सभ्यतागत राज्यको रूपमा रूस, चीन र भारतको उदय
प्राथमिक टैब्स

अलेक्जेन्डर दुगिनले यस लेखमा उल्लेख गरेका छन् कि भ्लादिमिर पुटिन, सी जिनपिङ र नरेन्द्र मोदी प्राचीन सभ्यतागत राज्यहरूका प्रतिनिधि हुन्। यीनीहरुले अहिले आफ्ना मौलिक मूल्य प्रणालीहरूभित्र रहेर आफ्नो सार्वभौमिकता स्थापित गरिरहेका छन्।
हाम्रा सबै राष्ट्रहरू समान छैनन्: केहीले जनसांख्यिकीय दृष्टिकोणले लाभ उठाएका छन्, केहीले आर्थिक वृद्धिमा, केहीले भू-राजनीति दृष्टिले, केहीले प्राकृतिक स्रोतसाधन, शस्त्रास्त्र वा प्रविधिमा। तर यीनीहरू सबै आफैमा स्वनिर्भर छन्। यी तीन स्वतन्त्र ध्रुवहरू हुन् । यही हो बहुध्रुवीयता। प्रत्येकको केन्द्रमा आफ्नै धर्म, पहिचान, संस्कृति र अत्यन्तै लामो इतिहास निहित छ। यसले सभ्यतागत पहिचानको क्षेत्रमा अपार महत्व बोकेको हुन्छ।
रूसले अहिले आफूलाई पश्चिमको अंशका रूपमा होइन, बरु स्वतन्त्र रूसी संसारको केन्द्रका रूपमा बुझ्न थालेको छ। यही प्रक्रिया भारत र चीनमा पनि भइरहेको छ।
चिनियाँ पहिचानको मूलमा कन्फ्युसियसद्वारा प्रतिपादित चिनियाँ साम्राज्यको विचार निहित छ। माओवाद र देङ शियाओपिङको उदारवादी समाजलाई पश्चिमसँग टक्कर दिन सक्षम बनाउन आधुनिकिकरणका उपाय थिए, तर मूल सार भने अपरिवर्तित थियो। चीन अझै पनि आफ्नै सिद्धान्त र तत्त्वज्ञानलाई अटल रूपमा कायम राख्दै अाएकाे छ।
भारतमा नरेन्द्र मोदीले पनि रूढीवादी भारतीय जनता पार्टीको उदयसँगै, आफूलाई पश्चिमको विपक्षी शक्ति भनेर वैदिक सभ्यताको आधारमा बुझ्न थालेको छ। मोदीले भारतीय चेतनाको उपनिवेशमुक्तिको बाटो समातेका छन् र यसलाई दृढतापूर्वक अघि बढाइरहेका छन्। किनकि, उनी जान्दछन् पश्चिमी प्रणाली भारतीय समाजसँग मेल खाँदैन। जो भारतीय सभ्यतागत संरचनाको बिपरित सिद्धान्तहरूमा आधारित छ।
रूसी सभ्यता इन्डो–युरोपेली समाजको गहिराइसम्म पुग्छ, सरमाटियन र स्किथियनहरूको युगमा, जब स्लाभहरूको उदय भयो। तर हामी त्यतिबेला मात्र साँचो सभ्यताको रूपमा स्थपित भयौं, जब हामीले ख्रिष्टियन धर्म र बाइजेन्टिन परम्परा (जसमा ग्रीक–रोमन सम्पदा समाविष्ट छ) ग्रहण गर्यौं। हामी इन्डो–युरोपेली सांस्कृतिक संहिताका उत्तराधिकारी हौं।
११औँ शताब्दीमा चर्चहरूको महान् विभाजन पछि हाम्रो मार्ग पश्चिमबाट अलग भयो। हामी अहिले पनि त्यहि संहिता बोकेर निरन्तर अघि बढिरहेका छौ। जबकि पश्चिम त्यसबाट टाढा गयको थियो। आधुनिक युगमा पश्चिमले आफ्नो मौलिक सारभूत तत्व तोड्दै, ख्रीष्टविरोधी र रोमनविरोधी आधारमा सभ्यता निर्माण गर्यो। हामीले भने, १८औँ र २०औँ शताब्दीका केही विचलनहरू हुँदाहुँदै पनि, सन्त राजकुमार भ्लादिमिरले हामीलाई जुन ओर्थोडक्स विश्वासमा बप्तिस्मा दिएका थिए, त्यसको वाहक बनेर रहिआएका छौं।
कोन्स्टान्टिनोपलको पतनपछि, हामी कानूनी परम्पराका एकमात्र उत्तराधिकारी भयौँ। आर्थोडक्स विश्वासको दृढ रक्षाकवच बन्ने जिम्मेवारी हामीमाथि नै आयो। हामीलाई "तेस्रो रोम" भनिएको कुरा कुनै संयोग होइन। हामी केवल हजार वर्ष पुरानो परम्पराका उत्तराधिकारी मात्र होइनौँ, बरु पर्सिया र बाबेलोनसम्म फैलिएको अझ गहिरो ऐतिहासिक सम्पदाका पनि वारिस हौँ। जसको उल्लेख कोन्स्टान्टिन मालोफेभले आफ्नो पुस्तक एम्पायर मा गरेका छन्। विगत पाँच सय वर्षदेखि हामी रसियालीहरूले साम्राज्यको मुकुट बोकेर, पश्चिमले त्यागेको सभ्यताको रक्षा गर्दै आएका छौँ।
हामी पश्चिमका हिस्सा होइनौँ; बरु, पश्चिम हाम्रो विकृत रूप हो। उनीहरू हाम्रो सभ्यताबाट अलग भए, तर हामी त्यसप्रति अहिले पनि निष्ठावान् रहिआएका छौं। उनीहरू नरकमा भट्किएका उच्छृङ्खल पुत्र हुन्। हामी भने हाम्रो प्राचीन संस्कृतिका वाहक हौँ। जसरी चिनियाँहरू र भारतीयहरू आफ्ना संरक्षक छन्।
कम अनुकूल युगहरू बितेपछि, हामी (पुनर्जन्म लिएका तीन सभ्यता–राज्यहरू) आफ्नै सारको गहिराइलाई चिन्न पुगेका छौं र पुनः एकत्रीत भएका छौं। हाम्रा सामु अब एक साझा शत्रु उभिएको छ: त्यो हो पश्चिम। यदि ट्रम्पले आफ्नो लक्ष्यअनुसार वैश्विकतावादीहरूको प्रभुत्वलाई जित्न सकेको भए, उनी अर्को सार्वभौम ध्रुव बन्न सक्थे। तर उनी असफल भए।
बहुध्रुवीय विश्वका तीन ध्रुव पहिले नै अवस्थित छन्। तर बहुध्रुवीय विश्वको क्लब खुला छ। शाङ्घाई सहयोग संगठनभन्दा फराकिलो ढाँचामा रहेको ब्रिक्समा इस्लामिक, अफ्रिकी र ल्याटिन अमेरिकी संसारका लागि स्थान छ। पश्चिमले हामीमाथि जति बढी आक्रमण गर्छ, हामी त्यति नै एक–अर्कासँग निकट पुग्नेछौ। ट्रम्पले पनि आफ्नो अंशीय भूमिका निर्वाह गरेका छन्। उनको दबाबकै कारण भारत हामीसँग जोडिएको छ र यो प्रक्रिया अब अझ अपरिवर्तनीय भएको छ।
यहाँ केही परलौकिक संकेत छ। हामीले अहिले आफ्नो अस्तित्व र भाग्यलाई विगत तीन सय वर्षमा कहिल्यै नबुझिएजस्तो तीव्रतापूर्वक महसुस गरेका छौँ। यही कुरा चिनियाँ र भारतीयहरूमा पनि सत्य ठहरिन्छ। उपनिवेश बनेको भारत अहिले मात्र साँच्चिकै जागिरहेको छ, जसरी चीन आफ्नो कन्फ्युसियाली मूलमा पुनः फर्किरहेको छ। आरम्भमा जे थियो,
अन्त्यमा पनि त्यहीँ प्रकट हुन्छ।
हामी सभ्यतागत–राज्यहरूको युगमा प्रवेश गर्दैछौँ, भने पश्चिमले आफ्नो प्रभुत्व कायम राख्न खोज्दा ढलिरहेको छ। सबैका लागि प्रस्ट भइसकेको छ, पश्चिमको प्रभुत्व अन्त्य भएको छ।
यही नै यसको मूल सार वा मर्म हो।
अनुवाद: मोहनप्रसाद ज्ञवाली