महान् शक्तिहरूको क्रम: ट्रम्पको नयाँ भू-राजनीतिक यथार्थ
Primary tabs

आज, ट्रम्प र उनका समर्थकहरूले निर्माण गर्न चाहेको नयाँ विश्व व्यवस्थाको भू-राजनीतिक नक्सा झन् स्पष्ट हुँदै गइरहेको छ। यस पटक, ट्रम्प २.० ले वाम-उदारवादी वैश्विकतावाद र नव-रूढिवादीहरू (जो मूलतः वैश्विकतावादको अर्को रूप मात्र हुन्) दुबैसँग सम्बन्ध विच्छेद गर्ने र उनीहरूका योजनाहरूसँग सम्झौता नगर्ने दृढ निश्चय गरेका छन्। उनी अतीतसँगको जडत्व तोड्दै अमेरिकी विमानरुपी जहाजलाई नयाँ मार्गतिर अग्रसर गराउँदैछन्।
ट्रम्पले पालना गर्ने अन्तर्राष्ट्रिय सम्बन्धको प्रतिमानलाई "महान् शक्तिको क्रम" (Order of Great Powers) भनेर चित्रण गर्न सकिन्छ। यो सम्पूर्ण MAGA विचारधारा ("अमेरिकालाई फेरि महान बनाउ!")को एक तार्किक विस्तार हो। यसको नामले नै संकेत गर्दछ कि यसले पश्चिमी संसार, उदार लोकतन्त्रलाई विश्वव्यापी रूपमा विस्तार गर्ने प्रयास वा एट्लान्टिसिज्म (Atlanticism) जस्ता अवधारणाहरूभन्दा भिन्न रूपमा राष्ट्र-राज्यको रूपमा संयुक्त राज्य अमेरिका आफैभित्र केन्द्रित छ। ट्रम्पको दृष्टिकोण अनुसार - यो राष्ट्रले वैश्विकतावाद (globalism) र यससँग जोडिएका सबै प्रतिबन्ध, दायित्व र अनिवार्यताबाट पूर्णतः मुक्त हुनुपर्छ। ट्रम्पको नजरमा, विद्यमान लगभग सबै अन्तर्राष्ट्रिय संस्थाहरू—संयुक्त राष्ट्र संघ (UN), नेटो (NATO), विश्व व्यापार संगठन (WTO), विश्व स्वास्थ्य संगठन (WHO) र अन्य सबै अतिराष्ट्रिय निकायहरू पुरानो विश्व व्यवस्थाका प्रतिबिम्ब हुन्, जबकि उनी नयाँ व्यवस्था सिर्जना गर्न खोज्दैछन्। उनका लागि यी सबै संगठन उदारवादी र वैश्विकतावादीहरूको सिर्जना हुन्, जबकि उनी स्वयं अनवरत रूपमा ढृढतापूर्वक यथार्थवादी (realism) सिद्धान्तमा अडिग छन्।
अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवादी र उदारवादी दुई प्रमुख विचारधाराका स्कुलहरू हुन्। जसले सबै पक्षमा एकअर्काको विरोध गर्छन्। त्यसमा पनि विशेष गरी सार्वभौमिकताको मौलिक बुझाइमा एक अर्कामा विरोधी रहेका छन्। यथार्थवादीहरू सार्वभौमिकतालाई पूर्ण मान्छन्, जबकि उदारवादीहरू यसलाई सापेक्ष देख्छन् साथै राष्ट्रिय प्रशासनहरूलाई उच्च अन्तर्राष्ट्रिय अधिकारको अधीनमा राख्न प्रयासरत हुन्छन्। उनीहरूको दृष्टिकोणमा, यसले अन्ततः मानवताको एकीकरण र विश्व सरकारको सिर्जनातर्फ लैजानु पर्छ। यथार्थवादीहरूले यसलाई राज्यहरूको स्वतन्त्रता र स्वतन्त्रतामा आक्रमणको रूपमा हेर्दै यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन्। यही कारणले ट्रम्प समर्थकहरूले वैश्वीकतावादीहरूलाई "डिप स्टेट" भनेर उल्लेख गर्छन्। त्यो संस्था जसले अमेरिकी नीतिलाई एक अतिराष्ट्रिय एजेन्डामा अधीनस्थ बनाउन खोज्छ।
विश्वव्यापी नीतिको एक नमूना वुड्रो विल्सनको "चौध बुँदा" मा भेट्न सकिन्छ, जसले प्रथम विश्वयुद्धपछि संयुक्त राज्य अमेरिकालाई विश्वव्यापी शक्ति रूपमा उदार लोकतन्त्रलाई विश्वभर प्रवर्द्धन गर्ने जिम्मेवारी दिएको थियो। अर्कोतर्फ, ट्रम्प यथार्थवादी स्कुलको भावना अनुसार प्रारम्भिक मोनरो सिद्धान्ततर्फ आकर्षित हुन्छन् — "अमेरिका अमेरिकनहरूका लागि" जसले युरोपेली राजनीतिमा सक्रिय संलग्नताबाट बच्न र अमेरिकी महाद्वीप बाहिरका राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने संकेत गर्दछ (र त्यो पनि, केवल अमेरिकामा भएका घटनाहरूले अमेरिकी राष्ट्रिय हितहरूमा प्रत्यक्ष असर पार्दा मात्र)।
तर, यो ध्यान दिनु पर्छ कि ट्रम्पवाद केही पक्षहरूमा शास्त्रीय यथार्थवादभन्दा फरक छ। ट्रम्पका लागि, महत्त्वपूर्ण कुरा केवल सार्वभौमिकताको कानूनी स्थिति मात्र होइन, बरु अझ महत्वपूर्ण कुरा—राज्यको सबैभन्दा गम्भीर सम्भावित प्रतिस्पर्धीको सामना गर्दा विजय प्राप्त गर्ने, स्थापना गर्ने, सुदृढ गर्ने र आफ्नो स्वतन्त्रता रक्षा गर्ने क्षमता हो। त्यसैले, यो सामान्य सार्वभौमिकताको बारेमा मात्र होइन, तर वास्तविक सार्वभौमिकताको बारेमा हो, जुन आर्थिक, सैन्य, जनसांख्यिकीय, क्षेत्रीय, प्राकृतिक, बौद्धिक, प्राविधिक, सांस्कृतिक आदि स्रोतहरूको सम्बन्धित मात्राद्वारा समर्थित छ।
अन्तर्राष्ट्रिय सम्बन्धका प्रख्यात अमेरिकी विद्वान स्टिफन क्रास्नर, जो यथार्थवादका समर्थक पनि हुन्, शुद्ध कानूनी नाममात्रको सार्वभौमिकतालाई "कल्पना" र यहाँसम्म कि "पाखण्ड" भनेर उल्लेख गर्छन्। शास्त्रीय यथार्थवादी जोन मियर्सहाइमरले पनि यही दृष्टिकोण राख्छन्। डोनाल्ड ट्रम्पले पनि यस दृष्टिकोणलाई साझा गर्छन्। उनीहरूको विचारमा, साँचो — वास्तविक — सार्वभौमिकता मात्र एक महाशक्तिलाई नै हुन सक्छ। तदनुसार, यथार्थवादलाई साधारण राज्यहरू मात्र नभई पूर्ण रूपमा आत्मनिर्भर सभ्यतागत राज्यहरूलाई समेट्ने तहमा उन्नत गरिँदैछ। यो त्यस्तो विश्व व्यवस्था हो, जसलाई ट्रम्पले आफ्नो भू-राजनीतिक क्रान्तिको मार्गचित्रको रूपमा परिकल्पना गर्छन्। एकातिर यो वैश्वीकतावादको पूर्ण अस्वीकार हो; अर्कोतिर, यो "महान क्षेत्रहरू" को क्षेत्रीय एकीकरणतर्फको कदम हो, जुन महाशक्तिको आत्मनिर्भरता साथै आत्मनिर्भरताको लागि आवश्यक छ।
यसले क्यानडा र ग्रिनल्याण्डको विलयतर्फको तार्किक मार्गप्रसस्त गर्नुको साथै संयुक्त राज्य अमेरिकाको सबैभन्दा फाइदा हुने ल्याटिनअमेरिकासँगको सम्बन्धलाई प्राथमिकतामा राख्न अग्रसर हुन्छ।
MAGA (अमेरिकालाई फेरि महान बनाऔं) नाराको अस्पष्टता उल्लेखनीय छ। "अमेरिका" शब्दले के जनाउँछ भन्ने कुरा पूर्ण रूपमा स्पष्ट छैन। के यो केवल संयुक्त राज्य अमेरिका मात्र हो? वा क्यानडा र ग्रीनल्यान्ड सहित सम्पूर्ण उत्तर अमेरिका? वा सायद दक्षिण अमेरिकासहित सम्पूर्ण अमेरिकाहरू? यो अस्पष्टता संयोगवश होइन। यसले स्पष्ट सीमाहरू पूर्वनिर्धारित नगरी "विशाल क्षेत्र" को क्षितिज खोल्छ। साथै, ट्रम्पको अमेरिकालाई फेरि महान बनाउने आह्वानलाई यसको भौगोलिक विस्तारको आह्वानको रूपमा व्याख्या गर्न सकिन्छ। उस्तै गरी, "रूसी विश्व" शब्दावली प्रयोग गरिन्छ, जसले रूसी संघको सीमाहरूभन्दा पर अनिश्चित सीमासहित फैलिन्छ। "रूसी विश्व" रूसी सभ्यतागत राज्य, अर्थात्, महान रूसको पर्यायवाची हो।
ट्रम्प आफ्नै सभ्यतागत राज्य 'ग्रेटर अमेरिका' को परिप्रेक्ष्यमा सोच्दछन्। साथै, कम्तीमा क्षेत्रीय स्तरमा उनी हेजेमोनी परित्याग गर्न न त हतारमा छन्, न त त्यस्तो मनसाय राख्छन्। तर, उनी यस हेजेमोनीको विषयवस्तु परिवर्तन गर्दैछन्। अब यो निरन्तर परिवर्तनशील नियमहरू र अन्तर्राष्ट्रिय कोस्मोपोलिटन अभिजात वर्गद्वारा शक्तिको दुरुपयोगमा आधारित उदार विश्व व्यवस्था (जर्ज सोरोसको विश्वव्यापी 'ओपन सोसाइटी' परियोजनाको भावनामा) रहेन। जसलाई ट्रम्पले विघटन गरेका छन्। बरु, यो संयुक्त राज्य अमेरिकाको अन्य महाशक्तिहरूसँगको नेतृत्व हो। जसले नाममात्रको होइन, वास्तविक सार्वभौमसत्ताको रख्दछन र कुनै न कुनै रूपमा अमेरिकासँग प्रतिस्पर्धा गर्न सक्षम छन्।
ट्रम्पको नयाँ व्यवस्थाले कति महाशक्तिहरूको परिकल्पना गरेको छ? प्राध्यापक मियर्सहाइमरले केवल तीनलाई स्वीकार्छन्: संयुक्त राज्य अमेरिका, चीन र ती दुईभन्दा केही पछि, रूस। उनले भारतप्रति सन्देह राख्छन् उनी विश्वास गर्छन् कि भारतले अरूसँग गम्भीर प्रतिस्पर्धा गर्ने आवश्यक क्षमता अझै संकलन गरेको छैन। तथापि, अन्य दृष्टिकोणहरू पनि छन्। केहीले तर्क गर्छन् कि, भारतलाई पनि सभ्यतागत राज्यको रूपमा वर्गीकृत गर्न सकिन्छ। तर, संयुक्त राज्य अमेरिका, चीन, र रूसको सन्दर्भमा, लगभग सबै यथार्थवादीहरू सहमत छन्। यी शक्तिशाली राष्ट्रहरू (यद्यपि विभिन्न तरिकामा शक्तिशाली) महान् शक्ति राष्ट्रको दाबी गर्न आवश्यक न्यूनतम क्षमता राख्छन्।
यसरी, द्विध्रुवीय शीतयुद्धकालीन विश्वको, एकध्रुवीय नवसंरक्षणवादी विश्वको वा उदारवादी विश्वव्यापीकरणको अध्रुवीय विश्वको सट्टा, ट्रम्पवादले तीन वा चार ध्रुवीय विश्वको परिकल्पना गर्दछ, जहाँ शक्ति सन्तुलनले भविष्यको विश्व व्यवस्थाको संरचनालाई परिभाषित गर्दछ। यसका लागि लगभग सबै अन्तर्राष्ट्रिय संस्थाहरूको पुनर्स्थापना आवश्यक हुनेछ, ताकि तिनीहरूले वास्तविकताहरूलाई प्रतिबिम्बित गर्न सकून्, न कि विगतका युगहरूको अवशेषहरू, जुन अहिले आएर ठोस वा वास्तविकतामा आधारित छैनन्।
यस प्रकारको परियोजना बहुध्रुवीयतासँग धेरै मिल्दोजुल्दो देखिन सक्छ। वास्तवमा, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै स्वीकार गरेका छन् कि हामी बहुध्रुवीय संसारमा बाँचिरहेका छौं। चीन, रूस, र भारतले यस सत्यलाई सजिलै स्वीकार गर्नेछन्, किनकि तिनीहरूमा पहिले नै ध्रुवहरूका सबै आवश्यक विशेषताहरू निहित छन्। यद्यपि, ट्रम्पले लगभग सबै प्रमुख सभ्यताहरू समेट्ने र बहुध्रुवीयताको संस्थागत र प्रतीकात्मक अभिव्यक्तिको रूपमा सेवा गर्ने 'ब्रिक्स' को बहुध्रुवीय गुटप्रति अत्यन्त आलोचनात्मक दृष्टिकोण राख्छन्।
ट्रम्पका लागि, चीन सबैभन्दा गम्भीर प्रतिस्पर्धी र सम्भावित प्रतिद्वन्द्वीको रूपमा देखा पर्दछ। उनले सम्भवतः ब्रिक्सलाई यस्तो संरचना मान्दछन जहाँ चीन वित्तीय, आर्थिक, प्राविधिक आदि दृष्टिकोणले सबैभन्दा शक्तिशाली राष्ट्रको रूपमा प्रमुख भूमिका खेल्छ। त्यसैगरी, ट्रम्पको महाशक्ति व्यवस्थाको अवधारणाभन्दा फरक रूपमा, ब्रिक्सले पूर्ण रूपमा स्थापित महाशक्तिहरूसँगै इस्लामिक विश्व, अफ्रिका र ल्याटिन अमेरिकाजस्ता उदाउँदा सभ्यतागत ब्लकहरूलाई समेत समावेश गर्दछ। यसले ब्रिक्सलाई 'षट्' केन्द्रित संरचनामा रूपान्तरण गर्दछ र यसमा पश्चिमी सभ्यतासँग मिलेर सप्तकेन्द्रित संरचना बनाउँछ।
ट्रम्प, चिसो यथार्थवाद (cold realism) र अमेरिकी व्यवहारवादको भावना अनुसार, भर्चुअल वा सम्भावित कुनै पनि कुराप्रति शंकास्पद दृष्टिकोण राख्दछन् (केवल सम्भव तर अझै साकार नभएको कुरा)। उनको धारणा मूलतः यस्तो छ, "पहिले, महाशक्ति बन्नुहोस्, त्यसपछि हामी कुरा गरौं।" अमेरिकी प्रभावभन्दा बाहिरको कुनै पनि गठबन्धन (विशेष गरी त्यसको विपक्षमा रहेको)लाई खतरा रूपमा लिइनेछ।
यस चित्रमा युरोपेली संघ कहाँ अटाउँछ? अमेरिकाको प्रशासन परिवर्तनपछि, ब्रसेल्स आफैंलाई कठिन अवस्थामा पाउँछ। दोस्रो विश्वयुद्धपछि, युरोप एक प्रकारको प्रान्त वा यहाँसम्म कि अमेरिकाको सैन्य-राजनीतिक उपनिवेश बन्यो। तर ट्रम्पको विश्वव्यापीकरणबाट टाढिने दृष्टिकोणले निम्त्याएको परिवर्तनसँगै, ईयूले या त विघटन हुनुपर्छ वा गहन रूपान्तरणको सामना गर्नुपर्छ।
केही युरोपेली राष्ट्रहरू — हंगेरी, स्लोभाकिया, सर्बिया (जो ईयू सदस्य होइनन्), क्रोएसिया र केही हदसम्म इटालीको साथै पोल्याण्ड — ट्रम्पको अनुसरण गर्दै "युरोपलाई पुनः महान बनाऔं" भन्ने MEGA नारालाई अपनाउन इच्छुक छन्। अन्यहरू अन्योलमा छन्, अमेरिकी समर्थन बिना अघिल्लो वैश्विकतावादी मार्गलाई कायम राख्न संघर्षरत छन्। युरोपको भविष्य अब वास्तविक सार्वभौमिकता र परम्परागत मूल्यहरू अंगीकार गर्ने वा नष्ट हुने कुरामा निर्भर छ।
पुरानो संसारको बरफ फुट्दैछ। पग्लन सुरु भइसकेको छ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली
( सरांस: अलेक्जेन्डर दुगिनलेयश लेखमा यो दाबी गर्छन् कि ट्रम्पको भू-राजनीतिक दृष्टिकोणले उदारवादी वैश्वीकरणलाई त्यागेर बहुध्रुवीय "महाशक्तिहरूको क्रम" को पक्षपोषण गर्दछ, जहाँ वास्तविक सार्वभौमसत्ता केवल आत्मनिर्भर सभ्यतागत राष्ट्रहरूमा हुन्छ, जसले आ-आफ्नो विशाल क्षेत्रलाई एकीकृत गर्दै पुरानो विश्व व्यवस्थाको विखण्डन र क्षेत्रीय प्रभुत्वहरूको अवश्यम्भावी उदयको संकेत गर्दछ।)