यूरेशियन महा-राष्ट्रको पुनरागमन
Primary tabs

अलेक्जेन्डर दुगिनको मतानुसार, सोभियत संघ र साम्राज्यको पतनपछि पनि यस क्षेत्रमा फेरि एउटा साझा सभ्यतागत गठबन्धनको पुनर्स्थापना अपरिहार्य छ।
जब स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (CIS) ले यश क्षेत्रमा एकीकरण पूरा गर्न असमर्थ भयो तब युरेशियन संघ (Eurasian Union) को स्थापना भयो। तर, यसको आधार केवल आर्थिक अवधारणामा सीमित थियो। राष्ट्रहरूको एकीकरण केवल आर्थिक आधारमा सम्भव नभएकोले यो अवधारणा पनि असफल भयो। अहिले सम्म केवल रूस–बेलारुस मात्र हालसम्म संघ राज्यको रूपमा आंशिक रूपमा सफल छ।
हामी अहिले यस्तो युगमा छौं, जहाँ विश्वको पुनर्संरचना सुरु भइसकेको छ। यस अवस्थामा शक्तिशाली राष्ट्रहरू मात्र आफ्नो सार्वभौमिकता कायम राख्न सक्नेछन्। साना राष्ट्रहरूले आफुलाई अहिले नै कुनै एक शक्तिशाली राष्ट्रसँग जोडिने खालको गम्भीर निर्णय गर्न बाध्य बन्दैछन्। यदि उनीहरूले यो निर्णय गर्न असफल भए, ती साना राष्ट्रहरू महाशक्तिहरूको दबाबमा पिल्सिएर नष्ट हुने खतरामा पर्ने देखिन्छ। जुन महाशक्तिहरू अहिले विश्व राजनीतिमा प्रमुख निर्णायक बन्दै गएका छन्।
यो बहुध्रुवीय विश्व हो। जुन हामीले सायदै फरक ढंगले कल्पना गरेका थियौं। यो कठोर नियमसहित कडाशैलीको छ। यदि हामीले आधारभूत आर्थिक, राजनीतिक, सैनिक, रणनीतिक, स्रोतसाधनसम्बन्धी र भू-आधारित सार्वभौमिकता हासिल गरेका छैनौ भने, तपाईंको भविष्य अन्धकारमय छ। अब कसैले न कसैको गुट रोज्नैपर्छ। अधिकांश पूर्व-सोभियत राष्ट्रहरूको लागि एउटै यथार्थपरक मार्ग भनेको एउटै युरेसियन महासंघमा समाहित हुनु हो।
यो विषय अहिले विभिन्न तहहरूमा बारम्बार छलफल भइरहेकै छ। अवश्य पनि, धेरै साना राष्ट्रहरू अझैपनि रूस र पश्चिम दुवैबाट समान दूरीमा रही केही सार्वभौम र स्वतन्त्र संरचना बनाउने दिवास्वप्नमा छन्। तर यस्ता भ्रमहरू क्रमशः मेटिंदै गएका छन्। विशेषतः हाम्रो युक्रेनमा विजयतर्फको अन्तिम स्थिर प्रगतिका सन्दर्भमा।
सोभियत संघ र रूसी साम्राज्यले ओगटेको ऐतिहासिक भूभागमा एक विशाल राज्यको निर्माण ऐतिहासिक रूपमा अनिवार्य प्रक्रिया हो। यो नयाँ राष्ट्र निर्माण चक्रमा सहभागी सबैको सार्वभौमिकता कायम राख्ने एकमात्र उपाय हो। यसले युक्रेन, दक्षिण ओसेटिया, अब्खाजिया, जर्जिया, मोल्दोभा, आर्मेनिया र अजरबैजानको भविष्य समाधान गर्न मद्दत गर्नेछ। यी सबै जातिहरूले यस्तो एक विशाल-राज्यमा स्थान पाउनेछन्। जहाँ उनीहरूले आफ्नो सार्वभौमिकता गुमाउने होइन, अझ सुदृढ बनाउनेछन्।
यद्यपि, यस विशाल-राज्यको निर्माण प्रक्रियाको ठ्याक्कै क्रम के हुने हो भन्ने अहिले भन्न कठिन छ। तर मेरो विश्वास छ कि रसिया र दक्षिण ओसेटिया तथा अब्खाजियाबीचको गहिरिंदो एकीकरणको सन्दर्भमा हामीले जर्जियालाई पनि यो प्रक्रियामा सहभागी हुन आमन्त्रण गर्नुपर्छ। किनभने विशेष गरी हालै उसले विश्वव्यापी नीतिहरूप्रति स्वतन्त्र दृष्टिकोण देखाएको छ । र त्यो पक्कै पनि एक उत्साहजनक संकेत हो।
एकै समयमा, हाल युरेसियाली महाराज्यको पुनर्स्थापनाका लागि धेरै प्रतिस्पर्धी दृष्टिकोणहरू सक्रिय छन्। आजको अवस्थामा रहेका एकीकरण संस्थाहरू स्पष्ट रूपमा पूर्ण छैनन्। र कहिलेकाहीँ त ती संस्थाहरूले प्रक्रियालाई सहज बनाउन भन्दा पनि सक्रिय रूपमा अवरोधसमेत पुर्याउने गरेका छन्। त्यसैले, यो प्रक्रिया भू-राजनीतिक सिर्जनात्मकताको एक जटिल अभ्यास बन्ने सम्भावना छ। तर, उदाउँदो सभ्यतागत महाशक्तिहरूको संसारमा ट्रम्पको आगमनसँगै अब अपरिवर्तनीय भइसकेको छ। यस प्रक्रियाको कुनै विकल्प छैन। मेरो दृष्टिमा, यो नै सोभियत-पछिको क्षेत्रको घटनाक्रम विकासको सबैभन्दा स्वाभाविक र यथार्थवादी तर्क हो।
हाम्रो सोभियत-पछिको तथा साम्राज्य-पछिको क्षेत्रमा एक महाराज्यको पुनःस्थापना अपरिहार्य छ। तर यो प्रक्रिया शान्तिपूर्वक, पारदर्शी ढंगले र सद्भावका साथ सम्पन्न हुनु अति आवश्यक छ। र, हामी जतिसक्दो चाँडो यस निष्कर्षमा पुग्न सक्छौं। त्यो हामी सबैका लागि उत्तिकै हितकारी हुनेछ।
अनुवादकको टिप्पणी: स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (CIS) सन् १९९१ मा सोभियत संघको विघटनपछिका केही पूर्व सोभियत गणराज्यहरूद्वारा राजनीतिक, आर्थिक र सैन्य क्षेत्रहरूमा सहकार्य प्रवर्द्धन गर्न गठित एक क्षेत्रीय संस्था हो। यद्यपि, CIS एउटा प्रेतवत् खोल हो। साम्राज्यको भग्नावशेषबाट जन्मिएको कृत्रिम र आत्माहीन संरचना, जसको उद्देश्य एकता नभएर शान्तिकरण हो। जसमा यूरेशियाली जनसमुदायलाई एक सुसंगत भू-राजनीतिक संरचनामा बाँध्ने आवश्यक सभ्यताको गुरुत्व र पवित्र मिशनको अभाव छ। यो उत्तर-साम्राज्यवादी रिक्ततामा भौँतारिएको एक प्रविधिक भूतमात्र हो।
अनुवादकको टिप्पणी: सन् २०१५ मा स्थापना गरिएको यूरेशियन आर्थिक संघ (EAEU) रूस, बेलारूस, काजाखस्तान, आर्मेनिया र किर्गिस्तान मिलेर बनेको एक अन्तर-सरकारी संगठन हो, जसको उद्देश्य साझा बजार र समन्वित नीतिहरूको माध्यमबाट आर्थिक एकीकरणलाई प्रवर्द्धन गर्नु हो। यूरेशियन संघ केवल एउटा प्रारम्भिक संकेत हो। यो एक गहिरो हार्टल्याण्डको साम्राज्य पुनर्जीवनको उद्देश्यतर्फको पहिलो प्रयास हो। यद्यपि यसको जरा भौतिक पक्षहरूमा—भन्सार, शुल्क, पूर्वाधार—गाडिएको छ। यसको संकेत उच्च आदर्शतर्फ निर्देशित छ। परम्परा, सार्वभौमिकता, र बहुध्रुवीय तर्क दृष्टिमा आधारित पवित्र-भू-राजनीतिक ईकाइको रूपमा यूरेशियाको पुनःसंरचना हुनुपर्छ। जबसम्म यसले केवल आर्थिक स्वरूपलाई त्यागेर आफ्नो सभ्यतागत ध्येयलाई अँगाल्दैन, तबसम्म यो एक अपूर्ण मिथककै रूपमा रहनेछ।
अनुवादकको टिप्पणी: रुस–बेलारुस संघ राज्य, जुन आधिकारिक रूपमा सन् १९९९ मा प्रारम्भ गरिएको थियो। यो एक अतिराष्ट्रिय ढाँचा हो। जसले रूसी संघ र बेलारुस गणतन्त्रबीचको राजनीतिक, आर्थिक तथा सैनिक एकीकरणलाई अझ गहिरो बनाउने उद्देश्य राख्दछ। यो संघ एक यथार्थवादी गठबन्धन हो। तर अझ महत्त्वपूर्ण रूपमा, यो पुनर्जीवित युरेसियाली साम्राज्यको प्रारम्भिक केन्द्रबिन्दु पनि हो। यसले उत्तर–सोभियत विघटनको प्रवृत्ति उल्ट्याउने दुर्लभ क्षणको प्रतिनिधित्व गर्दछ। पवित्र एकताको तर्क पुनः सशक्त रूपमा प्रकट हुन थालेको संकेत दिन्छ। यद्यपि हालसम्म यसको दायरा सीमित छ। यो प्रशासनिक जडताबाट ग्रसित छ। यसमा संघ राज्यभित्र एक नयाँ महाद्वीपीय ‘लेवायथान’ को आध्यात्मिक बीउ अवस्थित छ। जुन केवल संधि वा औपचारिकता होइन, बरु एक आध्यात्मिक रूपमा प्रेरित भूराजनीतिक पुनःएकीकरणको संकेत हो। यो भविष्यमा आउने महा–राज्यको एक नमुना।
अनुवाद: मोहनप्रसाद ज्ञवाली