शान्तिका लागि चार वा पाँच अतिरिक्त क्षेत्रहरू
Primary tabs

कुर्स्क क्षेत्रमा राष्ट्रपति पुटिन सैनिक पोशाकमा उपस्थित हुँदै रूसी सेनाका प्रधानसेनापति, जनरल गेरासिमोभसँग फ्रन्ट्लाइनमा उपस्थित हुनुले रुस कुनै सम्झौता स्वीकार नगरी निर्धारित लक्ष्य प्राप्त गर्न आफ्नो विशेष सैनिक अभियान जारी राख्ने कुरामा स्पष्ट रहेको सङ्केत गर्दछ।
यो एक दृढ संकल्प, प्रवल इच्छाशक्ति, एकाग्रता र प्रतिबद्धताको प्रतीक हो। यसले कुर्स्क क्षेत्रको मुक्तिमा रसियाले हासिल गरेको सफलतालाई पनि उजागर गर्छ। अझ त्यसभन्दा बढी, उनले यो यो स्पष्ट गरेका छन् कि, यो मुक्ति अन्तिम चरण होइन—बरु एक सुरक्षा क्षेत्र (बफर जोन) स्थापना गरिनेछ, जसको विस्तार राष्ट्रिय हितको आवश्यकताअनुसार सुमी क्षेत्रसम्म फैलन सक्छ। सम्भवत: सम्पूर्ण सुमी क्षेत्र वा त्योभन्दा अझ ठूलो भूभाग पनि।
कुर्स्क क्षेत्रको मुक्तिको लागि परिचालित गरिएको "उत्तरी" सेना अब केवल सीमावर्ती सेना मात्र रहेन। वस्तुतः, यो एक सम्पूर्ण मोर्चा बनेको छ। जसले आफ्नो लक्ष्यहरू प्राप्त गरेको छ। कुर्स्क क्षेत्रको भूभागमा प्रवेश गरेको युक्रेनी सशस्त्र सैन्यबललाई विराट पराजय भोग्न बाध्य पारेको छ। यी सैन्य शक्तिहरू त्यहाँ केन्द्रित गरिएका छन्, अब सम्पूर्ण मोर्चालाई कमजोर पार्नुको सट्टा, रणनीतिक रूपमा स्थिर राख्दै परिचालन गरिएको छ। तिनीहरू पुनःस्थापित गरिएका होइनन्; बरु, विशेष रूपमा यही उद्देश्यका लागि सृजना गरिएका हुन्। अर्को शब्दमा, हामीसँग यस दिशामा पूर्ण युद्धका लागि निर्माण गरिएको, उत्कृष्ट समन्वयित विजयी सेना छ।
र सैनिक पोसाकमा रहेका पुटिनले सुमी क्षेत्रको सिमानामै उपस्थित भएर यो स्पष्ट गरेका छन् कि 'निर्धारित लक्ष्यहरू प्राप्त नहुन्जेल विशेष सैन्य अभियान जारी राख्ने रूसको प्रतिबद्धता अटल छ। अपरिवर्तनीय छ।'
मलाई विश्वास छ कि आज मस्को आइपुगेका ट्रम्पका विशेष दूत विटकोफसँगको वार्ता फलदायी हुनेछ। हामी अमेरिकी पक्षको प्रस्ताव ध्यानपूर्वक सुन्नेछौं। अन्ततः, हामी वास्तवमै अमेरिकासँग प्रत्यक्ष युद्धमा छौं। उनीहरूले आफ्ना प्रतिनिधि जेलिन्स्कीलाई कसरी व्यवस्थित गर्छन् भन्ने उनीहरूको आन्तरिक विषय हो। उनीहरुको विचार हाम्रा लागि चासोको विषय होइन, जुन कुरा पुटिनले पटक–पटक दोहोर्याएका छन्। तर अमेरिकी धारणा हामीलाई महत्त्वपूर्ण छ, किनकि लडाइँ त उनिहरुसँग नै भइरहेको छ।
यदि संयुक्त राज्य अमेरिका शान्तितर्फ अग्रसर हुन चाहन्छ भने, हामी उनीहरूलाई यस विषयमा हाम्रो दृष्टिकोण प्रस्तुत गर्नेछौँ र उनीहरू आफ्ना परिकल्पना राख्नेछन्। यो आफैमा एक सकारात्मक प्रगति हुनेछ। उनीहरूले हाम्रो विचारलाई ग्रहण गर्छन् वा गर्दैनन् उनीहरू कुरा हो, तर पुटिनले भने वार्ताको क्रममा आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नेछन्। हाम्रो मान्यता युक्रेनमा सत्तापरिवर्तन र कम्तीमा हाम्रो संवैधानिक भूमिको स्पष्टता हो। साथै, मेरो विचारमा युक्रेनका अन्य चार वा पाँच क्षेत्रहरूलाई नाजी प्रभावबाट मुक्त गर्ने विषय समेत संलग्न हुनु महत्त्वपूर्ण रहनेछ।
संक्षेपमा भन्नुपर्दा, सैन्य पोशाकमा रहेका पुटिन, विजयउन्मुख रूसी सेनाको पृष्ठभूमिमा, एउटा विशेष सूत्र, प्रतीकचिह्न, र सङ्केतजस्तै देखिन्छन्, जसले अमेरिकासँगको वार्ता संरचनाबद्ध हुने तरिका संकेत गर्छ। अर्कातिर, ट्रम्प बलियो तर्क प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्। उनले युक्रेनलाई पुनः सहायता उपलब्ध गराएका छन्। जसअन्तर्गत गुप्तचर सूचना तथा हतियार प्रदान गरिरहेका छन्। सैन्य दृष्टिकोणले हेर्दा, यो आक्रामक र शक्तिशाली कदम हो, तर राजनीतिक रूपमा, उनी यहाँ कमजोर देखिएका छन्। यो एक त्रुटि हो, किनभने प्रत्येक कठोर चाल वास्तविक शक्तिको प्रदर्शन हुँदैन। किनकि पुटिन आफ्नो तरिकाले बलप्रयोग गरेर प्रतिक्रिया जनाउँछन्।
हामी पहिले नै अन्तिम क्षणसम्म अमेरिका विरुद्ध लड्दै आएका छौं। तर यदि ट्रम्पले अझ गम्भीर रूपमा लड्ने संकेत दिन चाहन्छन् भने, यसले उनको आफ्नै नीतिलाई पूर्णतः खण्डन गर्छ र उनलाई एक अवरुद्ध मार्गतर्फ अग्रसर गराउँछ। तर, यसका लागि हामी पूर्ण रूपमा तयार छौं। पुटिनले स्पष्टरुपमा देखाइरहेका छन् रूस पूर्ण रूपमा परिचालित छ। नयाँ सेनाहरू गठन भइरहेका छन्। नयाँ सैन्य शक्तिहरू एकत्रित भइरहेका छन्। हामी रणनीतिक रूपमा लड्न, अगाडि बढ्न र विजय प्राप्त गर्न सिकिरहेका छौं। हामी राष्ट्रिय एकता र हाम्रो संघर्षशील आत्मालाई पुनःस्थापित गरिरहेका छौं।
त्यही कारणले पुतिनले कुर्स्क क्षेत्रमा सैन्य वर्दीमा उपस्थिति भएर उनको पहिलेको यस बयानको निरन्तरता दिए — 'रूसले हालसम्म गम्भीरतापूर्वक लडाई सुरु गरेकै छैन। तर अब — हामी सुरु गर्नेछौं।
अनुवाद: मोहनप्रसाद ज्ञवाली
सारांस:
अलेक्जेण्डर दुगिनले कुर्स्कमा पुटिनको उपस्थितिलाई रूसको अटल संकल्पको प्रतीकका रूपमा ब्याख्या गरेका छन्। उनले यस लेखमा रुस सुमीबाट अगाडि बढ्ने, संयुक्त राज्य अमेरिका समक्ष आफ्ना सर्तहरू स्पष्टरुपमा राख्ने, युक्रेनमा शासन परिवर्तनको प्रयासको साथ अन्य चार वा पाँच क्षेत्रहरूको नाजीहरुबाट मुक्ति सुनिश्चित गर्ने अभिप्राय राखेका छन्।