एक्लिएका एर्दोगान

इस्तानबुलका मेयर एकरेम इमामोग्लुको गिरफ्तारीपछि टर्कीमा गम्भीर अशान्ति उत्पन्न भएको छ र यसले झन् तीव्ररुपमा भयंकर रूप लिइरहेको छ। संकट अझ गहिरिँदै गएको छ। तर, परिस्थितिको उचित विश्लेषण गर्नका लागि विभिन्न कारकहरूलाई ध्यानमा राख्न आवश्यक छ।

सर्वप्रथम, इस्तानबुलका मेयर, अंकाराका मेयर जस्तै, एर्दोगानको उदारवादी विपक्षी समूहका सदस्य हुन्। उनी रिपब्लिकन पिपल्स पार्टी (CHP) का हुन्, जुन एर्दोआनको आफ्नै दल, न्याय र विकास पार्टी (AK पार्टी) को सट्टा एक वाम-उदारवादी, धर्मनिरपेक्ष र सामान्यतः युरोपपन्थी विकल्पको प्रतिनिधित्व गर्छ। यो विपक्षी समूह सैद्धान्तिक रूपमा पश्चिमतर्फ उन्मुख छ र एर्दोआनको इस्लामिक नीतिहरूको विरोधी छ। साथै, यसले रुसप्रति पर्याप्त शत्रुतापूर्ण दृष्टिकोण राख्छ।

दोस्रो, एर्दोगान स्वयंले हालसालै धेरै गम्भीर राजनीतिक गल्तीहरू गरेका छन्। यीमध्ये सबैभन्दा महत्वपूर्ण गल्ती भनेको दमास्कसमा अल-जुलानीका लडाकुहरूद्वारा सत्ताको नियन्त्रण लिने कार्यलाई उनले दिएको समर्थन हो। यो घातक त्रुटि हो, किनभने यस कार्यद्वारा एर्दोगानले टर्की-रूस र टर्की-ईरान सम्बन्धलाई गम्भीर (सम्भवतः अपूरणीय) क्षति पुर्‍याएका छन्। अब, न रूस न त ईरानले एर्दोआनलाई सहायता गर्नेछन्। परिस्थिति पहिले नै उनका विरुद्ध मोडिइसकेको छ, र संकट अझ गहिरिन सक्छ।

म विश्वास गर्दिन कि ईरान वा रसिया कुनै पनि तरिकाले टर्कीको अशान्तिमा संलग्न छन्। बरु, सम्भवत: पश्चिमले एर्दोगानलाई सत्ताच्युत गर्न खोजिरहेको छ। तथापि, उनको सिरियासम्बन्धी गल्ती अत्यन्त गम्भीर छ। टर्कीभित्र धेरैले यसलाई नबुझ्ने मात्र भएनन्, बरु एर्दोगानको यस नीतिको निन्दा पनि गरे। जसले, अहिले हामी देखिरहेझैं, अलावाइटहरू र अन्य जातीय-धार्मिक अल्पसंख्यकहरू (जसमा इसाईहरू समेत छन्)को नरसंहार निम्त्याएको छ। वस्तुतः, केवल अत्यन्त दूरदृष्टिहीन राजनीतिज्ञ मात्र सिरियाको सत्ता अल-कायदालाई सुम्पिन सक्छ। यद्यपि एर्दोगानलाई प्राय: दूरदर्शी राजनीतिज्ञ मानिन्छ तर, मेरो दृष्टिमा यो गल्तीले उनलाई बारम्बार पछ्याउनेछ।

अर्को पक्ष उनको आर्थिक नीति हो। लिराको अवमूल्यन, अत्यधिक मुद्रास्फीति—यी सबैले पहिल्यैदेखि कमजोर रहेको टर्कीको अर्थतन्त्रलाई झन् अस्थिर बनाइरहेका छन्। साथै, यी असफलताहरू—सिरियामा भएका पराजय तथा आर्थिक संकट र एर्दोआनको युरोपेली सङ्घसँगको पुनः सामीप्यता, वैश्विक शक्तिहरूसँगको सम्बन्ध र बेलायती गुप्तचर संस्था MI-6 का प्रमुख रिचर्ड मूरसँगको सम्पर्कले उनलाई फन्दामा पार्ने काम गरिरहेका छन्।

परिणामस्वरूप, टर्कीभित्रको उदारवादी तर केमालवादी (र यसै कारण राष्ट्रवादी) प्रतिपक्षले उनको असफलताबाट फाइदा उठाउने अवसर प्राप्त गरेको छ। उनीहरूको तर्क छ: "हामीले पहिल्यै चेतावनी दिएका थियौँ कि सिरियामा भएको विजय वास्तवमा एक प्रकारको विनाशकारी जित हुनेछ, अर्थतन्त्र पतनको अवस्थामा छ, र पश्चिमसँग हाम्रो सम्बन्ध एर्दोगानको भन्दा बलियो छ। एर्दोगानको नेतृत्वमा टर्कीलाई युरोपले कहिल्यै पनि स्वीकार गर्नेछैन।"

टर्कीमा क्रियाशील प्रजातन्त्र भएकाले एर्दोगानले इस्तानबुल र अंकाराका जनतालाई नगरप्रमुख निर्वाचनमा विपक्षी नेताहरूलाई मतदान गर्न रोक्न सकेनन्। अन्ततः एर्दोआनले इस्तानबुलका मेयरलाई कारागारमा पठाउने निर्णय गरे। यो उचित थियो वा थिएन भन्ने प्रश्न लगभग अप्रासंगिक छ— कुनै पनि आधुनिक राजनीतिक व्यवस्थामा कुनै अधिकारीलाई कैद गर्ने आधार खोज्नु सधैं सम्भव हुन्छ (आधुनिक राजनीतिमा निर्दोष व्यक्ति हुँदैनन्)। टर्की पनि यसमा अपवाद होइन। त्यसकारण, यो पूर्णतः राजनीतिक व्यावहारिकताको विषय हो।

एर्दोगानले महसुस गरे कि परिस्थितिहरू उनको विपक्षमा जाँदैछ र उनलाई आफ्ना सबैभन्दा सक्रिय प्रतिद्वन्द्वी—एक्रेम इमामोग्लुलाई जेल हाल्न आवश्यक छ। तर इमामोग्लु 'सोरस' समूहसँग सम्बद्ध व्यक्ति हुन्, जो विश्वव्यापी सञ्जालद्वारा समर्थित छन्। र एर्दोगानलाई यस कदममा समर्थन मिल्न केवल त्यतिखेर सम्भव हुन्थ्यो जब उनले स्वयम् सोरस-सम्बद्ध गुटको विरुद्ध कठोर अडान लिएका हुन्थे। तर, पहिले नै उल्लेख गरिएझैं, एर्दोगानले आफ्ना पूर्वसहयोगीहरू, ईरान र रुसलाई धोका दिइसकेका थिए। त्यसकारण, वर्तमान परिस्थितिमा हामी उनलाई समर्थन गर्न सक्दैनौं।

यो एर्दोगानका लागि एक अत्यन्तै गम्भीर परिस्थिति हो। उनका सम्पूर्ण विपक्षीहरू, संचित त्रुटिहरूको फाइदा उठाउँदै, विद्रोहमा उठेका छन्। जुन एक वास्तविक ‘रङ्गीन क्रान्ति’ हो। र ती रूढीवादी, यहाँसम्म कि सैनिक समर्थित केमालवादीहरू, जसको झुकाव युरेसियावादीसँग थियो। जसलाई एर्दोगानले कहिल्यै झुटा "एर्गेनेकन" मुद्दामा आरोपित गरेका थिए। तर, जसले उनलाई बारम्बार (विशेषगरी २०१६ को कू प्रयासको समयमा) बचाएका थिए। अब उनीहरू  उनको सहयोगमा आउने छैनन्।

मूल रूपमा हेर्दा, एर्दोगान अब एक्लिएका छन्, किनभने उनले धेरैपटक आफ्ना सहयोगीहरूलाई धोका दिएका छन्। मलाई लाग्छ, उनको अवस्था अत्यन्तै कठिन छ। यसैबीच, हामीले आफैं पनि यी बढ्दो विरोध प्रदर्शनहरूलाई लिएर अत्यन्तै सतर्क रहनु आवश्यक छ, किनभने तिनको पछाडि उही संयोजकहरू छन्, जसले अधिकांश रङ्गीन क्रान्तिहरूको निर्देशन गरेका छन्। जसमा हालै सर्बियामा भइरहेको आन्दोलन पनि समावेश छ। त्यस्तै, यस आन्दोलनमा संलग्न वैश्विकतावादीहरू अल्पसंख्यक छन्। तर, बहुसंख्यक सर्वसाधारण जनता छन्, जो सरकारका विभिन्न राजनीतिक अराजकतासँग वास्तविक रूपमा असन्तुष्ट छन्। त्यसैले अहिले भइरहेका घटनाहरूको केही वस्तुगत कारणहरू पनि छन् जस्तो देखिन्छ। एर्दोगानले अब थप गल्ती गर्ने ठाउँ गुमाइसकेका छन्। तर तैपनि, उनी निरन्तर गल्ती गरिरहेछन्।

यो परिस्थितिलाई सुधार्न के गर्न सकिन्छ भन्ने कुरा भन्न गाह्रो छ। सम्भवत: कुनै प्रकारको केमालवादी राष्ट्रिय एकता सरकार गठन हुन सक्छ, जसमा मध्यम इस्लामवादीहरू (जस्तै, एर्दोगानकै पार्टीका सदस्यहरू) समेटिन सक्ने सम्भावना छ। यस सन्दर्भमा एउटा प्रश्न उठ्छ: टर्कीको राष्ट्रियतावादी आन्दोलन पार्टीका नेता तथा एर्दोगानका मुख्य सहयोगी देव्लेत बाह्चेलीको के भइरहेको छ? उनी मृत्यु भइसकेका छन् भन्ने हल्लासमेत फैलिएको छ। जुन सरकारले लुकाइरहेको भन्ने दाबी गरिन्छ। मलाई लाग्छ, यो केवल षड्यन्त्रको कथा हो। तर, उनी साँच्चै नै बृद्ध भइसकेका छन् र शारीरिक रूपमा कमजोर देखिन्छन्। एर्दोआन अब उनलाई वा उनका “ग्रे वुल्फहरू” मा (जो कुनै समय शक्तिशाली र खतरनाक टर्कीका उग्र राष्ट्रवादीहरू थिए) भर पर्न सक्दैनन्।
त्यसैले, पुनः म दोहोर्‍याउँछु: एर्दोगान र उनको शासनको भविष्य अँध्यारो देखिन्छ। तैपनि हामी अवश्य पनि एक सार्वभौम टर्कीलाई, स्वतन्त्र परराष्ट्र नीतिसहितको छिमेकीका रूपमा देख्न चाहन्छौं। राम्रो सम्बन्ध राख्ने पक्षहरुसँग हामी सधैं रहन्छौं।  यद्यपि टर्की शत्रुतापूर्ण भए पनि हामी त्यसका लागि तयार छौं। रसिया कुनै पनि परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार छ।

(सारांस:अलेक्जेन्डर दुगिनले विश्लेषणयो छ कि एर्दोगान अहिले निकै खराब स्थितिमा छन् र उनले न त रूसबाट न त इरानबाट कुनै सहायता प्राप्त गर्न सक्नेछन्।)

अनुवाद: मोहनप्रसाद ज्ञवाली