अमेरिकामा 'लिबरल' शब्द गाली (अपमानजनक)को रूपमा प्रयोग हुँदैछ।
Primary tabs

डोनाल्ड ट्रम्पको राष्ट्रपति निर्वाचनमा विजय पश्चात् संयुक्त राज्य अमेरिकामा भएको घटनाक्रम, पदस्थापन प्रक्रिया तथा सत्ता हस्तान्तरणले हामीलाई त्यहाँ तीव्र रूपमा परम्परावादी क्रान्ति सम्पन्न भइरहेको संकेत दिन्छ। मूल्य प्रणाली लगभग पूर्ववर्ती दिशाको पूर्ण विपरीत दिशामा रूपान्तरित हुँदैछ। ट्रम्प र उनको टोलीले घोषणा गरिरहेका सिद्धान्तहरू तथा प्रारम्भिक कदमहरू ती सबै पूर्ण रूपमा वाम-उदारवादी विचारधारासँग विरोधाभाषमा छन्। जसले वैश्विकतावादी रणनीति, अभिमुखीकरण र कार्यहरूलाई आधार प्रदान गर्दै आएको थियो।
मूलतः आज पश्चिमी जगतभित्र गहिरो रूपान्तरण र विभाजन उत्पन्न भइरहेको छ। जसले यसलाई दुई ध्रुवमा विभाजित गरेको छ। तीमध्ये एउटा ध्रुव वाम-उदारवादी र वैश्विकवादी रहन्छ। जुन जो बाइडेन र उनका प्रायः सबै पूर्ववर्ती राष्ट्रपतिहरूबाट प्रतिनिधित्व गरिएको छ। यसमा रिपब्लिकन जर्ज डब्ल्यू. बुस जुनियर पनि समावेश छन्, जो वाम-उदारवादी एजेन्डाको कुनै वास्तविक विकल्प प्रस्तुत गर्न सकेनन्।
तर, दोस्रो ध्रुव भनेको स्वयं ट्रम्प र ट्रम्पवाद हो। यो परम्परावादी अमेरिका हो। जसले वाम-उदारवादी विचारधारालाई पूर्ण रूपमा अस्वीकार गरेको छ र यसको सट्टा दक्षिणपन्थी-परम्परावादी सिद्धान्तहरूको समर्थन गरिरहेको छ। विशेष रूपमा, यो अब मात्र दक्षिणपन्थी-उदारवादी होइन, बरु स्पष्ट रूपमा दक्षिणपन्थी-परम्परावादी बनेको छ, किनकि ट्रम्पवादी शिविरका धेरै प्रतिनिधिहरू उत्तर-उदारवादी मूल्यहरूको पक्षमा उभिन्छन् र उदारवादको स्पष्ट अस्वीकृतिको वकालत गर्छन्।
"उदारवादी" भन्ने शब्द स्वयं अमेरिकामा अपमानजनक रूपमा प्रयोग हुँदै गएको छ। यी परिवर्तनहरू यति तीव्र गतिमा भइरहेको छ कि धेरैले अहिलेसम्म पनि यी रूपान्तरणहरू पश्चिमी जगतका लागि समग्र रूपमा र विशेष रूपमा अमेरिकी समाजका लागि कति गहिरा छन् भन्ने कुरा राम्ररी बुझेका छैनन्।
वैश्विकतावादी वाम-उदारवादी मूल्यहरू परम्परागत मूल्यहरूद्वारा प्रतिस्थापित भइरहेका छन्। उदारवादी प्रगतिवादबाट रूढ़ीवाद र यहाँसम्म कि परम्परावादतर्फ परिवर्तन भइरहेको छ। वास्तवमा ट्रम्प र उनका समर्थकहरू रूसले घोषणा गरेको मूल्य प्रणालीसँग निकट रूपमा मेल खाने मान्यताहरू प्रवर्द्धन गर्दैछन्। यस सन्दर्भमा, परम्परागत मूल्यहरूबारे पुटिनको डिक्री नं. ८०९, विकृति र लैङ्गिक राजनीतिका प्रचारमा रूसले लगाएको प्रतिबन्ध, देशभक्तिको महत्त्व, आध्यात्मिक पक्षलाई भौतिकताभन्दा प्राथमिकता दिनुपर्ने धारणा, तथा अन्य धेरै मौलिक सिद्धान्तहरू अहिले ट्रम्पद्वारा लागू गरिँदैछन्।
असाध्यै उल्लेखनीय कुरा के हो भने, यी परिवर्तनहरू उनले निकै तीव्र रूपमा कार्यान्वयन गरिरहेका छन्। धेरै समयअघि मात्र यस्ता विचार राख्नेहरू पूर्णरूपमा बहिष्करणमा परेका थिए, तथाकथित "रद्द संस्कृति" अन्तर्गत तिरस्कृत गरिन्थे र “अति-दक्षिणपन्थी,” “फासिवादी” जस्ता उग्र शब्दहरूले बदनाम गरिन्थ्यो। तर ट्रम्पको उदयपछि, उनीहरू अचानक राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा पुगेका छन्। अमेरिकी समाजभित्र दक्षिणपन्थी रूढ़ीवादीहरू र परम्परावादीहरू को समर्थन अत्यन्त व्यापक छ। ट्रम्पको पहिलो कार्यकालको तुलनामा, अहिले यो प्रवृत्ति एउटा महत्वपूर्ण सामाजिक-राजनीतिक धारका रूपमा विकसित भइसकेको छ।
हाम्रा लागि, रुसीहरूका रूपमा, यस उदयमान परिस्थितिमा कसरी अघि बढ्ने भन्ने कुरा बुझ्नु अत्यन्त महत्वपूर्ण छ। हाम्रो सभ्यतागत पहिचानका एक प्रमुख पक्ष—विश्वव्यापकताप्रति हाम्रो चुनौती—एक अर्थमा अहिले ट्रम्पपन्थीहरूले आत्मसात् गरिरहेको देखिन्छ। यस परिप्रेक्ष्यमा, संयुक्त राज्य अमेरिकामा देखा परिरहेका तीव्र, निर्णायक, विलक्षण र साहसिक परिवर्तनहरूको बीचमा, हामी अब अग्रगामी वा मार्गप्रदर्शकको रूपमा देखिँदैनौँ।
हो, हामी यस क्षेत्रमा आफ्नो नेतृत्व परित्याग गरिरहेका छैनौँ। किनभने यो हाम्रो सबैभन्दा बलियो विशेषतामध्ये एक रहिआएको छ: परम्परागत मूल्यहरूको उद्घोष, लैङ्गिक राजनीतिका अस्वीकार, र पछिल्ला वर्षहरूमा रुसले अवलम्बन गरेका अन्य धेरै सकारात्मक तथा महत्त्वपूर्ण पहलहरू। तथापि, हामीले आफ्नै पहिचान, परम्परागत मूल्यहरू, र रूढीवादी आदर्शहरूमा जीवन्तता तथा गतिशीलता प्रदान गर्न असफल भएका छौँ।
हाम्रो प्रक्रिया लामो, अनिश्चित र निरन्तर पछाडि हट्ने, सम्झौता गर्ने र उदारवादलाई स्वीकार गर्ने प्रवृत्तिले भरिएको छ। साथै, हाम्रो उच्च वर्गको महत्वपूर्ण हिस्साले परम्परागत मूल्यहरूको पक्षमा भएको नीतिगत परिवर्तनलाई अस्थायी र औपचारिक रूपमा लिएको देखिन्छ। जसलाई चाँडै समाप्त हुनेछ भन्ने आशा गरिएको छ।
यसकारण, आज हाम्रो गहिरो रूढीवादी परिवर्तन धमिलो र अनिश्चित देखिन्छ। जस्तो कि यो आधा मनले र अस्पष्ट रूपमा भइरहेको छ। वास्तविकतामा, हामीले यी विचारहरूलाई साहसपूर्वक अघि बढाउनु आवश्यक छ। तिनलाई आकर्षक र जीवन्त रूपमा प्रस्तुत गर्दै। यसमा सिर्जनात्मक सञ्चार माध्यमहरू, नयाँ टेलिभिजन कार्यक्रमहरू, बहसहरू, कलात्मक कृतिहरू र अन्य धेरै तत्वहरू समावेश गर्नुपर्छ।
हामीले कुनै कुरासँग डराउनु हुँदैन, बरु आफ्ना मूल्यहरू, चासोहरू, र आदर्शहरू दृढतापूर्वक स्थापित गर्नुपर्छ, साथै आफ्नो पहिचानको रक्षा गर्नुपर्छ। निःसन्देह, डिक्री नम्बर ८०९ लाई व्यापक रूपमा लागू गर्नुपर्ने र त्यसमा जोड दिनु सराहनीय छ। तर, यस्तो लाग्छ कि यी परम्परागत मूल्यहरूले शासक वर्गलाई अझै प्रेरित गर्न सकेका छैनन्। धेरै हदसम्म यो केवल कर्तव्यपूर्तिको रूपमा गरिएको देखिन्छ।
जसले यो जिम्मेवारी लिएका छन्, उनीहरू मध्ये केही मात्र मूल्य परिवर्तनको आवश्यकतामा विश्वास गर्छन् वा कतिपय त बिल्कुलै विश्वास गर्दैनन्। केवल सहमति जनाएझैं गर्ने मात्र छन्। यो प्रस्टै देखिन्छ—विशेष गरी जब यसलाई ट्रम्पवादका गतिशील, साहसी रूढिवादी रूपान्तरणहरूसँग तुलना गरिन्छ। यस कारण, हामीले कुनै पनि हालतमा आफ्नो गति गुमाउनु हुँदैन।
बरु, हामीले आफ्नो रूढिवादी-वैचारिक रणनीतिलाई एक नयाँ स्तरमा उकास्नुपर्छ। हामीले निर्भय भएर आफ्ना मूल्यहरू, चासोहरू, र आदर्शहरू उद्घोष गर्नुपर्छ, आफ्नो पहिचानको रक्षा गर्नुपर्छ, र रूसी जनता, हाम्रो साम्राज्य, र रूढिवादी इसाई धर्मको महत्वको बारेमा थप प्रस्ट रूपमा बोल्नुपर्छ। त्यस्तै, हामीले यस कुरामा पनि जोड दिनुपर्छ कि राज्यको मेरुदण्ड रूसी जनतासँगै हाम्रो साम्राज्यमा अन्य महान युरेशियाली राष्ट्रहरूलाई पनि सम्मानजनक स्थान दिइएको छ। साथै रूढिवादी इसाई धर्म हाम्रो प्राथमिक तथा मूलभूत धर्म भए तापनि अन्य परम्परागत धर्महरू पनि छन्।
तथापि, हामी अनवरत रूपमा झुकिरहेका छौं, माफी मागिरहेका छौं, र बहाना बनाइरहेका छौं। यो कुनै सम्मानजनक विशेषता होइन। अब यो वामपन्थी-उदारवादी, पश्चिमवादी, धर्मनिरपेक्ष, आधुनिकतावादी, र उत्तर-आधुनिकतावादी निरर्थक कुराको अन्त्य हुनुपर्छ। जुन स्वयं अमेरिकीहरूले समेत त्यागिरहेका छन्। हामी रूसी हौं; परमेश्वर हाम्रो साथ छन्! हामी आफ्ना परम्परागत मूल्यहरूलाई कायम राख्छौं, र हामीलाई कुनै पनि WHO निर्देशिका वा पूँजीवादी प्रक्रियाहरूको आवश्यकता छैन। जसले हामीलाई १९९० दशकदेखि बाँधेर राखेको छ। आउनुहोस्, हामी एक महान रूसको निर्माण गरौं, हाम्रो राष्ट्रलाई सुदृढ पारौं, र हाम्रो साम्राज्यलाई सम्पूर्ण गौरव र शक्तिसहित पुनःस्थापना गरौं। समाजलाई ग्रसित बनाउने नास्तिक प्रवृत्तिहरू, विकृति, अधःपतन, र भ्रष्टाचारलाई निर्ममतापूर्वक पराजित गर्नैपर्छ।
अब हाम्रो बल एकत्रित गर्ने समय आएको छ। हामीले आफ्नो देशभक्ति सुधारहरूलाई बल प्रदान गर्नुपर्छ र परम्परागत मूल्यहरूमा नयाँ ऊर्जा भरिदिनुपर्छ। यसका लागि, हामीलाई सत्ताधारी वर्गको परिक्रमा आवश्यक छ (शायद अमेरिकी DOGE — Department of Government Efficiency — जसलाई हाल एलन मस्कले नेतृत्व गरिरहेका छन्, त्यसको अनुरूप केही स्थापना गरेर) साथै साधारण जनताको रचनात्मक क्षमतालाई मुक्त गर्नुपर्छ। यो सम्पूर्ण राष्ट्रको लागि अपरिहार्य छ। यदि हामीले यसो गर्न सकेनौं भने, हामी आफैंसमेत पूर्ण रूपमा विश्वस्त हुन सक्ने छैनौं।
अन्यथा, हामीले हाम्रो लाभ र विशिष्ट शक्तिको उज्यालोपन, अग्रगामी स्वभाव, र सान्दर्भिकता गुमाउने जोखिम बेहोर्नु पर्नेछ। तिनीहरू पूर्ण रूपमा विलय हुने छैनन्, तर ती ओझेलमा पर्ने वा तिनले ओगट्ने खतरा रहन्छ, जो न केवल हाम्रो मित्र वा सहयोगी होइनन्, बरु उल्टै आफ्नो रूढ़ीवादी परिवर्तनको उपयोग गर्दै आफ्नो विश्वव्यापी आधिपत्य सुदृढ गर्दैछन्।
यस सन्दर्भमा, ट्रम्पवादमा हामीले कुन पक्षलाई आत्मसात् र सराहना गर्छौं र कुन तत्व अझै पनि प्रतिपक्षी शक्तिको रूपमा रहन्छ भन्ने विषयमा स्पष्ट विभाजन रेखा कोर्नु अत्यावश्यक छ। यदि ट्रम्प सफलतापूर्वक अमेरिकालाई, उनले वाचा गरेझैं, "महान" बनाउन सक्छन् भने, हामीसँग अर्को विकल्प हुनेछैन। हामीले पनि रूसको महानता पुनर्जागरण गर्नुपर्छ। हामीलाई "MAGA" जस्तो संक्षिप्त नामको आवश्यकता छैन, तर हामीले रूसको गौरवलाई सबै क्षेत्रमा पुनः जागृत गर्नुपर्छ। दीर्घ सामाजिक र सांस्कृतिक निद्राबाट ब्युँझनु पर्छ। या त हामी अहिले उठ्छौं र भविष्यतर्फ छलाङ मार्छौं, अथवा हामी कठोर परीक्षाको सामना गर्न बाध्य हुनेछौं।
अनुवाद: मोहनप्रसाद ज्ञवाली
सारांश:
अलेक्जेन्डर दुगिनको यश लेखमा अमेरिकी राष्ट्रपति ट्रम्पको अधीनमा संयुक्त राज्य अमेरिकामा भइरहेको तीव्र रुढिवादी क्रान्ति रूसको परम्परागत मूल्यतर्फको झुकावसँग मेल खान्छ, जसले बाम-उदारवादी वैश्विकतावादी एजेन्डाको प्रभुत्वलाई चुनौती दिन्छ भनी दर्शाउन खोजेका छन्।