रूसले सिरिया गुमायो: चोट भनेको चोट हो, पीडा भनेको पीडा हो
Primary tabs
पुटिनका 'मस्तिष्क' मानिएका अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि सिरियाको घटना रूसलाई कमजोर पार्ने व्यापक योजनाको सबैभन्दा कमजोर कडी थियो। उनका अनुसार असदको पतन बाइडेनले ट्रम्पलाई फसाउन तयार पारेको चाल थियो।
सिरियाको स्थिति वास्तवमा सार्है पीडादायक छ। यो मुलरुपमा वाशिङ्टन स्थित ह्वाइट हाउसका वैश्विकतावादीहरूको योजना 'बी' थियो। उनिहरुले जहाँ-जहाँ रुसको रणनीतिक चासो छ,जस्तो कि जर्जिया, मोल्डोभा, आर्मेनिया, रोमानिया, सिरिया र मध्यपूर्वजस्ता स्थानहरूमा तनाव उत्पन्न गरेर त्यहाँ द्वन्द्वलाई बढावा दिन चाहन्छन। यसको उदेश्य यी रणनीतिक स्थानहरूमा रुसको स्थितिलाई एक पछाडि अर्को गर्दै कमजोर बनाउने हो। ट्रम्पको विजय र वाशिङ्टनमा नयाँ प्रशासनको सम्भावनाले वाइडेन प्रशासनलाई सताइरहेको छ। जसको कारण रुसलाई कमजोर बनाउने सम्पूर्ण योजनाहरूलाई उनीहरुले तीव्र पारिरहेका छन्। ट्रम्पलाई असफल बनाउने र जालमा पार्ने उद्देश्यले वाशिङ्टनले अहिले रुसको क्षेत्रीय महत्त्वलाई कम गर्न आफ्ना प्रयासहरू तीव्र पारेका छन्। यदि रुस आफ्नो क्षेत्रीय चासो र आफ्ना सहयोगीहरूको चासोलाई सुनिश्चित गर्न कमजोर र अस्थिर देखिएको खन्डमा, यसले ट्रम्पलाई भ्रमित पार्न सक्छ। जसले गर्दा उनले रुसलाई द्वितीय क्षेत्रीय शक्तिको रूपमा गलत रुपमा बुझी व्यवहार गर्ने गलत बाटोमा लैजान सक्छ। मेरो विचारमा यो नै सम्पूर्ण सिरियाको स्थिति पछाडिको निहित योजना हो।
सिरिया यो शृङ्खलाको सबैभन्दा कमजोर कडी थियो। यसपटक, वैश्विकतावादीहरू र इजरायलले आफ्ना सबै कार्डहरू, सबै दबाब र सबै सम्भावनाहरू सिरियामै लगानी गरे। ताकि एकैचोटि असदविरुद्ध प्रहार गर्न सकियोस्। सम्भवतः भ्रष्ट सिरियाली सेनाले पश्चिमसँग केही गोप्य सम्झौताहरू गरेका थिए। सायद असद परिवारका केही सदस्यहरू पनि उनिहरुसँग संलग्न थिए। उनीहरूको लक्ष्य भनेको रूसलाई सिरियाबाट बाहिर निकाल्ने र असदलाई सत्ताच्युत गर्ने थियो। इरानीहरूलाई सिरियाबाट खेद्ने, र कमजोर सिरिया मार्फत इजरायललाई समर्थन गर्ने थियो। यसको उदेश्य ट्रम्पको आँखामा रूसको छवि परिवर्तन गर्ने हो।
अहिले, बाइडेनको अन्त्यकालीन कार्यकालमा रहेको अन्तरिम सरकारका वैश्विकतावादीहरूले रूस र अमेरिका बीचको सम्बन्धलाई सामान्यीकरण हुनबाट रोक्नका लागि रूसलाई यथासम्भव क्षति पुर्याउने प्रयास गरेका छन्। म भन्न सक्छु कि उनीहरूले अल कायदा, आईएसआईएस, कुर्दहरू र सिरियाली सेनाका गद्दारहरू प्रयोग गरेर असदको सरकारविरुद्धको द्वेषपूर्ण आन्दोलनलाई सक्रिय पारे र त्यसैको आधारमा सफलतापूर्वक असदलाई सत्ता च्युत गरेका छन्। । वैश्विकतावादीहरूको यो योजना करिब १० वर्षभन्दा पहिले अरब स्प्रिङ सुरु भएदेखि नै चलिरहेको थियो। उनीहरूको उद्देश्य सबै परम्परागत नेताहरूलाई सत्ताच्युत गर्नु थियो। जुन ट्युनिसिया र पछि इजिप्टमा सफल भयो। उनीहरूले लिबिया र इराकमा हालसम्म सोही योजना मुताविक गृहयुद्धहरू उक्साइरहेका छन्। सिरिया, रूस र चीन सधैं उनीहरूको लक्ष्यको सूचीमा छन। रूस र चीनले संयुक्त रूपमा सिरियालाई सहयोग गरे। रूसले सैन्य सहयोग गरेको छ भने चीनले आर्थिक रूपमा सहयोग गरिरहेको थियो। असदको धर्मनिरपेक्ष शासनलाई जोगाउन, नरसंहार रोक्न साथै जातीय र धार्मिक अल्पसंख्यकहरूको विनाश रोक्न अहम् भुमिका खेलेको थियो। जुन कार्य हामिले यो १० वर्षभन्दा बढी समयसम्म सफलतापूर्वक गरिरहेका थियौं।
अब अन्ततः, वैश्विकतावादीहरूले शत्रु शक्तिहरू बीचको समन्वयलाई सफलतामा परिणत गरेका छन्। म भन्न चाहन्छु, यो ठूलो क्षति हो। तर यो हाम्रो लागि युक्रेन जस्तो अस्तित्वगत क्षति भने होइन। हामी युक्रेनमा अन्तिम साससम्म लड्नेछौं। सिरिया यति उच्च प्राथमिकताको विषय होइन। तथापि, यो बहुध्रुवीय विश्व र मध्यपूर्वमा हाम्रो रणनीतिक स्थितिको हिसाबले निकै महत्त्वपूर्ण छ। यसले त्यहाँका नागरिकहरूलाई दिइने मानवीय सहयोगमा ठूलो प्रभाव पारेको छ।
अब के हुने हो भनेर म मुश्किलले कल्पना गर्न सक्छु। पक्कै पनि, शत्रुतापूर्ण समूहहरूबीचको लडाइँ सुरु हुनेछ। सिरियाको नागरिक समाज, अल्पसंख्यकहरू जस्तै इसाई र शिया समुदाय सबै खतरामा छन्। सिरियामा डरलाग्दा घटनाहरू हुनेछन्। हामीसँग अब सिरियाली जनतालाई मद्दत गर्ने शक्ति छैन। हामीले सकेसम्म सबै प्रयास गर्यौं। हामीले यो प्रहारलाई प्रहारको रूपमा स्वीकार गर्नुपर्छ। पीडालाई पीडाको रूपमा र क्षतिलाई क्षतिको रूपमा। यो अस्तित्वको दुःखद पक्ष हो। तर हामीले यस दुःखान्तबाट पाठ सिक्नुपर्छ। मेरो विचारमा यो घटनाले वैश्विकतावादीहरूको मानव विरोधी एजेन्डा र विश्व वर्चस्वको सोचलाई अनिवार्यरूपमा अझ छिटो पराजयतर्फ धकेल्नेछ।
म सोच्दछु कि रूस, चीन, भारत र हाम्रो बहुध्रुवीय संसारका अन्य ध्रुवहरूले हाम्रो संसारमा न्याय र वास्तविक लोकतन्त्र ल्याउन अझ धेरै प्रयास गर्नुपर्छ। सबै अल्पसंख्यकहरूलाई कट्टरपन्थी उग्रवादी आतंकवादी विचारधारा र कार्यबाट बच्न बचाउन सहयोग गर्नुपर्छ।
मध्यपूर्वमा छोटो अवधिका लागि म कुनै समाधान देख्दिनँ। परिस्थिति झन् जटिल हुँदै गम्भीर बिन्दुमा पुग्नेछ। सिरियामा हामीले उनीहरूको समाजलाई बचाउने प्रयास गर्यौं। तर हामी असफल भयौं। हामीले स्वीकार गर्नुपर्छ कि यसले अन्य मोर्चाहरूमा वैश्वीकरणविरुद्धको हाम्रो संघर्षलाई असर गर्नेछ। यदि ट्रम्पले आफ्नो कार्यकाल सुरु गर्नु अघि वाशिङ्टनबाट दूरी कायम राख्न सके भने, उनले केही हदसम्म वैश्वीकरणको एजेन्डालाई सन्तुलनमा राख्न सक्ने सम्भावना छ। तर त्यही समयमा इजरायल र नेतन्याहु, बेन गभिर, बेजालेल स्मोट्रिच जस्ता इजरायली कट्टरपन्थी समूहहरूप्रति ट्रम्पको पूर्ण निष्ठा परिस्थितिलाई अझ कठिन बनाउन सक्छ। अब कुनै कुरा निश्चित छैन।
अहिले, विश्व अशान्ति र रक्तपातपूर्ण अराजकताको अवस्थामा छ। यो मध्यपूर्वमा मात्र सीमित छैन। हामीले देशहरू, राष्ट्रहरू, जातीय समूहहरू, धर्महरू बीच वैकल्पिक सम्बन्ध स्थापना गर्ने कुरामा नेतृत्व लिनुपर्छ। तर पश्चिमले गरिरहेको भन्दा फरक तरिकाले। पश्चिमले मानवतालाई नेतृत्व दिन सक्दैन। यसले द्वन्द्व सिर्जना गर्न, युद्ध सुरु गर्न र नष्ट गर्न सक्छ। तर यसले निर्माण र सृजना गर्न सक्दैन। उनीहरूले केही पनि रचना गर्न सक्दैनन् तर, उनिहरुमा नष्ट गर्ने क्षमता भने अत्यन्त विशाल छ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली