज्ञानिकको १३०औँ जन्म वार्षिकोत्सवको स्मरण गरिन्छ।

पिटर निकोलायेभिच सावित्स्कीको जन्म सन् १८९५ मे २८ मा चेरनिहिभ गभर्नरेट (प्रान्त) का कुलीन वर्गका नेता तथा पूर्ण राज्य सल्लाहकारको परिवारमा भएको थियो। उनी चेरनिहिभ र गोमेल शहरस्थित जिम्नेसियममा अध्ययन गरेका थिए। यद्यपि उनीहरूको पारिवारिक सम्पत्ति क्रोलेभेत्स्की उइज्द (हालको युक्रेनको सुमी क्षेत्र) मा रहेको थियो। सानैदेखि पिटर सावित्स्की रूसी प्राच्यरूप वास्तुकलाप्रति आकर्षित थिए र यस विषयमा उनले एक मोनोग्राफसमेत तयार गरेका थिए, तर गृहयुद्ध सुरु भइसकेको हुँदा उक्त पुस्तकको सबै प्रतिहरू आगलागीमा नष्ट भए। उनले सेंट पिटर्सबर्गबाट उच्च शिक्षा प्राप्त गरी एक कुशल अर्थशास्त्री र भूगोलविद बने। साथै, उनी बहुभाषिक थिए। उनी धेरै युरोपेली भाषाहरूमा दक्षता राख्थे। सम्भवत: यही कारणले गर्दा उनी सानो उमेरमा नै नर्वेमा रहेको रूसी कूटनीतिक नियोगमा पठाइए। गृहयुद्धको अवधिमा उनले पिटर स्ट्रुभेको कार्यालयमा काम गरे। जहाँ उनले बोल्शेविक विरोधी सरकारका विदेशमन्त्रीको सचिवको कार्य सम्पादन गरे। यसै कारणले उनी बारम्बार युरोप भ्रमणमा रहन्थे। जहाँ उनले ख्यातिप्राप्त राजनीतिज्ञहरूसँग भेटघाट गर्ने मौका पाए र त्यतिबेलै उनले अन्तर-संविधानिक मित्रराष्ट्रहरूको रूसप्रति साँच्चिकै चासो के थियो भन्ने कुरा बुझ्न थाले। सावित्स्की परिवारको निर्वासनको सुरुआत कन्स्टान्टिनोपलबाट भयो, तर त्यहाँबाट उनी चाँडै सोफियामा सरे। जहाँ उनले निकोलाई ट्रुबेट्स्कोय, गेओर्गी फ्लोरोभ्स्की, पिटर सुवचिन्स्की र ए. लिभेनसँग मिलेर युरेशियन आन्दोलनको स्थापना गरे। केही समयपछि उनी प्राग सरे र त्यहाँ रूसी जिम्नेसियम निर्देशकका रूपमा कार्यरत रहे।

यदि हामी पिटर सावित्स्कीको यस क्षेत्रमा भएका गतिविधिहरूलाई विगतप्रति फर्केर मूल्याङ्कन गर्ने हो भने, यो प्रस्ट हुन्छ कि उनी युरेशियन आन्दोलनका एक प्रमुख अगुवा (र सन् १९२९ पछि एकमात्र) थिए। यद्यपि यस समूहका सबैभन्दा ज्येष्ठ सदस्य निकोलाई ट्रुबेट्स्कोय थिए र उनले पहिले नै विज्ञानमा उल्लेखनीय उपलब्धिहरू हासिल गरिसकेका थिए। तर उनका व्यक्तिगत स्वीकारोक्तिअनुसार युरेशियनवाद उनलाई केही हदसम्म बोझिलो लाग्थ्यो र उनी भाषाशास्त्रीय अनुसन्धानमा डुब्न रुचाउँथे। तथापि, उनी नियमित रूपमा युरेशियन जर्नलहरूका लागि प्रकाशनहरू तयार पारिरहन्थे।

पिटर सावित्स्की स्वयं भूगोलशास्त्रमा शिक्षित भएकाले, मुख्य भू-राजनीतिक अवधारणाहरू विकास गर्ने कार्य पनि उनकै योगदान थियो (रूसी लेखकहरूमा पहिलो पटक "भू-राजनीति" शब्द प्रयोग गर्ने पनि उनै थिए)। यद्यपि युरेशियनवादमा संलग्न सबै सहभागीहरूको सैद्धान्तिक र दार्शनिक मोडलहरू—पछि समावेश गरिएका प्रसिद्ध व्यक्ति—जस्तै इतिहासकार तथा दार्शनिक लेभ कार्साभिन, न्यायशास्त्री निकोलाई अलेक्सेभ आदि—प्राकृतिक रूपमा एक-अर्कासँग समाहित भइरहेका थिए।

युरोप पनि होइन, एशिया पनि होइन, तर भौगोलिक रूपमा दुबै युरोप र एशियामा अवस्थित भएकोले रुसले महादेशीय रूपमा एक मध्यवर्ती, केन्द्रीय स्थान ओगटेको छ। यो महादेशीय विशेष अवस्थालाई सावित्स्कीले रुस–युरेशियाको पहिचानको आधार मानेका छन्। उनी भन्छन्, "पुरानो विश्वको मुख्यभूमिमा प्रचलित दुई महादेशहरूका सट्टा हामी तीन वटा छुट्टाछुट्टै महादेशहरू छुट्याउँछौं: युरोप, युरेशिया र एशिया... युरेशियाको सीमा कुनै पनि निर्विवाद आधारमा निर्धारण गर्न सकिँदैन..."

युरेशियाको महादेशभित्र उनले तीन भौगोलिक क्षेत्रहरू पहिचान गरेका छन्:

१.मध्य महादेश, वा युरेशिया आफैं;

२.एशियाली परिधीय क्षेत्र (जहाँ चीन, भारत र इरान समावेश छन्);

३.युरोपेली परिधीय क्षेत्र, जसले युरेशियाको सिमानालाई नेम्यान–पश्चिमी बुग–सान नदीहरू र डेन्यूब डेल्टा सम्मको रेखाबाट छुट्याउँछ।

यी परिभाषाहरूसँग सँगसँगै, उनले प्रस्तुत गरेको 'महादेश–महासागर' को अवधारणाले रूसी अर्थतन्त्रमा देशको स्थान र रूसी राज्य निर्माणको आधार निर्माण गर्ने मङ्गोल घुमन्तेहरूको विरासतलाई प्रतिबिम्बित गर्दछ। आफ्ना धेरै लेखहरूमा उनले ‘स्थान विकास’ (Place Development) भन्ने अवधारणालाई पनि विशेष श्रेणीको रूपमा विस्तार गरेका छन्। जसले कुनै राष्ट्र र जनताको भौगोलिक तथा सांस्कृतिक परिवेशमा भएको गतिशील विकासलाई दर्शाउँछ।
 उनले लेखेअनुसार “रूस–यूरेसिया एक ‘विकासको स्थान’ हो — जुन भौगोलिक, जातीय, आर्थिक, ऐतिहासिक आदि विविध आयामहरूसँग जोडिएको भू–परिदृश्य हो।” उनले लेखेअनुसार, “रूस–यूरेसिया एक ‘विकासको स्थान’ हो, जुन भौगोलिक, जातीय, आर्थिक, ऐतिहासिक आदि विविध आयामहरूसँग जोडिएको भू–परिदृश्य हो।”

"स्थान विकास" भन्ने अवधारणा, सावित्स्कीका अनुसार, सामाजिक–ऐतिहासिक परिवेश र त्यसको भौगोलिक क्षेत्रको एकीकृत समायोजन हो। यसै सन्दर्भमा, युरेसियाको सन्दर्भमा स्टेपी भूभाग एकता कायम गर्ने प्रमुख तत्व हो, जसको कारण ऐतिहासिक सभ्यताहरूले साइबेरियादेखि बाल्कन प्रायद्वीपसम्म तीव्र स्थानान्तरण गर्न सकेका थिए। साभित्स्कीले "स्थान विकास" र निकोलाइ डानिलेव्स्कीको "सांस्कृतिक-ऐतिहासिक प्रकार" को अवधारणाबीच समानता देख्न सकिने सम्भावनालाई पनि स्वीकार गर्छन्। अर्कोतर्फ, उहाँ वास्तवमा रुसलाई एउटा सभ्यता (civilization) को रूपमा वर्णन गर्दै हुनुहुन्थ्यो। जुन अहिले वैधानिक दस्तावेजहरूमा पनि स्वीकार गरिएको छ।

युरेशियनवादको विचारधारासम्बन्धी कुरा गर्दा, सन् १९२२ मा प्रकाशित ‘टु वर्ल्ड्स’ (दुई विश्व) शीर्षक ग्रन्थमा पिटर सावित्स्कीले उल्लेख गरेका थिए- “युरेशियनवादको सार भनेको आधुनिक युरोपेली संस्कृतिको संरचनाबाट रसियामा भइरहने र सम्पन्न बहिर्गमनलाई बुझ्ने र साकार पार्ने आकांक्षामा निहित छ।”
 सावित्स्कीका अनुसार यसको मूल विकल्पपरक दृष्टिकोण यस्तो थियो— “युरेशियनहरूले रसिया र सम्पूर्ण विश्वप्रति भौगोलिक र ऐतिहासिक रूपमा नयाँ बोध प्रस्तुत गर्छन्। जसलाई उनीहरूले 'रूसी' वा 'युरेशियन' नाम दिएका छन्।”
 सावित्स्कीले यो पनि भनेका छन्— “युरेशियनवाद केवल ऐतिहासिक-दार्शनिक अथवा अन्य सैद्धान्तिक मूल्याङ्कनहरूको प्रणाली मात्र होइन; यसको उद्देश्य विचारलाई क्रियाशीलतासँग संयोजन गर्नु हो। र यसको पराकाष्ठासम्म पुगेर कुनै निश्चित कार्यपद्धतिको स्थापना गर्नु हो, जुन सैद्धान्तिक दृष्टिकोणहरूसँग संगत होस्।”

सर्वविदित तथ्य हो कि युरेशियावादीहरूले राष्ट्रहरूको जीवनमा, विशेषतः रुसको सन्दर्भमा, आध्यात्मिक पक्षको महत्त्वलाई पहिल्यैबाट स्वीकार गरेका छन्। सन् १९२१ मा प्रकाशित निबन्ध सङ्ग्रह "Exodus to the East" मा पिटर साभित्स्कीले स्पष्ट रूपमा भनेका छन्— "रुस वास्तवमै एक प्राच्य–मुसलमान तथा प्राच्य–बौद्ध राष्ट्र हो।" सन् १९२७ मा युरेशियनवादको परिभाषामा उल्लेख गरिएको छ— "रुसी–युरेशियन जनसाधारणको जीवन परमेश्वरको धारणा विना कल्पना गर्नै सकिँदैन। सदाचार र नैतिकताको प्रेरणा यही धारणा तर्फ निर्देशित हुन्छ।"

त्यसैगरी, यस्तो धारणा पनि व्यक्त गरिएको छ— "रुस तथा युरेशियाका जनताले अपनाएका सबै धर्मप्रति राज्यसत्ताले सद्भावसाथ व्यवहार गर्नु र तिनको प्रवर्द्धन गर्नु अनिवार्य छ, किनभने केवल धर्म नै यस्ता सामाजिक सम्बन्धहरूको आधार बन्न सक्छ, जसमा प्रेमको भावना र मानव गरिमाप्रतिको दृढ सम्मान समावेश हुन्छ।"

सन् १९३२ को युरेशियन घोषणापत्रको पहिलो अनुच्छेदमा भनिएको छ— "दृष्टिकोण र जीवनपद्धतिको प्रणालीका रूपमा युरेशियनवाद धार्मिक आधारमा अडिएको छ। प्राच्य रुसीहरू सामाजिक जीवनमा प्राच्य धर्मको आह्वानलाई अत्यन्त महत्व दिन्छन्। जसलाई उनीहरूले श्रम तथा साझा उद्देश्यमा आधारित युरेशियन राज्यको धर्मनिष्ठ आधार ठान्छन्। रुस तथा युरेशियाका अन्य धर्मावलम्बी युरेशियनहरू पनि यस्तै कर्तव्यप्रति आफ्नै धार्मिक विश्वासको गहिराइबाट प्रतिबद्ध छन्।"

त्यसैसँगै यस्तो राज्य नीतिको महत्त्वलाई जोड दिइयो, जसमा आध्यात्मिक आधारहरू सांस्कृतिक परम्परा र आर्थिक अभ्याससँग जैविक रूपमा सम्बन्धित हुनेछन्।

सन् १९२७ को यूरेशियनवाद सम्बन्धी प्रतिपादनमा भनिएको छ; “राज्यको आर्थिक नीति सबै नागरिकले एक अर्काप्रति तथा राष्ट्रिय राज्यप्रति समर्पित सेवाभावमा आधारित हुनुपर्दछ... यूरेशियन विचारधाराले श्रमजीवी जनसमुदायको व्यापक शक्तिमा आधारित जनसत्तालाई मात्र सम्भव शक्ति मान्दछ, र सोभियत प्रणालीलाई रुस–यूरेशियाको लागि एकमात्र सम्भव प्रणाली ठान्दछ...”

सन् १९३६ नोभेम्बरमा जारी अर्को प्रस्तावमा उल्लेख गरिएको छ; “सोभियत भूमिमा यूरेशियन दृष्टिकोणको स्थापनाको पक्षमा अनुकूल कारक तत्व सोभियत संघमा क्रान्ति र परम्परालाई मिलाउने बढ्दो आवश्यकताको रूपमा देखिन्छ। ऐतिहासिक दृष्टिकोणको क्षेत्रमा यस किसिमको मेलमिलापतर्फ केही कदमहरू चालिइसकेका छन्। यूरेशियनवादले जुन पहिलेदेखि नै यस्तो समन्वयलाई आफ्नो लक्ष्य बनाउँदै आएको छ, उसले ती कदमहरूको महत्त्वलाई पूर्ण रूपमा बुझेको छ...

‘विशेष संसार’— रूस–सोभियत संघको समग्र परम्परा र उत्तरदायित्वलाई केन्द्रमा राख्दै यूरेशियन विचारले हरेक सांस्कृतिक क्षेत्रलाई उर्वर बनाउन सक्ने क्षमता राख्दछ, र त्यसमा नयाँ जीवन सञ्चार गर्न सक्दछ। क्षणिक युरोपेलीकरण वा थकित कम्युनिज्म यस्तो कार्य गर्न असमर्थ छन्। केवल यूरेशियनवाद—परिवेशीय विश्वको सम्पूर्ण दृष्टिकोण र रुस–यूरेशियाको भूमिकाको एक अद्वितीय र अभूतपूर्व व्याख्या—मात्रै यूरेशियन जनताको पूर्ण कला र विज्ञान निर्माणमा योगदान गर्न सक्दछ।”

यसरी भनिएको थियो कि — "युरेशियनहरूले दैनिक जीवन र ऐतिहासिक सन्दर्भमा विशिष्ट रहेका जाति तथा समुदायहरूलाई स्वायत्तताको अधिकार विस्तार गर्नु आवश्यक ठान्छन्... रूसी संस्कृति, जुन अन्य युरेशियाली जातिहरूका सांस्कृतिक तत्वहरूबाट समृद्ध गरिएको छ, त्यो युरेशियाली (अतिराष्ट्रिय) संस्कृतिको आधार बन्नुपर्छ, जसले रूस–युरेशियाका सबै जातिहरूका आवश्यकतालाई सम्बोधन गर्न सकोस्, तर तिनीहरूको राष्ट्रिय पहिचानलाई दबाउने काम नगरोस्... युरेशियनहरू आर्थिक जीवनमा व्यापक राज्य नियमन र नियन्त्रणका समर्थक हुन्, र राज्यद्वारा अत्यावश्यक आर्थिक कार्यहरूको वहन गरिनुपर्छ भन्ने धारणा राख्दछन्।"

जसरी हामी देख्न सक्छौं, समयले यी धारणा सही रहेको प्रमाणित गरेको छ। यद्यपि रूसी संविधानले राज्य र धर्मलाई पृथक् गरेको छ, रूसी अर्थोडक्स चर्च र अन्य धर्मावलम्बी संस्थाहरू अहिले देश र जनताको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

१९४५ मा सोभियत अधिकारीहरूद्वारा गिरफ्तार गरिएपछि पिटर साभित्स्कीलाई दश वर्षको कारावासको सजाय सुनाइयो, जुन उनले श्रम शिविरहरूमा बिताए। रिहाइपछि उनी पुनः प्राग फर्किए। उनले लेभ (लियो) गुमिल्योभसँग पत्राचार गरे, जसले साभित्स्कीलाई आफ्नो गुरु मान्दथे र ऐतिहासिक चक्र तथा लयसम्बन्धी उनका विचारहरूलाई अझ अगाडि बढाए। साभित्स्कीको प्रभाव विशेषतः गुमिल्योभद्वारा सन् १९६६ मा लेखिएको “मध्य एशियाली घुमन्ते संस्कृतिको लयको उत्पत्ति (ऐतिहासिक तथा भौगोलिक संश्लेषणको प्रयास)” शीर्षकको लेखमा स्पष्ट रूपमा देख्न सकिन्छ, जहाँ साभित्स्कीद्वारा सन् १९३५ र १९३७ मा क्रमशः प्रकाशित “रुसी प्राचीन इतिहासमा उदय र पतन” तथा “मङ्गोल युगको लय” शीर्षककृतिहरूका विचारहरूलाई केही परिमार्जित स्वरूपमा प्रस्तुत गरिएको छ।

गुमिलेवले स्वीकार गरेका थिए कि उनले युरेशियन शास्त्रीय विद्यालयका कृतिहरूलाई गम्भीरतापूर्वक अध्ययन गरेका थिए र त्यसका प्रमुख ऐतिहासिक तथा पद्धतिगत निष्कर्षहरूसँग सहमत थिए। तथापि, उनले युरेशियन वैज्ञानिक प्रणालीलाई अझ परिपूर्ण बनाउँदै त्यसमा नयाँ तत्त्वहरू समावेश गर्दै विकास गरेका थिए।

यद्यपि पिटर साभित्स्कीको जीवनमा थुप्रै दुःखद् क्षणहरू रहेका थिए। आफ्नो मातृभूमिबाट युरोपतर्फको आप्रवास, नाजी अधिनायकत्वको अधीनमा बितेको जीवन, गिरफ्तारी तथा मोर्डोभियाका शिविरहरूमा दाउरा फाँड्ने श्रम शिविरमा काम।  उनले सधैं एक विशिष्ट रसियाको भविष्यप्रति आशावादी दृष्टिकोण राखे। उदाहरणका लागि, सन् १९५९ को सेप्टेम्बरमा अमेरिकामा बसोबास गरिरहेका जिओर्गी भेर्नाड्स्कीलाई लेखिएको पत्रमा, पिटर साभित्स्कीले खुशीपूर्वक यस कुरामा जोड दिएका छन् कि "रसियाको कुनै वास्तविक ‘युरोपेलीकरण’ भएको छैन। युरेसियाली संसार यथावत् युरेसियाली नै रहेको छ र यो आफ्नै बाटोमा अघि बढिरहेको छ। सम्भवतः कुनै न कुनै बिन्दुमा पश्चिमको ‘युरेसियालीकरण’ (‘रसिकीकरण’) पूर्वका रसियाको ‘युरोपेलीकरण’भन्दा गहिरो सावित हुन सक्छ। तर यो त भविष्यको कुरा हो।"

पिटर साभित्स्कीले रूसलाई उसका सबै अभिव्यक्तिहरूमा अध्ययन गर्नु आवश्यक छ भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण ठाने। उनले ‘रोस्सिएभेदेनीये’ (‘रुस अनुसन्धान’) भन्ने शब्दको निर्माण गरेका थिए र लेखेका थिए— “भू-राजनीतिक पक्षसँगै, रूस–यूरेशियाको भू-आर्थिक, भू-जातीय, भू-पुरातात्त्विक, र भू-भाषिक सिद्धान्तहरू निर्माण गर्नु सम्भव र आवश्यक छ। यी सबै सिद्धान्तहरूलाई एउटै ‘चित्र–प्रणाली’मा संयोजन गर्न सकिन्छ र गर्नैपर्छ। यो हाम्रो समयले माग गर्ने ऐतिहासिक र भौगोलिक समिश्रणका पक्षहरू मध्ये एक हो... हरेक यूरेशियाली प्रकाशन विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहकार्यबाट उत्पन्न हुने समस्याहरूको समाधानस्वरूप आएको परिणाम हो... रूस–यूरेशियाभित्रको प्रत्येक घटनालाई यूरेशियाली घटनाहरूको समग्र प्रणालीमा समावेश गर्नुपर्छ। तर हामी यसमा मात्र सीमित रहन सक्दैनौं। रूसी विज्ञानले विश्वव्यापी दृष्टिकोण हासिल गर्नुपर्छ।”

 गहिरो देशभक्ति, असाधारण चिन्तनशक्ति र वैश्विक दृष्टिकोण पिटर निकोलायेभिच साभित्स्कीमा अन्तर्निहित विशेषताहरू थिए, र यी नै यूरेशियाली सिद्धान्तका मापदण्डहरू पनि हुन्।

अनुवाद: मोहनप्रसाद ज्ञवाली