यूक्रेन वार्ताका लागि नयाँ विश्व व्यवस्थाको स्पष्टता आवश्यक छ।

अलेक्जेन्डर दुगिनले यस लेखमा यो स्पष्ट पारेका छन् कि जबसम्म  विश्व राजनीतिलाई रुपान्तरण  गर्ने वैचारिक क्रान्ति  भ्लादिमिर पुटिन तथा डोनाल्ड ट्रम्पद्वारा अघि बढाइरहेको नयाँ विश्व व्यवस्थाको स्पष्ट बुझाइमा आधारित हुँदैन, तबसम्म युक्रेन सम्बन्धी कुनै पनि छलफल व्यर्थ हुन्छ।

 सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि साउदी अरबमा दुई विश्व नेताहरू, ठूला आणविक शक्तिहरूका प्रतिनिधिहरू, भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीच भावी विश्व व्यवस्थाको संरचनाबारे छलफल हुनु आवश्यक छ।

हामी देखिरहेका छौं, हालसालै अमेरिकामा गहन वैचारिक क्रान्ति भएको छ। जसको महत्वलाई अवमूल्यन गर्न गाह्रो छ। ट्रम्प र उनको टोली, ट्रम्पपन्थीहरूको रुख मानवजातिको भविष्य,  पूर्व-पश्चिमका मित्रहरू र शत्रुहरूप्रति बाइडेन प्रशासनले  त्यसअघिका ओबामा, जुनियर बुश र क्लिन्टनको प्रशासनको तुलनामा पूर्णतया फरक तथा बिपरित दृष्टिकोण राख्छन्।

पछिल्लो केही दशकहरूमा अमेरिकामा उदारवादी वैश्विकतावादी मोडेल र विचारधाराले प्रभुत्व जमाएको थियो, जसमा राष्ट्रिय राज्यहरूको सार्वभौमिकतालाई क्रमिक रूपमा समाप्त गर्दै मानवजातिलाई विश्व सरकारको अधीनमा एउटै एकीकृत समूहमा रूपान्तरण गर्नुपर्ने धारणा समावेश थियो। यो मोडेलले विश्वव्यापी प्रक्रियाहरू र आन्तरिक राजनीति दुवै (अर्थतन्त्रदेखि संस्कृति सम्म) मा प्रभुत्व जमाएको थियो। तर ट्रम्पले यस उदारवादी वैश्विकतावादलाई समाप्त गरे।

वैश्वीकतावादको लागि, परम्परागत मूल्यहरू रक्षा गर्ने र आफ्नै विशिष्ट सांस्कृतिक, कूटनीतिक, राजनीतिक तथा सभ्यतागत पहिचान भएको सार्वभौम राष्ट्र र समाजको रूपमा रूस एक विशाल अवरोध थियो। यही कारणले हाम्रो देशविरुद्धको उक्साहट भएको थियो। जसले युक्रेनमा वैश्वीकतावादी सामूहिक पश्चिमसँग युद्धको अवस्था सिर्जना गरायो।

ट्रम्पले उदारवाद र विश्वव्यापीकरणको ठीक विपरीत र एकदमै फरक विचारधाराको प्रतिनिधित्व गर्छन्। उनी उदारवादी होइनन्, बरु उत्तर-उदारवादी वा गैर-उदारवादी राष्ट्रवादी हुन्। उनी अमेरिका एउटा सार्वभौम राष्ट्रको रूपमा रहनुपर्छ भन्ने पक्षपाती हुन्। उनले आफूभन्दा अघि शासन गर्नेहरूसँग मेलखाने कुनै पनि साझा धारणा राख्दैनन्। फरक यति मात्र हो कि पहिलो कार्यकालमा ट्रम्पले आफ्नै एजेन्डामा दृढ रहन सकेनन्। अहिले भने उनले राम्ररी तयारी गरेका छन् र आफ्ना समान विचारधारा भएका सहयोगीहरूसँग सत्तामा आएका छन्। अत्यन्तै एकताबद्ध र विचारधारागत रूपमा स्पष्ट टोलीसँग, जसले ट्रम्पले ओभल अफिसमा तीन हप्ता बिताउँदा नै त्यो उपलब्धि हासिल गरिसकेको छ, जुन कहिलेकाहीँ सय वर्षमा पनि सम्पूर्ण राष्ट्रहरूले गर्न सक्दैनन्।

यो साँच्चै ठूलो परिवर्तन हो, साथै पुटिन र ट्रम्पले यही विषयमा छलफल गर्न आवश्यक छ। ट्रम्पले रुससँगको युद्ध जारी राख्नेछन् वा त्यसलाई रोक्नेछन्? युरोप, चीन, मध्यपूर्व, दक्षिणपूर्व एसिया, अफ्रिका र ल्याटिन अमेरिकाबारे उनको धारणा के हो? यी सबै विषयहरू हामीलाई महत्त्वपूर्ण छन्। किनकि एक महान् शक्तिको रूपमा यी सबै  प्रश्नहरूमा हाम्रो आफ्नै दृष्टिकोण छ।

मेरो विचारमा, यी मुख्य विषयवस्तुमा केन्द्रीत भएर साउदी अरेबियामा भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीच छलफल हुनु आवश्यक छ। त्यो विश्व व्यवस्था, जुन ट्रम्प निर्माण गर्न चाहन्छन्, र त्यो विश्व व्यवस्था, जुन पुटिन निर्माण गर्दैछन्। साथै, बहुध्रुवीयताको व्याख्या कसरी गर्ने भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ। जसको स्वीकारोक्ति हामीले अमेरिकाका विदेशमन्त्रीबाट समेत सुनीसकेका छौं।

तसर्थ, ठीक यही सन्दर्भमा, केही समान बुँदाहरू भेट्टाउने वा त्यसको विपरीत, द्वन्द्व र आपसी समझदारीको अभावलाई स्पष्ट गर्दै, अगाडि बढ्न सकिन्छ। जब दुई महान शक्ति राष्ट्रहरूको बीचको विश्व व्यवस्था स्पष्ट र निर्धारण गरिन्छ, त्यसपछि मात्र युक्रेनका विषयमा कुरा गर्न सकिन्छ। मैले यो कुरा जोडदार रूपमा भनेको छु: यस बुझाइ बिना युक्रेनको बारेमा कुरा गर्नु निरर्थक छ। र यो सम्भव पनि छैन।

यस क्रममा हाम्रो प्रतिनिधिमण्डलको संरचनाको अत्यन्तै गम्भीर र उच्चतम स्तरलाई विशेष ध्यान दिनु पर्छ। यसमा यूरी उषाकोव र सेर्गेइ लाव्रोव छन्, जो पुटिनका अन्तर्राष्ट्रिय नीति क्षेत्रमा निकटतम सहयोगी हुन् र पूर्ण रूपमा,  उनी पूर्णतः पुटिनसँग सहमत छन्।  त्यसैले उनीहरूले हाम्रो राष्ट्रपतिको यो भेटघाट तयारी गर्नमा मद्दत गर्नेछन् ।

तर अमेरिकन राष्ट्रिपति  ट्रम्प पक्षका टोलीमा समान प्रभावशाली र महत्त्वपूर्ण हुने निश्चितता अहिले सम्म छैन (किनभने उनको टोली स्वयं निर्माणको संक्रमण प्रक्रियामा छ)। तर कुनै पनि अवस्थामा यी व्यक्तिहरू पनि आफ्ना राष्ट्रपतिलाई मद्दत गर्ने प्रयास गर्नेछन्।  साथै, आशा गरौं कि तिनीहरूले यो अत्यन्त महत्वपूर्ण शिखर सम्मेलनका लागि राष्ट्रपति ट्रम्पलाई आवश्यक आधारभूत जानकारी प्रदान गर्नेछन्। जुन दुई सभ्यतागत राष्ट्रहरूबीचको अत्यन्तै महत्वपूर्ण वार्ता हुनेछ।

अनुवाद : मोहनप्रसाद ज्ञवाली