रुसलाई फेरि विश्व साम्राज्य बनाउन चाहने अलेक्जेण्डर डुगीन

हरेक राष्ट्रका आ–आफ्ना विचारकहरु हुन्छन्, जसले ती देशका नीतिलाई प्रभावित गरिरहेका हुन्छन्। वाङ्ग हुनिमको विचारले चीनका राष्ट्रपति सी जिन्पिङलाई गहिरोसँग प्रभावित गरेको देखिन्छ । फ्रान्सिस फुकायामाको विचारले अमेरिकालाई केही दशकसम्म दोहोर्‍याएको थियो। उनीहरुजस्तै अलेक्जेण्डर डुगीनलाई चाहिँ रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई वैचारिक रुपमा दिशानिर्देश गर्ने दार्शनिक मानिन्छ। डुगीनको विचारबाट पुटिन अत्याधिक प्रभवित देखिन्छन्।

डुगीनको जन्म आजभन्दा करिब ६० वर्ष अगाडि मस्कोमा भएको थियो। उनका पिता सोभियत सेनाका कर्नेल थिए। उनकी आमा डाक्टर थिइन्। डुगीन युवा अवस्थादेखि नै सोभियत संघका तत्कालीन समाजवादी–साम्यवादी नीतिहरुका विरोधी थिए। उनका त्यस्तै गतिविधिका कारणले गर्दा कलेजबाट निस्कासित गरिएको थियो। तर अध्ययनमा गहिरो रुचि राख्ने डुगीनले फर्जी कार्ड बनाएर लाइब्रेरीमा गई स्वअध्ययन गरे। स्वअध्ययनको बलमै आफूलाई बौद्धिक वृत्तमा स्थापित गराएका अलेक्जेण्डर डुगीनलाई अहिले रूसमा महत्त्वपूर्ण दार्शनिक, राजनीतिक चिन्तक, विश्लेषक र रणनीतिकार मानिन्छ। उनी प्रखर लेखक पनि हुन्। उनले अहिलेसम्म ३० वटा भन्दा बढी किताबहरु लेखेका छन्।

अलेक्जेण्डर डुगीनको विचारधाराले उदारवादको विरोध र रुसी राष्ट्रवादको पक्षपोषण गर्दछ। डुगीनको परिभाषामा रुस एउटा पृथक सभ्यता हो, जुन युरोएसियनवादमा आधारित छ। उनको मान्यतामा रुसले पहिलेको सोभियत संघको सिमानामा आधारित भएर तर साम्यावादी विचारभन्दा अलग रहेर फेरि राष्ट्रको निर्माण गर्नु पर्दछ। उनको अवधारणाअनुसार रुस फेरि विश्व साम्राज्य बन्नु पर्छ। डुगीनका मान्यतामा रुसले यूरोएसियन युनियनको रुपमा ग्रेटर रुसलाई ब्युँताएपछि मात्र अन्तराष्ट्रिय क्षेत्रमा गतिलो भूमिका खेल्न सक्छ।

डुगीनका यस्तै उग्रराष्ट्रवादी विचारका कारण र २०१४ मा युक्रेनमा भएको घटनालाई उनले समर्थन गरे वापत अमेरिकाले प्रतिबन्ध लगाएको थियो। अलेक्जेण्डर डुगीनलाई युक्रेनले त झन मन पराउने कुरा नै भएन, उनी सुरुदेखि नै युक्रेनको निसानामा रहँदै आएका छन् । उनको हत्या गर्ने प्रयास समेत भएको छ ।

गत वर्षको अगस्त महिनाको ३० तारिखमा रुसको राजधानी मस्को नजिकै एउटा महोत्सव भएको थियो। सो महोत्सवमा अलेक्जेण्डर डुगीनले पनि एउटा भाषण गरेका थिए। त्यो महोत्सवमा उनी र उनका छोरी दारिया डुगीन दुवै जना सहभागी भएका थिए। कार्यक्रमपछि बाबु र छोरी एउटै गाडीमा फर्किने योजना थियो। तर अन्तिम समयमा अलेक्जेण्डर डुगीनले छोरीको गाडीमा नचढेर अर्कै गाडीमा फर्किने निर्णय गरे। दारिया डुगीन चढेको कार केहीबेरमा बिस्फोट भयो। उनको छोरीको घटनास्थलमै मृत्यु भयो ।  कसैले उनको कारमुनि विस्फोटक पदार्थ जडान गरिदिएको थियो। त्यो काम युक्रेनको गुप्तचर निकायले गरेको विश्वास गरिन्छ ।

रुस र युक्रेन बीच युद्ध सुरु भएको एक वर्ष पुगेको अवसरमा अलेक्जेण्डर डुगीनले एउटा महत्त्वपूर्ण लेख लेखेका थिए। उक्त लेखले युद्धका बारेमा समस्त रुसको मनोदशाको झलक दिन्छ। सोही लेखको एउटा अंशलाई यहा अनुवाद गरेर प्रस्तुत गरिएको छ:–

''विशेष सैन्य कारवाईको एक वर्षबाट रुसका मित्र र पक्षधर राष्ट्रहरु आंशिक रुपमा निराश बनेका छन्। धेरैले सोचेका थिए कि रुसको सैन्य क्षमता उल्लेखनीय मात्रमा र गतिलो छ, जसले गर्दा युक्रेनको संकट सहज रुपमा समाधान हुनेछ। जसले गर्दा विश्व एक ध्रुवीयबाट बहुध्रुवीयतिर सहज रुपमा संक्रमण हुनेछ। सबैले यो कुरालाई स्वाभाविक र अपरिवर्तनीय ठानेका थिए। तर रुसले समान गर्नु परेका कठिनाइले धेरैलाई समस्याग्रस्त र रक्तिम परिदृश्यतर्फ फर्कायो।

पश्चिमका उदारवादी सम्भ्रान्तहरुले आफ्नो एक ध्रुवीय वर्चश्वलाई कायम राख्नको लागि गम्भीर र हतास भएर लड्न तम्तयार भएको देखियो। रुससंग नेटो समेत सामेल भएर पश्चिमाहरु पूर्ण युद्ध र आणविक द्वन्द्वको हदसम्म जाने सम्भावना देखियो। चीन, भारत, टर्की र अरु इस्लामिक देशहरु र ल्याटिन अमेरिकी देशहरु मुस्किलले यो परिवर्तनको लागि तयार थिए। शान्तिपूर्ण रुससंग नजिक आउनु र शान्तरुपमा सार्वभौमसत्तालाई बलियो बनाउनु गैर पश्चिमा (पश्चिमविरोधी होइन ) क्षेत्रिय र अन्तर क्षेत्रिय संरचनाहरु बनाउनु एउटा कुरा थियो। तर पश्चिमसंग प्रत्यक्ष मुडभेडमा उत्रिनु अर्को कुरा हो। त्यसकारण बहुध्रुवीयताका अनुयायीहरुको यी सबै अव्यक्त सहयोगहरुको साथ (त्यसमाथि महान चीनको मित्रतापूर्ण नीति धन्य छ ) ले गर्दा पश्चिमसंगको युद्धमा रुस नितान्त्त एक्लो छ।''

यो भनाइले केवल अलेक्जेण्डर डुगीनको मात्र होइन, रुसका राष्ट्रपति पुटिन र समस्त रुसीहरुको मनोदशालाई समेत व्यक्त गर्दछ !

प्रतिक्रिया

https://dayitwabodh.com/news/detail/159550/