रुसबाट दार्शनिक दुगिनले भने- ‘नेपाल रोल मोडेल देश हो’

दक्षिण एसियाको सन्दर्भमा उदाउँदो बहु ध्रुवीयता विषयक सम्मेलन संघीय  राजधानी काठमाडौंमा सम्पन्न भएको छ । ८ मंसिरमा आयोजित उक्त  सम्मेलनमा मुख्य वक्ताको रूपमा रुसका प्रमुख विचारक अलेक्जेन्डर दुगिन रहेका थिए । उनलाई वर्तमान समयमा रुसका सर्वाधिक महत्त्वपूर्ण दार्शनिक र राजनीतिक शास्त्री मानिन्छ ।

प्रविधिका माध्यमबाट जोडिएर कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै रुसबाट अलेक्जेन्डर दुगिनले वर्तमान विश्वमा दक्षिण एसिया क्षेत्रको महत्त्व बढ्दै गएको उल्लेख गरेका थिए । सोही अवसरमा उनले रुसबारे बोल्दै भने, ‘नेपाल रोल मोडेल देश हो, किनकि यो देश कहिल्यै उपनिवेश बन्नु नपरेको र आफ्नो सार्वभौमसत्तालाई जोगाएर राख्न सफल भएको छ । नेपालको आफ्ना दुवै छिमेकीहरूसँग असल सम्बन्ध छ । यसले महान् शक्तिहरूसँग कुशलतापूर्वक व्यवहार गरिरहेको छ ।’

दुगिनले आफ्नो सम्बोधनका क्रममा विश्वव्यापी बहु ध्रुवीयताको सन्दर्भमा नेपालको केन्द्रीय भूमिका तथा चीन र भारतबीचको सम्बन्धमा नेपालको योगदानलाई जोड दिए । उनले नेपालले सानो देशको रूपमा आफ्नो स्वतन्त्रता कायम राख्दै यी दुई ठूला सभ्यताका चासोलाई कूटनीतिक रूपमा सन्तुलन गर्न सफल भएको उल्लेख गरे ।

दुगिनले बताएअनुसार, नेपालको प्राथमिक सांस्कृतिक पहिचान भारतसँग गहिरो रूपमा जोडिएको छ, तर देशले चिनियाँ समाजवादबाट पनि महत्त्वपूर्ण प्रभाव अनुभव गरेको छ । उनले चीन र भारतलाई बहु ध्रुवीय संसारका दुई ध्रुवका रूपमा परिभाषित गर्दै नेपालले यी दुईबीचको सम्बन्धलाई सन्तुलन गर्न विशेष भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार, यी दुई सभ्यताका केन्द्रहरूको चासोलाई व्यवस्थित र समन्वयित गर्नु आवश्यक छ, जसले सामाजिक र राजनीतिक समस्याहरूको समाधानमा योगदान पुर्‍याउन सक्दछ । नेपाल, भुटान, मलेसिया, र इन्डोनेसियाले चिनियाँ र भारतीय संस्कृतिबीचको सिमाना वा सेतुको रूपमा काम गर्न सक्दछन्, जसले सार्वभौमिकता सुदृढ गर्न र जनताबीचको सम्बन्धलाई सामञ्जस्यपूर्ण बनाउन मद्दत पुर्‍याउँछ ।

दुगिनले बहु ध्रुवीयताको अवधारणा भारतीय पहिचानको पुनर्विचार गर्न आवश्यक रहेको औँल्याए । उनले चिनियाँ सभ्यताका कन्फ्युसियस जरा उल्लेख गर्दै चिनियाँ समाजवादलाई मात्र राजनीतिक विचारधाराका रूपमा नभई गहिरो सांस्कृतिक परम्पराका रूपमा बुझ्नुपर्नेमा जोड दिए ।

आफ्नो सम्बोधनमा दुगिनले यस क्षेत्रमा इस्लामी सांस्कृतिक प्रभावको उपस्थिति तर्फ पनि ध्यानाकर्षण गराउँदै, उत्तर एसियाका देशहरूका लागि इस्लाम एक महत्त्वपूर्ण चुनौती रहेको बताए । उनले क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्न सक्ने इस्लामी ध्रुवको निर्माणको प्रस्ताव राखे ।

राजनीतिक विज्ञ दुगिनले रूसी अर्थोडक्स चर्चले इस्लाम र हिन्दु धर्मसँग शान्तिपूर्ण सभ्यतागत सम्बन्ध कायम राखेको उल्लेख गरे । पश्चिमी चर्चभन्दा फरक हाम्रो चर्चले आफ्नो खुलापन र परम्पराका कारण इस्लाम वा अन्य धर्महरूसँग संघर्षमा संलग्न नहुने धारणा व्यक्त गरे । सम्मेलनले बहु ध्रुवीयताको मुद्दाहरूको थप अध्ययनको आवश्यकता औँल्यायो, जुन विश्वव्यापीकरण र बदलिँदो विश्व व्यवस्थाको सन्दर्भमा विशेष रूपमा सान्दर्भिक हुँदै गइरहेको छ । सहभागीहरूले नेपालले प्रमुख शक्तिहरूका चासोलाई सन्तुलन गर्न र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्धमा सकारात्मक प्रभाव पार्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने कुरामा सहमति जनाए ।

प्राध्यापक दुगिनले आयोजकहरूलाई सम्बोधन गर्ने अवसर र सम्बन्धित मुद्दाहरू उठाउने कार्यका लागि आभार व्यक्त गर्दै आधुनिक संसारमा सामञ्जस्य प्राप्त गर्न सभ्यताहरूबीचको संवादलाई निरन्तरता दिनु महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे । पश्चिमको कटु आलोचना गर्दै दुगिनले ‘पुँजीवाद विश्वव्यापी व्यवस्था होइन। हामीले पुँजीवादलाई यसको ऐतिहासिक सीमामा सीमित गरिदिनुपर्छ’ भनी आव्हान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल रहेका थिए । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव तथा पूर्वमन्त्री देव गुरुङ, नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय, पूर्वमन्त्री दीपक ज्ञवाली, चीनका लागि पूर्वराजदूत लीलामणि पौडेल, रुसका लागि पूर्वराजदूत मिलन तुलाधर, नेपाल सरकारका पूर्वमहान्यायाधिवक्ता प्राध्यापक डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, प्रोफेसर डा. एन्ड्रेइ कोजिमेट्स र अनुसन्धानकर्ता मोहन ज्ञवालीलगायतका व्यक्तिहरू सहभागी रहेका थिए ।

नेपालस्थित रसियन हाउस इन काठमाडौंमा आयोजित उक्त कार्यक्रम नेपालस्थित रुसी राजदूतावास, रसियन हाउस इन काठमाडौं, मित्र कुञ्ज, डेभलप्मेन्ट अफेयर्स काउन्सिल र रुसको फार ईस्टर्न फेडरल युनिभर्सिटीले संयुक्त रूपमा गरेका थिए ।

जुमबाट समेत प्रत्यक्ष प्रसारित उक्त कार्यक्रमको सुरुवातमै यसलाई बिथोल्नको लागि  ह्याकरहरूले आक्रमण गरेका थिए । ह्याकरहरुले प्रसारणलाई अवरोध पुर्‍याउँदै अश्लील सामग्रीहरू प्रदर्शन गरेका थिए । तर, प्राविधिक समूहले त्यसलाई विफल पार्दै फेरि कार्यक्रम सुचारु गरिएको थियो । नेपालमा आयोजित उक्त कार्यक्रमलाई बिथोल्न गरिएको त्यस किसिमका हरकतले उक्त कार्यक्रमको गम्भीरता र महत्वलाई प्रस्ट पारेको थियो ।

प्रकाशित मिति : १ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

https://farakdhar.com/story/142161/