उदारवादी क्षण

अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि एकध्रुवीय विश्वको पतनले एक महान रूपान्तरणको सुरुवातलाई संकेत गर्दछ। जहाँ पश्चिमी उदारवादको निभ्न लागेको  प्रकाश भित्रबाट प्राचीन परम्पराहरूको जागरण, गहन सभ्यतागत पहिचानहरू, र असीम सम्भावनाहरूले भरिएको जीवन्त बहुध्रुवीय युगको प्रतिज्ञालाई मार्ग प्रसस्त गर्दछ।

सन् १९९०/१९९१ को प्रतिष्ठित वैश्विक पत्रिका Foreign Affairs को अंकमा अमेरिकी विशेषज्ञ चार्ल्स क्राउथह्यामरले “द युनिपोलर मोमेन्ट” शीर्षकको एक कार्यात्मक लेख प्रकाशन गरे। यस लेखमा उनले द्विध्रुवीय विश्वको अन्त्यको व्याख्या प्रस्ताव गरे। जसमा वार्सा सम्झौता अन्तरगतका मुलुकहरूको पतन र सोभियत संघको विघटन (जुन लेख प्रकाशित हुँदा सम्म पनि विघटन भएको थिएन) पछि, एउटा नयाँ विश्व व्यवस्था उदाउने कुरा उल्लेख थियो। जसमा संयुक्त राज्य अमेरिका र सामूहिक पश्चिम (NATO) एकमात्र शक्ति केन्द्रको रूपमा रहने भए। उनीहरूले आफ्नो हित र मूल्यलाई सार्वभौमिक, वैश्विक, र बाध्यकारी मापदण्डसँग समान ठान्दै नियम, मान्यता, र कानुन स्थापना गरेर विश्वमाथि शासन गर्ने थिए। क्राउथह्यामरले पश्चिमको यस प्रकारको व्यवहारिक वैश्विक प्रभुत्वलाई “युनिपोलर मोमेन्ट” को रूपमा वर्णन गरे।

यसको केही समयपछि, अर्को अमेरिकी विज्ञ फ्रान्सिस फुकुयामाले द इन्ड अफ हिस्ट्री  शीर्षकको समान घोषणापत्र प्रकाशित गरे। तर, फुकुयामाले पश्चिमले मानवजातिको बाँकी भागमाथि पूर्ण विजय प्राप्त गरिसकेको र अब सबै राष्ट्रहरूले उदारवादी विचारधारालाई अंगीकार गरी अमेरिका तथा पश्चिमको प्रभुत्व स्वीकार गर्ने घोषणा समयभन्दा अगाडि नै गरेका थिए। यसको विपरीत, क्राउथ्यामर भने धेरै संयमित र सतर्क देखिन्थे। उनले “क्षण” को कुरा गरेका थिए, जसले विश्व शक्ति सन्तुलनमा रहेको वास्तविक अवस्थालाई जनाउँथ्यो। र उनी एकध्रुवीय व्यवस्थाको स्थायित्व वा दीर्घकालीनता सम्बन्धी निष्कर्षमा पुग्न हतार गरेनन्। तर त्यसमा एकध्रुवीयताको संकेत स्पष्ट थियो। पूँजीवाद, संसदीय लोकतन्त्र, उदार मूल्यहरू, मानवअधिकार विचारधारा, प्राविधिक शासन, वैश्वीकरण, र अमेरिकी नेतृत्वको लगभग-सार्वभौमिक अंगीकार पनि। यद्यपि, क्राउथ्यामरले स्वीकार गरे कि यो अवस्था स्थायी नभएर केवल एउटा चरणमात्र हुन सक्छ। यस्तो चरण जसले दीर्घकालीन मोडेलको रूपमा विकास गर्न सक्छ (फुकुयामाको सिद्धान्तलाई पुष्टि गर्दै) वा यसको विपरीत, समाप्त भएर नयाँ विश्व व्यवस्थालाई मार्ग दिन सक्छ।

२००२/२००३ मा, क्राउथामरले आफ्नो सिद्धान्तलाई “The Unipolar Moment Revisited” शीर्षकको लेखमा पुनः अवलोकन गरे। यो लेख ग्लोबलिस्ट नभई यथार्थवादी धाराको पत्रिका National Interest मा प्रकाशित भएको थियो। यस पटक, उनले तर्क गरे कि दशकपछि, एकध्रुवीयता वास्तवमै एक क्षण मात्र साबित भएको थियो। तर यो स्थिर विश्व व्यवस्था होइन। उनले सुझाए कि चाँडै नै वैकल्पिक मोडेलहरू देखा पर्नेछन्। जुन विश्वभरि बढ्दो पश्चिमविरोधी प्रवृत्तिहरूद्वारा प्रोत्साहित हुनेछन्। विशेष गरी इस्लामिक देशहरू, चीन, र भ्लादिमिर पुटिनको नेतृत्वमा बलियो पुनर्जीवित रूस। पछिल्ला घटनाक्रमहरूले क्राउथह्यामरको यी विश्वासलाई थप पुष्टि गरे। एकध्रुवीय क्षण समाप्त भइसकेको थियो। संयुक्त राज्य अमेरिकाले १९९० को दशकमा वास्तविक रुपमा आफ्नो साथमा रहेको  विश्वव्यापी नेतृत्वलाई सुदृढ गर्न असफल रह्यो। र पश्चिमी प्रभुत्व पतनको चरणमा प्रवेश गर्यो। विश्वव्यापी वर्चस्वको अवसर, जुन लगभग पश्चिमी अभिजात वर्गको हातमा थियो,वत्यो खेर गयो। अब, पश्चिमले बहुध्रुवीय विश्व निर्माणको प्रक्रियामा अर्को भूमिका निर्वाह गर्नुपर्नेछ। प्रभुत्वको आकांक्षा राख्नु हुन्दैन। नत्र पश्चिम इतिहासमा किनरिकृत हुनेछ।

पुटिनको २००७ को म्युनिक भाषण, चीनमा सी जिनपिङको उदय र देशको तीव्र आर्थिक वृद्धि, २००८ मा जर्जियामा भएका घटनाहरू, युक्रेनको माइडान क्रान्ति र रुसको क्रिमियासँगको पुनर्मिलन, २०२२ को विशेष सैन्य अभियान, र २०२३ मा मध्यपूर्वमा भएको ठूलो स्तरको युद्ध—यी सबै घटनाहरूले व्यवहारमा सावधानीपूर्वक विश्लेषण गर्ने क्राउथ्यामर र सामुएल हन्टिङ्टन, जसले "सभ्यताहरूको द्वन्द्व" को युगको भविष्यवाणी गरेका थिए। उनीहरू फ्रान्सिस फुकुयामाको अति आशावादी दृष्टिकोणभन्दा धेरै नजिक रहेको पुष्टि गरे। आज, कुनै पनि विवेकशील पर्यवेक्षकलाई प्रस्ट छ कि एकध्रुवीयता मात्र "क्षणिक" थियो। जुन अहिले नयाँ मान्यतामा—बहुध्रुवीयता, वा अझ सतर्क रूपमा भन्नुपर्दा, "बहुध्रुवीय क्षण"—प्रवेश गर्दैछ।

हामी यस छलफललाई पुनः अवलोकन गर्दछौं ताकि विश्व राजनीतिलाई विश्लेषण गर्न "क्षण" भन्ने अवधारणाको महत्त्वलाई जोड दिन सकियोस्। यो हाम्रो आगामी विश्लेषणमा पनि एक प्रमुख विषय बन्नेछ।

क्षण वा होइन?

कुनै विशेषत अन्तर्राष्ट्रिय राजनीतिक, वा वैचारिक प्रणालीले केही अपरिवर्तनीय छ वा  यसको यसको बिपरित अस्थायी, संक्रमणकालीन, वा अस्थिर स्वरूपको प्रतिनिधित्व गर्छकि गर्दैन भन्ने विषयमा बहसको लामो इतिहास छ। विशेष सिद्धान्तका समर्थकहरूले प्रायः आफ्ना मनपर्ने सामाजिक शासन वा रूपान्तरणहरूको अनिवार्यता दृढतापूर्वक दावी गर्छन्। त्यसको विपरीत, संशयवादी र आलोचनात्मक पर्यवेक्षकहरूले वैकल्पिक दृष्टिकोणहरू प्रस्तुत गर्छन्, र यस्ता प्रणालीलाई सामान्य क्षणको रूपमा हेरिन्छ।

यो गतिको स्पष्ट उदाहरण मार्क्सवादको सन्दर्भमा देख्न सकिन्छ। उदारवादी सिद्धान्तका लागि पुँजीवाद र बुर्जुवा व्यवस्था मानवताको नियति प्रतिनिधित्व गर्छ । एक स्थायी अवस्था जसमा विश्व समान रूपमा उदारवादी-पुँजीवादी बन्छ। र सबै मानिस अन्ततः मध्यम वर्गमा समाहित भएर बुर्जुवा बन्छन्। यद्यपि, मार्क्सवादीहरू पुँजीवादलाई विकासको ऐतिहासिक चरणको रूपमा हेर्थे। यो अघिल्लो सामन्तवादी चरणलाई पार गर्नका लागि आवश्यक थियो। तर यो स्वयं समाजवाद र साम्यवादद्वारा प्रतिस्थापित हुने थियो। सर्वहारा वर्गले बुर्जुवा वर्गलाई प्रतिस्थापन गर्नेछ, निजी सम्पत्ति उन्मूलन हुनेछ, र मानवता मात्र श्रमिक वर्गमा सीमित हुनेछ। मार्क्सवादीहरूको लागि, साम्यवाद कुनै चरण थिएन, बरु, मूलतः, “इतिहासको अन्त” थियो।

२०औं शताब्दीका समाजवादी क्रान्तिहरू—रूस, चीन, भियतनाम, कोरिया, क्युबा, र अन्य स्थानहरूमा भएका—मार्क्सवादको वैधता पुष्टि गर्ने जस्तो देखियो। तथापि, विश्वव्यापी क्रान्ति भने भएन, र यसको सट्टा द्विध्रुवीय विश्वको उदय भयो। १९४५ देखि (नाजी जर्मनीविरुद्ध साम्यवादी र पुँजीवादीहरूको संयुक्त विजयपछि) १९९१ सम्म दुई विचारधारात्मक प्रणालीहरू सहअस्तित्वमा रहे। प्रत्येक पक्षले अर्को पक्षलाई केवल एक क्षण—इतिहासको अन्त्य नभई एक द्वन्द्वात्मक चरण—मात्र हो भन्ने दाबी गर्‍यो। कम्युनिस्टहरूले पूँजीवाद पतन हुने र समाजवाद विजयी हुनेमा जोड दिए, भने उदारवादी विचारधाराका समर्थकहरूले कम्युनिज्मलाई बुर्जुवा मार्गबाट विचलन भएको र पूँजीवाद सधैं कायम रहने तर्क गरे। फुकुयामाको End of History  सिद्धान्तले यो विश्वासलाई प्रतिध्वनि गर्‍यो। सन् १९९१ मा, उनी सही देखिए। समाजवादी प्रणाली पतन भयो र पोस्ट-सोभियत राज्यहरू र माओवाद-प्रभावित चीन दुबैले बजार अर्थतन्त्रतर्फ रूपान्तरण गरे। जसले उदारवादी भविष्यवाणीलाई पुष्टि गर्‍यो।

केही मार्क्सवादीहरूले आशा राख्छन् कि पुँजीवाद कमजोर हुनेछ, जसले सर्वहारा क्रान्तिको मार्ग प्रशस्त गर्नेछ। तर यो निश्चित छैन। विश्वव्यापी सर्वहारा वर्ग सानो हुँदैछ, र मानवता पूर्णतः फरक दिशामा गइरहेको देखिन्छ।

उदारवादी चिन्तकहरूले भने फुकुयामाको दृष्टिकोणलाई स्वीकार गरे। जसले साम्यवादलाई एक क्षणको रूपमा हेर्दै "अन्तहीन पुँजीवाद" को घोषणा गर्‍यो। उत्तरआधुनिकतावादीहरूले यस नयाँ समाजको रूपरेखा अन्वेषण गरे र भित्रैबाट पुँजीवादको प्रतिरोध गर्न कट्टरपन्थी दृष्टिकोणहरू प्रस्ताव गरे । व्यक्तिगत रूपान्तरणदेखि लिएर प्रविधिगत रणनीतिहरूसम्म। यी विचारहरूले अमेरिकाका वाम-उदारवादी अभिजात वर्गमा लोकप्रियता पाए। जसले जागरुक संस्कृति, रद्द संस्कृति, पारिस्थितिक एजेन्डा, र ट्रान्सह्युमनिज्मजस्ता नीतिहरूलाई प्रभावित गर्‍यो। विजयी पुँजीवादका समर्थक र आलोचक दुवै सहमत थिए कि यसले मानवताको अन्तिम चरणलाई प्रतिनिधित्व गर्छ। जसको अगाडि त्यो अवस्था छ जसलाई भविष्यवादीहरूले "विशिष्टता" (Singularity) मा प्रवेश भनेर वर्णन गर्दछन् । जहाँ मानव मृत्युशीलताको स्थानमा मेसिनको अमरत्व आउँछ। म्याट्रिक्समा स्वागत छ।

यसरी, वैचारिक संघर्षमा बुर्जुवा वर्गले विजय प्राप्त गर्‍यो र "इतिहासको अन्त" को प्रमुख परिप्रेक्ष्यलाई आकार दियो।

विश्व इतिहासमा ट्रम्पको फ्याक्टर

पश्चिमी बौद्धिक क्षेत्रमा समेत (उदाहरण , क्राउथममरले गरेझैं) पूँजीवादको विश्वव्यापी विजयको युगलाई "क्षण" को रूपमा उल्लेख गर्ने सम्भावना आफैंमा एउटा अद्वितीय दृष्टिकोण हो। जसको अझैसम्म पनि पूर्ण रूपमा खोजी र बुझ्ने प्रयास समेत  भएको छैन। के पश्चिमी नेतृत्वको हाल्को स्पष्ट पतनको अवस्था  र वैध अधिकारको सर्वमान्य मध्यस्थकर्ताको रूपमा पश्चिमले सेवा दिन असमर्थ हुनुमा कुनै वैचारिक आयाम पनि हुन सक्छ? के एकध्रुवीयता र पश्चिमी आधिपत्यको अन्त्यले उदारवादको अन्त्यको संकेत दिन सक्छ?

यो विचारलाई एउटा महत्वपूर्ण राजनीतिक घटनाले समर्थन गर्दछ। डोनाल्ड ट्रम्प दुई कार्यकालका लागि संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनिनु। ट्रम्पको राष्ट्रपतिकालले विश्ववाद र उदारवादको प्रखर अस्वीकृतिको प्रतिनिधित्व गर्यो। जसले उदारवादी अभिजात वर्गको विचारधारात्मक र भू-राजनीतिक दिशाप्रति असन्तुष्टिको महत्वपूर्ण स्तरको अवस्थालाई झल्काउँछ। त्यो पनि एकध्रुवीयताको केन्द्रमा। अझै, ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिका रूपमा छनोट गरेका जेडी भान्स खुलेआम “पोस्ट-लिबरल कन्जरभेटिज्म” का समर्थकको रूपमा चिनिन्छन्। ट्रम्पका चुनावी अभियानहरूमा उदारवादलाई निरन्तर नकारात्मक रूपमा प्रस्तुत गरिएको थियो। विशेष गरी डेमोक्र्याटिक पार्टीको “वामपन्थी उदारवाद”लाई लक्षित गर्दै। तर, ट्रम्प समर्थकहरूको व्यापक वृत्तमा, उदारवाद पतन, क्षय, र शासक अभिजात वर्गको नैतिक भ्रष्टाचारको प्रतीक बन्यो।

हालको इतिहासमा, दोस्रो पटक उदारवादको सशक्त आलोचना गर्ने राजनीतिक पात्रले उदारवादी विचारधाराको प्रमुख गढ, संयुक्त राज्य अमेरिकामा विजय प्राप्त गरेको छ। ट्रम्पका समर्थकहरूमा उदारवादलाई पूर्ण रूपले राक्षसीकरण गरिएको थियो। जसले यसको नैतिक र राजनीतिक गिरावटसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ। यसकारण, “उदारवादी क्षण” को अन्त्यको कुरा गर्नु बढोत्तर रुपमा सम्भाव्य जस्तो देखिन्छ। एक पटक इतिहासिक प्रगतिको अन्तिम विजेता ब्याख्या गरिएको उदारवाद अब इतिहासको एक चरण वा क्षणको रूपमा मात्र देखिन्छ। एउटा यस्तो चरण जसको सुरुआत र अन्त्य छ, र यो आफ्नो भौगोलिक र ऐतिहासिक सन्दर्भद्वारा सीमित छ।

उदारवादको गिरावटले वैकल्पिक विचारधाराको उदय, नयाँ विश्व व्यवस्था र फरक मूल्यहरूको समूहको सङ्केत गर्दछ। उदारवाद नियति नभएको, इतिहासको अन्त्य नभएको, र अपरिवर्तनीय र सार्वभौमिक परिपाटी नभएको प्रमाणित गरेको छ। केवल एक घण्टे घटना — एउटा युग जसको स्पष्ट समय र स्थानका सीमाहरू छन्। उदारवाद मूलतः पश्चिमी आधुनिकताको मोडेलसँग जोडिएको छ। यसले अन्य प्रकारका आधुनिकता — राष्ट्रवाद र साम्यवाद — विरुद्ध वैचारिक लडाइँ जिते तापनि अन्ततः यो आफ्नो अन्त्यको निकट पुग्यो। यससँगै, क्राउथामरले वर्णन गरेको "एकध्रुवीय क्षण" र भौगोलिक अन्वेषणको महान् युगसँग शुरु भएको पश्चिमी उपनिवेशवादी प्रभुत्वको व्यापक चक्र पनि समाप्त भएको छ।

उत्तर-उदार युग
मानवता अब उत्तर-उदार युगमा प्रवेश गर्दैछ। तथापि, यो युग अतीतका मार्क्सवादी-समाजवादी अपेक्षाहरूसँग चर्को मतभिन्नता राख्दछ। पहिलो, विश्वव्यापी समाजवादी आन्दोलन प्रायः ओझेलमा परेको छ। र यसको मुख्य गढहरू— सोभियत संघ र चीन —ले आफ्नो पारंपरिक रूपलाई परित्याग गर्दै, लिबरल मोडेलका विभिन्न पक्षहरूलाई अपनाएका छन्। दोस्रो, उदारवादको पतनका मुख्य कारक परम्परागत मूल्य र गहन सभ्यतागत पहिचानहरू हुनु हो।

मानवताले उदारवादको समाजवादी, भौतिकवादी, वा प्राविधिक चरण पार मात्र गरिरहेको छैन। बरु पश्चिमी आधुनिकताले असान्दर्भिक र निर्मूल मानिएका सांस्कृतिक र सभ्यतागत तहलाई  पनि पुनः जीवित पार्दैछ। यो प्राचीन युगतर्फको पुनरागमन, पश्चिमी आधुनिकतामा आधारित उत्तरआधुनिक मार्गको निरन्तरता नभई, उत्तर-उदारवादको वास्तविक सारलाई परिभाषित गर्दछ। वामपन्थी प्रगतिशील सोचको अपेक्षा विपरीत, उत्तर-उदारवाद पश्चिमी आधुनिक सार्वभौमिक व्यवस्थाको दाबी अस्वीकारका रूपमा उदीयमान भइरहेको छ। यसले आधुनिक युगलाई अस्थायी घटना, एक विशेष संास्कृतिक बल प्रयोग र आक्रामक प्राविधिक दोहनमा निर्भर रहँदा उत्पन्न भएको अध्यायको रूपमा हेर्छ।

उत्तर-उदारवादी संसारले पश्चिमी वर्चस्वको निरन्तरता होइन, तर सभ्यतागत विविधताको पुनरागमनको कल्पना गर्दछ। जुन पश्चिमको तीव्र उदयअघि रहेको युगसँग मिल्दोजुल्दो छ। उदारवाद, पश्चिमी वैश्विक साम्राज्यवादको अन्तिम रूपका रूपमा, युरोपेली आधुनिकताको सबै प्रमुख सिद्धान्तहरूलाई आत्मसात गर्दै तीनीहरुलाई तर्कसंगत चरम सीमासम्म पु-यायो; लैङ्गिक राजनीति, ‘वोक’ संस्कृति, ‘क्यान्सल’ संस्कृति, समालोचनात्मक जाति सिद्धान्त, ट्रान्सह्युमनिज्म, र उत्तरआधुनिकवादी ढाँचाहरू। उदारवादी क्षणको अन्त्यले केवल उदारवादको पतन मात्र नभई विश्व इतिहासमा पश्चिमको एकल वर्चस्वको पनि समाप्ति घोषणा हो। यो पश्चिमको अन्त्य हो।

हेगेलमा उदार क्षण
"इतिहासको अन्त्य" अवधारणा बारे यहाँ पटक-पटक चर्चा भएको छ। अब यस सिद्धान्तलाई पुनः जाँच गर्नु आवश्यक छ। यो शब्दावली हेगेलबाट उत्पन्न भएको हो, र यसको अर्थ हेगेलको दर्शनमा आधारित छ। मार्क्स र फुकुयामाले यस अवधारणालाई (रुस-फ्रेन्च हेगेलियन अलेक्जेन्डर कोजेभ मार्फत) ग्रहण गरे। तर उनीहरूले यसलाई यसको धार्मिक र तत्वज्ञानिक आधारबाट अलग गरे।

हेगेलको मोडेलमा इतिहासको अन्त्य यसको सुरुवातसँग अभिन्न रूपमा सम्बन्धित छ। इतिहासको सुरुवातमा, ईश्वर आफ्नै भित्र लुकेको अवस्थामा हुन्छ। आत्म-निषेधमार्फत, ईश्वर प्रकृतिमा रूपान्तरण हुन्छ। प्रकृतिमा, ईश्वरको उपस्थिति सुप्त तर सक्रिय हुन्छ र यही सुप्त उपस्थितिले इतिहासको उदयलाई प्रेरित गर्छ। इतिहास भनेको यस आत्मामा प्रकट हुँदै जाने प्रक्रिया हो। समयक्रममा विभिन्न प्रकारका समाजहरू देखा पर्छन्; परम्परागत राजतन्त्र, लोकतन्त्र, र नागरिक समाजहरू। अन्ततः, इतिहास आत्माको महान साम्राज्यमा पुगेर समाप्त हुन्छ। जहाँ ईश्वर पूर्ण रूपमा राज्यमा प्रकट हुन्छ। त्यो कुनै साधारण राज्यमा होइन, त्यो आत्माबाट निर्देशित एक दार्शनिक राज्यमा।

यस परिप्रेक्ष्यमा, उदारवाद केवल एक क्षण हो। यसले पुराना राज्यहरूको विघटनलाई पछ्याउँछ र इतिहासको पराकाष्ठा जनाउने नयाँ, सत्य राज्यको स्थापनालाई अघि बढाउँछ। मार्क्सवादी र उदारवादी दुवैले हेगेलको धार्मिक आधारलाई अस्वीकार गर्दै उनको सिद्धान्तलाई भौतिकवादी अवधारणामा सीमित बनाए। उनीहरूले प्रकृतिबाट सुरू गरे, हेगेलको परमेश्वरको अवधारणालाई बेवास्ता गरे। नागरिक समाज — उदारवाद — लाई इतिहासको पराकाष्ठाको रूपमा माने। फुकुयामाजस्ता उदारवादीहरूको लागि इतिहास तब समाप्त हुन्छ जब सम्पूर्ण मानवजाति एउटा वैश्विक नागरिक समाज बन्छ। अर्कोतर्फ, मार्क्सवादीहरूले इतिहासलाई वर्गविहीन साम्यवादी समाजमा समाप्त हुने कल्पना गरे। यद्यपि यो नागरिक समाजको परिप्रेक्ष्यमै सीमित रह्यो।

हेगेलको पूर्ण दार्शनिक मोडेललाई पुनःस्थापना गर्दा, यो स्पष्ट हुन्छ कि उदारवाद केवल एक संक्रमणकालीन चरण हो। जुन हेगेलले "क्षण" भनी परिभाषित गर्थे। यसको निष्कर्षले आत्माको अन्तिम साकारतालाई मार्गप्रशस्त गर्छ। जसलाई हेगेलले "आत्माको साम्राज्य" का रूपमा परिकल्पना गरेका थिए।

उत्तरआधुनिकता र राजतन्त्र
यस सन्दर्भमा, राजतन्त्रको धारणा विगतको अवशेषको रूपमा होइन, तर भविष्यको सम्भावित मोडलको रूपमा नयाँ महत्व प्राप्त गर्छ। उदार प्रजातन्त्र र गणतन्त्रवादको विश्वव्यापी युग आफैं समाप्त भएको छ। विश्वव्यापी गणराज्य स्थापनाका प्रयास असफल भएका छन्। सन् २०२५ जनवरीसम्ममा यो असफलता स्पष्ट रूपमा स्वीकार गरिनेछ।

अगाडि के आउँछ? उत्तर-उदार युगका मापदण्डहरू अझै परिभाषित भएका छैनन्। तथापि, सम्पूर्ण युरोपेली आधुनिकता — यसको विज्ञान, संस्कृति, राजनीति, प्रविधि, समाज र मूल्यहरू — मात्र एक कालखण्ड थियो भन्ने मान्यतालाई स्वीकार गर्दा, जुन निराशाजनक र अपमानजनक अन्त्यमा समाप्त भयो। यसले संकेत गर्दछ कि उत्तर-उदार भविष्य पूर्ण रूपमा अप्रत्याशित हुनेछ।

हेगेल संकेत गर्छन्; उत्तर-उदारवादी युग एक राजतन्त्रको युग हुनेछ। समकालीन रसिया, जुन अझै औपचारिक रूपमा एक उदार लोकतन्त्र हो। पहिले नै एक राजतन्त्रका विशेषताहरू देखाउँछ: एक लोकप्रिय नेता, सर्वोच्च अधिकारको स्थायित्व, र आध्यात्मिक मूल्य, पहिचान, र परम्परामा जोड। यी सबै राजतन्त्रात्मक संक्रमणका आधार हुन् — रूपमा होइन, सारमा।

अर्को सभ्यताहरू समान दिशा तर्फ बढिरहेका छन्। नरेन्द्र मोदीको नेतृत्वमा भारत एउटा पवित्र सम्राटको प्रतिमूर्ति, एक चक्रवर्तिनको रूपमा वृद्धि भइरहेको छ। जुन दशौं अवतार कल्किनको जस्तो छ, जसले अन्धकार युगको अन्त्य ल्याउँछ। शी जिनपिङको नेतृत्वमा चीन कन्फ्यूसियस साम्राज्यका गुणहरूको प्रदर्शन गर्दछ। जहाँ शीलाई पहेँलो सम्राटको रूपमा देखिन्छ। इस्लामिक संसारले पनि एक आधुनिक कालीफत मार्फत एकता पाउन सक्छ।

यस पोस्ट-लिबरल संसारमा, संयुक्त राज्य अमेरिकाले पनि एक सम्राटी मोडमा परिवर्तन देख्न सक्छ। प्रभावशाली चिन्तकहरू जस्तै कर्टिस यार्भिनले लामो समयदेखि अमेरिकामा राजतन्त्रको पक्षमा समर्थन गरेका छन्। डोनल्ड ट्रम्प जस्ता पात्रहरू, जसको राजवंशीय जडानहरू छन्। यो परिवर्तनको प्रतीक बन्न सक्छ।

एक खुला भविष्य
"उदारवादी क्षण" भन्ने शब्दले राजनीतिक सोचमा क्रान्तिकारी प्रभाव राख्छ। जुन कुरा एक पटक अनिवार्य भविष्यवाणी जस्तो मानिन्थ्यो। त्यो इतिहासको व्यापक तन्तुको एउटा छिटो बदलिने ढाँचाको रूपमा मात्र प्रकट हुन्छ। यस बोधले अपरिमित राजनीतिक कल्पनाको ढोका खोल्दछ। उदारवाद पछिको संसार अनन्त सम्भावनाको संसार हो, जहाँ अतीत, भविष्य, र यहाँसम्म कि बिर्सिएका परम्पराहरूलाई पुनः खोजी गर्न वा नयाँ ढंगले कल्पना गर्न सकिन्छ।

यसरी, इतिहासका निर्धारणात्मक आदेशनिर्देशहरू उल्टिएका छन्। यसले बहु-समय अवधिको एक युगको शुरुवातको संकेत गर्दछ। उदारवादी क्षणपछिका यथार्थभन्दा बाहिर नयाँ स्वतन्त्रता छ। जहाँ विविध सभ्यताहरू आफ्ना मार्गहरू बनाउनको लागि अनन्त भविष्यको अज्ञात आकाशतर्फ यात्रा गर्दैछन्।

अनुवाद: मोहनप्रसाद ज्ञवाली