ट्रम्पको संयुक्त राष्ट्र संघबाट बाहिरिने निर्णय र नयाँ विश्वव्यापी मार्गचित्र
Primary tabs

संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्र संघबाट बाहिरिनुपर्छ भन्ने रिपब्लिकन सांसदहरूको पहल कुनै नौलो र आश्चर्यजनक विषय होइन। अन्तर्राष्ट्रिय राजनीतिका यथार्थतासँग मेल खाने क्षमतामा संयुक्त राष्ट्रसंघ धेरै पहिले नै असफल भइसकेको छ। यो केवल एउटा काल्पनिक पीडा हो। संयुक्त राष्ट्रसंघको संरचनाले द्वितीय विश्वयुद्धपश्चात् उत्पन्न शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्दछ, जहाँ दुई परस्परविरोधी गुटहरू र गुटनिरपेक्ष आन्दोलनको उपस्थिति थियो। तर, वास्तविक अन्तर्राष्ट्रिय राजनीतिक संरचना यी दुई गुटहरू (पुँजीवादी र समाजवादी) भित्र नै केन्द्रित भएर विकसित भएको थियो।
सोभियत संघको विघटनपछि, शक्ति सन्तुलनका दुई ध्रुवमध्ये एक समाप्त भयो। त्यसबेलादेखि, संयुक्त राष्ट्रसंघ आफ्नो मौलिक उद्देश्यअनुसार सञ्चालन हुन सकेन र वास्तविक शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्न असफल रह्यो। अमेरिकाले एकध्रुवीय प्रणाली निर्माण गर्ने प्रयास गर्यो, जसअन्तर्गत संयुक्त राष्ट्रसंघलाई “फोरम” वा “लोकतन्त्रहरूको महासंघ” द्वारा प्रतिस्थापन गर्न खोजियो। यसले विश्व व्यवस्थाको एकध्रुवीय स्वरूपलाई संस्थागत बनाउने, अमेरिकी आधिपत्यलाई सुदृढ गर्ने र तिनलाई सहयोग गर्ने शक्ति राष्ट्रहरूलाई अधिनस्थ राख्ने लक्ष्य राखिएको थियो।
क्रमशः अन्तर्राष्ट्रिय कानुनमा आधारित नभएको एकध्रुवीय विश्व पनि नराम्रोसँग पराजित भयो। यसको परिणामस्वरूप, बहुध्रुवीय विश्वको संरचना निर्माण हुन थाल्यो। जसले शुरुमा BRICS समूहमार्फत आफ्नो उपस्थिति जनायो। यो संरचना अन्तर्राष्ट्रिय राजनीतिका नविन नियम र मान्यतासँग सबैभन्दा निकट छ। तर, निःसन्देह, यसले अहिलेसम्म संयुक्त राष्ट्रसंघको विकल्पको रूप लिएको छैन।
ट्रम्प प्रशासनले विश्वास गर्दछ कि अन्तर्राष्ट्रिय क्षेत्रलाई साँच्चिकै पुनर्संरचना गर्न आवश्यक छ। यसका अतिरिक्त, यसले बहुध्रुवीय दृष्टिकोणमा अघि बढ्नुपर्नेछ। तर BRICS मा निर्भर नहुने गरी। यो बहुध्रुवीयताको एकदमै फरक र वैकल्पिक मोडल हो। तथापि, कुनै पनि अवस्थामा, अमेरिकी संघको संयुक्त राष्ट्रसंघबाट बाहिर्गमन र यो संस्थाको दोस्रो विश्वयुद्धपछिको अवस्थामा नवीन पुनर्संरचना विना यसको अस्तित्वको अन्त ढिलो वा छिटो अनिवार्य छ। किनकि ट्रम्प तीव्र सुधारहरूका काम गर्दैछन्।
पश्चिमको सहभागिता बिना बहुध्रुवीयताको परियोजना पूर्ण रूपले कार्यात्मक उपकरणको रूपमा साकार हुने संभावना न्यून छ। विशेष गरी यस कुरालाई ध्यानमा राख्दै युरोपेली संघले वैश्विक दृष्टिकोण निरन्तर कायम राखिरहेको छ। त्यसकारण, वर्तमान परिप्रेक्ष्यमा, संयुक्त राष्ट्र संघबाट अमेरिकाको बहिर्गमनले यस संस्थाको अस्तित्वको इतिहासलाई अन्त्य गर्ने सम्भावना छ। हो, यो एक अवशेषको रूपमा केही समयको लागि अस्तित्वमा रहन सक्छ, तथापि यो अहिलेको अवस्थामा नै मूलत: शक्ति विहीन र निकम्मा भएको छ। यद्यपि हामी पनि यसको संरक्षणमा लामो समयसम्म दृढतापूर्वक अडिग रहने सम्भावना रहन्छ। हाम्रो यो दृष्टिकोण कूटनीतिक रूपमा सहि हो, तर यसले कुनै विशेष परिणाम दिने संभावना एकदमै न्युन छ।
हामीलाई अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अमेरिकासँग नयाँ विश्व व्यवस्थाको बारेमा वार्ता गर्नु हो। पक्कै पनि यश प्रक्रियामा हामीले चीन, भारत र अन्य राज्य सभ्यताहरूलाई पनि यस वैश्विक संरचनाको पुनरावलोकन प्रक्रियामा समावेश गर्नुपर्छ। यस आधारमा मात्र अन्तर्राष्ट्रिय सम्बन्धहरूको नयाँ मोडेल र तिनका नियमनका लागि प्लेटफर्मको रूपमा सेवा गर्ने कानूनी प्रणालीहरू निर्माण गर्न सकिन्छ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली
सारांस:
अलेक्जान्डर दुगिनले यस लेखमा संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्र संघबाट बाहिरिन चाहन्छ। अमेरिकाको संयुक्त राष्ट्र संघबाट बहिर्गमन पछिको सम्भावित नँया विश्वको अवस्था कस्तो हुनेछ भनी खुलासा गरेका छन्।