ट्रम्प अझै अगाडि बढ्छन्
Primary tabs

अलेक्जेन्डर दुगिनले यस लेखमा ट्रम्पका प्रभाव विस्तारका प्रमुख साधनहरू उजागर गरेका छन्।
डोनाल्ड ट्रम्पद्वारा अमेरिकी ग्लोबल मिडिया एजेन्सी (USAGM) को विघटन एक अत्यन्त महत्वपूर्ण घटना हो। जसको महत्त्वलाई कम आकलन गर्न सकिँदैन। तर, यो किन भयो? सबैभन्दा पहिले यो बुझ्नु जरुरी छ कि, ट्रम्प आफ्नो दोस्रो कार्यकालमा केवल सफल राजनीतिज्ञमात्र होइनन् कि उनी अझ बढी वैकल्पिक रणनीतिको प्रतिनिधित्व गर्छन्। यो रणनीति अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वविरोधी र यथार्थवादमा आधारित हो।
ट्रम्पका लागि विशेष गरी संयुक्त राज्य अमेरिका एक राष्ट्र-राज्यको रूपमा अमेरिकी हितहरू मात्र महत्त्वपूर्ण छन्। उनले अमेरिकालाई विश्वव्यापी रूपमा उदार प्रजातन्त्र प्रवर्द्धन गर्ने उपकरणको रूपमा प्रयोग गर्ने विचारलाई स्पष्ट रूपमा अस्वीकार गर्दछन्। उनलाई अन्य देशहरूमा उदार प्रजातन्त्रको अस्तित्व छ वा छैन भन्ने कुरामा कुनै चासो छैन। उनको एकमात्र चिन्ता संयुक्त राज्य अमेरिकाको भविष्य हो।
यस दृष्टिबाट, उदार-लोकतान्त्रिक मूल्यहरू र विश्ववादी एजेन्डा प्रवर्द्धन गर्ने उद्देश्य राख्ने विश्वव्यापी सञ्चारमाध्यमहरूका लागि ट्रम्प नाफारहित, अर्थहीन र यहाँसम्म कि शत्रुतापूर्ण इकाइका रूपमा देखिन्छन्। आखिर, यी सञ्चारमाध्यमहरूले उनका विपक्षीहरू उदारवादीहरू, वैश्वीकतावादीहरू र 'डीप स्टेट' का कथाहरू प्रसारित गर्छन्। यही कारणले गर्दा उनले आफूले अनावश्यक, अपव्ययी र राजनीतिक रूपमा प्रतिकूल देखेका कुराहरूलाई विघटन गर्दैछन्। अर्को शब्दमा, उनी पूर्णतः तार्किक र अर्थपूर्ण कार्य गर्दैछन्। आफ्नो महान शक्ति राजनीतिका दृष्टिकोणअनुसार अमेरिकालाई पुनःआकार दिँदैछन्।
यस घटनाको व्यापक महत्त्वको सन्दर्भमा, हामीले सम्झनुपर्छ कि व्यक्तिको वातावरण भनेको भाषा नै हो। अरस्तुले मानिसलाई '(zōon logon echon) अर्थात् 'तर्कसंगत प्राणी' वा 'भाषा प्रयोग गर्ने प्राणी' भनेका छन्। यो हाम्रो पहिचानको विशेषता हो। भाषा, शब्दले मानव संसारको निर्माण गर्दछ। तदनुसार, विभिन्न अधिनायकवादी विचारधाराहरूले लामो समयदेखि भाषामार्फत मानव अस्तित्वलाई नियन्त्रण गर्न खोजेका छन्। यस्तो नियन्त्रणका प्रमुख उपकरणहरूमध्ये एक हो प्रचार। आदर्शवादी रूपमा उन्मुख सबै मिडिया जसको एउटामात्र उदेश्य विमर्श सिर्जना गर्ने हुन्छ, जसले गर्दा मानिसहरू रहेको भाषिक क्षेत्रलाई रूपान्तरण गर्दछ।
माध्यमहरू शक्तिका उपकरणहरू हुन्। तिनीहरूलाई "चौथो अंग" भनिन्छ, जुन संयोग मात्र होइन, तिनीहरूले संवादलाई नियन्त्रण गर्छन्, कथानकहरू निर्माण गर्छन् र यसरी, भाषिक वास्तविकता सिर्जना गर्छन् जसले जनताको प्राकृतिक वातावरणको रूप लिन्छ। यस माध्यमबाट, तिनीहरूले समाजमा प्रभाव पार्छन्। यसमा नयाँ केही छैन; वैश्वीकरण समर्थकहरूले दशकौंसम्म आफ्नो विचारधारा अघि बढाउन आफ्ना नियन्त्रणमा रहेका माध्यमहरूको उपयोग गरेका छन्।
आज, ट्रम्प मिडियाक्रसी विरुद्ध युद्ध गर्दैछन् भन्नु भन्दा पनि, उनी विश्व व्यवस्थाको आफ्नो दृष्टिकोणसँग बाझिने यसको पक्षहरूलाई विघटन गर्दैछन्। यसमा कुनै आश्चर्यको कुरा छैन। "स्वतन्त्र मिडिया" को कुरा गर्नेहरू केवल झूट बोलिरहेका छन्। यो एक उदारवादी क्लिच हो जसले कुनै पनि रूपमा वास्तविकतालाई प्रतिनिधित्व गर्दैन। प्रत्येक मिडिया आउटलेटको एउटा मार्गदर्शक प्राधिकरण हुन्छ। सबै मिडियाहरूले विशेष विचारधारात्मक परिप्रेक्ष्यलाई सेवा गर्छन्, जुन उनीहरूको वित्तीय स्रोतमा निर्भर गर्दछ।
अर्को शब्दमा, प्रत्येक सञ्चार संस्था आफ्नो "वैचारिक मालिक" को अधीनमा हुन्छ। यस मालिकले सिधै सञ्चार माध्यमको सञ्चालनलाई वित्तीय सहयोग पुर्याउँछ वा उच्चस्तरीय मालिकको तर्फबाट यस वित्तीय व्यवस्थापनको निरीक्षण गर्दछ। यो न केवल परम्परागत सञ्चार माध्यममा लागू हुन्छ, तर सामाजिक सञ्जालहरूमा पनि लागू हुन्छ। तिनीहरूको स्वामित्वको आधारमा, यी प्लेटफर्महरूले विशेष विषयवस्तु, लेखकहरू, र विज्ञहरूको सान्दर्भिकता, स्वीकृत्यता वा निषेधको लागि आफ्नै मापदण्डहरू स्थापना गर्छन्।
यसरी, यस घटनाक्रममा कुनै असाधारण कुरा छैन। भ्वाइस अफ अमेरिका, रेडियो फ्री युरोप/रेडियो लिबर्टी र अन्य वैश्वीकतावादी सञ्चार संस्थाहरूको बन्द हुनु ट्रम्पको भाषिक परिदृश्य र विश्वको भू-राजनीतिक यथार्थलाई फरक दिशामा पुनःआकार दिने योजनाक एक हिस्सा मात्र हो। हामीले यसलाई शान्तिपूर्वक सामना गर्नुपर्छ। हाम्रो आफ्नै सभ्यतागत विमर्शलाई सुदृढ पार्नमा ध्यान केन्द्रित गर्दै त्यसको सुनिश्चिता गर्नुपर्छ कि हाम्रो सञ्चार माध्यमहरूले रूसी अर्थहरू र रूसी परिप्रेक्ष्यलाई सेवा गरून्। चाहे राज्यद्वारा सञ्चालित होस् वा निजी, मुख्य कुरा यो हो कि विमर्श रूसी नै हुनुपर्छ।
त्यसैगरी, अब अमेरिकामा अमेरिकाविरोधी वा वैश्वीकतावादी प्रवृत्तिको चर्चाको कुनै स्थान छैन। ट्रम्पले यसलाई आफ्नो कार्यद्वारा प्रमाणित गरिरहेका छन्। विषाक्त सञ्चारमाध्यमलाई बन्द गर्ने यो उत्कृष्ट उदाहरण हामीलाई पनि अत्यन्त सान्दर्भिक छ। वास्तवमा, हामी पनि क्रमशः यस्तै उपायहरू लागू गर्दैछौं।
अनुवाद: मोहनप्रसाद ज्ञवाली