दुगिनको निर्देशन: "मध्यपूर्वको द्वन्द्व एक ठूलो युद्धको सुरुवात हो"
Primary tabs
अलेक्जेण्डर दुगिनको तर्क यो छ कि मध्यपूर्वमा बढ्दो द्वन्द्वले एक ठूलो विश्वयुद्धको सुरुवात गरेको छ। किनकि इरान र यसका सहयोगीहरूले इजरायल र पश्चिमी प्रभुत्वको सामना गरिरहेकाछन्। युक्रेन पछि मध्यपूर्वमा दोस्रो मोर्चा खुलेको छ।
इरानले हालै इजरायलमाथि गरेको मिसाइल आक्रमण इस्लामिक गणराज्य इरानको स्वाभाविक कदम हो। यो इजरायलले गरेका पूर्वदुष्कर्महरू, जसमा लेबनानको हिज्बुल्लाहविरुद्ध गरेका कार्वाही, यसका नेता शेख सैयद हसन नसरल्लाहको हत्या र तेहरानमा मारिएको हमासको राजनीतिक नेता इस्माइल हनिएको हत्या साथै गाजामा सर्वसाधारणको नरसंहारको जवाफ हो।
के सयौं इरानी मिसाइलहरूले आफ्ना लक्ष्यमा प्रहार गरेका हुन्? वा होइनन्? भन्न गाह्रो छ। किनकि अन्य सैन्य संघर्षहरूमा जस्तै यसमा पनि दुबै पक्षहरूले आफ्नो वास्तविक स्थितिलाई लुकाउने प्रवृत्ति हुनसक्छ। तर, यो उल्लेख गर्नु वान्छनिय छ कि धेरै विशेषज्ञहरूले मध्य पूर्वमा युद्ध अपरिहार्य छ भनेर भविष्यवाणी गरेका थिए। अब यो वास्तविकता बनिसकेको छ। उदाउँदो बहुध्रुवीय विश्व र पश्चिमी वर्चस्वको बीचको टकरावको "दोस्रो मोर्चा" अब खुलिसकेको छ। पहिलो मोर्चा युक्रेन हो। अनि दोस्रो मध्य पूर्व हो।
इजरायलले गाजामा आक्रमण गरेपछि र सर्वसाधारणको सामूहिक नरसंहार सुरु गरेको लामो समयसम्म हिजबुल्लाह प्रत्यक्ष रूपमा युद्धमा प्रवेश गर्न हिचकिचायो। इरानले पनि आफ्नो नयाँ राष्ट्रपति मार्फत पश्चिमसँग सहमति खोज्ने प्रयास गर्दै गम्भीर कदम चाल्न ढिलाइ गर्यो। अन्ततः सर्वोच्च नेता आयतोल्लाह खमेनीले इजरायलमा व्यापक मिसाइल आक्रमण सुरु गर्ने निर्णय गरे।
अब स्थितिले नया मोड लिसकेकोछ। इजरायली सेनाहरूले दक्षिण लेबननमा प्रवेश गरेका छन्। बेरूत र सम्पूर्ण लेबननमाथि गोलाबारी सामान्य बनेको छ। अब सिरियामा इजरायलको लागि अर्को मोर्चा नि:सन्देह खुल्नेछ। साथै, मलाई लाग्छ, इराकको जनसंख्या र सरकार प्रायः शिया भएकाले इराक पनि क्रमशः इजरायल-विरोधी गठबन्धनमा तानिनेछ। त्यसकारण, मध्यपूर्वमा ठूलो युद्ध सुरु भएको मान्न सकिन्छ।
तर, यस युद्धमा शक्ति सन्तुलन कस्तो छ? स्पष्ट रूपमा भन्दा इजरायलसँग ठूलो प्रविधिगत उपलब्धि छ। जवसम्म प्रविधिले सबै कुरा निर्धारण गर्छ, तवसम्म इजरायल द्वन्द्वको सबैभन्दा बलियो पक्ष रहन्छ। यहासम्म कि तुलनात्मक रुपमा व्यवस्थित सशस्त्र सेना भएको हिजबुल्लाह र इरानको तुलनामा पनि। हो, हिजबोल्लाहका नेताहरूलाई समाप्त पारिएको छ। इजरायली गुप्तचर अभियानहरू पछि यसले ठूला क्षति व्यहोरेको छ साथै पश्चिमले इजरायललाई समर्थन गर्छ।
यद्यपि, हामीले इजरायलविरुद्ध प्रतिरोधी अक्षको बलहरूको व्यापक संख्यात्मक श्रेष्ठतालाई कम आँक्न हुँदैन। एक पटक मात्र इजरायलभित्रको अवस्थामा प्यालेस्टिनी आबादी (इजरायलभित्र दुई मिलियनभन्दा बढी प्यालेस्टिनीहरू, साथै दुई प्यालेस्टिनी भूभागमा चार मिलियनभन्दा बढी) जब संकटको बिन्दुमा पुग्छ, अवस्था गम्भीर हुनेछ।
पश्चिमले मिसाइलहरू रोक्न र आक्रमण सुरु गर्न इजरायललाई मद्दत गर्न सक्छ। तर गाजाले आफ्नै भूभागमा नरसंहारको सामना गरिरहेको छ जहा इजरायलले युद्धका सबै नियमहरू उल्लङ्घन गर्दै व्यवस्थित र निन्दनीय रूपमा नष्ट गरिरहेको "अरबहरूको समुद्र"को साथमा के गर्न सक्छ? मलाई लाग्छ हामी इजरायलविरुद्ध अरबहरूको वास्तविक आक्रोशको विस्फोट नजिक पुगिरहेका छौं। जसलाई अब लामो समयसम्म नियन्त्रण गर्न सकिँदैन।
क्रमशः यो युद्धले अझ व्यापक रूप लिनेछ। यो भन्नु पर्छ कि यो अवस्थाले इजरायली प्रधानमन्त्री नेतन्याहूलाई फाइदा पुर्याउँछ। उनी र उनको दक्षिणपन्थी मन्त्रिमण्डलमा बेजालेल स्मोट्रिच र इतामार बेन-गभिर जस्ता कट्टर धार्मिक जियोनिस्ट गुटका मन्त्रीहरू छन्। जो "महान इजरायल" निर्माण गर्ने अन्तिम लक्ष्य राख्छन्। नेतन्याहूको सरकार "मसीही क्रेडिट" भएको विश्वासमा संचालित छ र त्यसैअनुरूप कार्य गर्दछ। यसले विश्वास गर्छ कि "माशियाच" (यहूदी मसीहा, यहूदीहरूको राजा जसले सबै राष्ट्रहरूलाई यहूदीहरू अधीनमा ल्याउनेछ। तर ख्रीष्टियन र मुस्लिमहरूद्वारा यसलाई ख्रीष्टविरोधी दज्जाल वा धाेकेबाजको रूपमा हेरिन्छ) को आगमन निकट छ।
यसरी, अरबहरूसँगको युद्धलाई धार्मिक ज़ायोनिस्टहरू, रब्बी कूक र डोभ बेर लेवी सोलोविचिकका अनुयायीहरूले पवित्र रूपमा देख्छन्। जसले २०औं शताब्दीको मध्यमा "महान इजरायल" को सिर्जना गर्न अरब भूमिहरू कब्जा गर्ने आशीर्वाद दिएका थिए। र अहिले आधुनिक रब्बीहरू जस्तै डोभ लिओर, जसले यस्तै विचारहरूलाई बढावा दिन्छन्। यसको दृष्टिकोण अन्तिम चरणमा जेरुशलेमको टेम्पल माउन्टमा रहेको अल-अक्सा मस्जिदको विनाश र तेस्रो मन्दिरको निर्माण सुरु हुनुपर्छ भन्ने हो। जहाँ यहूदी मसीहा शासन गर्नेछन्। त्यसै समयमा, यस क्षेत्रमा इस्लामिक जनसंख्याको विशेष गरी शिया समुदायको इस्कातोलोजिकल (अन्तकालीन) परिचालन भइरहेको छ।
यसरी, परिस्थिति अझै जटिल हुँदै जानेछ। धार्मिक यहूदीवादीहरू विश्वास गर्छन् कि उनीहरूले आफ्नो मसीहको आगमनलाई एक नयाँ यम किप्पुर युद्धको मध्यम र कट्टरपन्थी र आक्रामक कार्यहरू मार्फत छिटो बनाउन सक्छन्। यद्यपि इजरायलको जनसंख्याको एक महत्वपूर्ण हिस्सा धर्मनिरपेक्ष छ र त्यो यसमा विश्वास गर्दैन। तिनीहरू नेतन्याहूको विरुद्धमा ठूला प्रदर्शनहरूको आयोजना गरिरहेका छन् र नेतन्याहूलाई यसका लागि दोष दिँदै भन्छन् "हामी एक लोकतान्त्रिक समाजमा राम्रोसँग बसिरहेका थियौं, र अहिले अचानक यो अनौठो र डरलाग्दो युद्ध छ,।"
तर, इस्लामी विश्वमा पनि एक बलियो समर्थनको स्थिति छ। जसमा शिया समुदायले आफ्नो भविष्यको अन्तिम परिस्थितिको लागि सबैभन्दा बढी तयारी गरेको छ। इजरायल, यहूदीवादी शासन,लाई दज्जाल वा धाेकेबाज (मसीह-विरोधी) को सेवकका रूपमा हेरिन्छ। जससँग उनीहरुले लड्नुपर्ने हुन्छ। अधिकांश साधारण मुस्लिमहरूको लागि यो मात्र जिउँदो रहनको लागि युद्ध हो। एक जातीय युद्ध। गाजामा, इजरायलले जातीय सफाया गर्दैछ। हजारौं, सम्भवतःलाखौं निर्दोष शान्तिकामी प्यालेस्टिनीहरूको हत्या गर्दैछ।
घटनाहरू कसरी विकसित हुनेछन् भनेर भविष्यवाणी गर्नु कठिन छ। बाइडेन प्रशासनका लागि यो एक अत्यन्त अप्रिय स्थिति स्पष्ट छ। जसले युक्रेनबाट उसको ध्यान विकेन्द्रीत गर्न बाध्य बनाएको छ। जसको समर्थन छिटो नै दोस्रो स्थानमा पुगेको छ। यो विश्वव्यापी अर्थतन्त्रको लागि पनि प्रहार हो। किनकि इरानले कुनै पनि बेला स्ट्रेट अफ हर्मुजलाई अवरुद्ध गर्न सक्छ। जसले महत्त्वपूर्ण व्यापार मार्गहरूलाई असर गर्छ। त्यसका अतिरिक्त, यमनमा लाल, अरब सागर र हिन्द महासागरमा समेत इरान समर्थक हुथीहरूको गतिविधि फैलिएको छ। यसले वर्तमान अमेरिकी प्रशासनका लागि पनि एक गम्भीर परिदृश्य प्रस्तुत गर्दछ भने ट्रम्प, धार्मिक जियोनवादका समर्थक र नेतान्याहुका लागि अवसर पनि सिर्जना गर्दछ।
मध्य पूर्वमा भएको बढ्दो तनावको परिणामस्वरूप, सम्पूर्ण संसारमा हलचल पैदा भएको छ। यो भयंकर युद्धको शुरुवातको मुख्य परिणाम हो।
तर यस अवस्थामा रूसले कस्तो भूमिका निभाउनु पर्छ? यो, अवश्य पनि, धेरै संवेदनशील प्रश्न हो। एक तर्फ, इजरायल हाम्रो दुश्मन होइन। अर्कोतर्फ, इरान, यमनी हूथीहरू, हिज्बुल्लाह, बाशर अल-असदको नेतृत्वमा रहेको सिरियालीहरू र इराकका शियाहरू हाम्रा साथी र रणनीतिक गठबन्धनका साझेदार हुन्।
हाम्रो रणनीतिक साझेदारहरू, जसले युक्रेनको विषयमा पश्चिमसँगको टकरावमा रूसलाई ठूलो रूपमा समर्थन गरेका थिए। अब ती रूससँग तटस्थ सम्बन्ध भएको देशको (मृत्यु सम्मका) कडा दुश्मन हुन्। यहाँ इजरायलको पछाडि वैश्विक पश्चिम छ भन्ने कुरा विचार गर्दा — त्यही शक्ति जसले युक्रेनमा हाम्रो प्रत्यक्ष दुश्मनको समर्थन गर्छ। कीव जुंटा — यसले एक धेरै जटिल भू-राजनीतिक मोडेललाई सामुन्ने ल्याएको छ। यसले रूसी नेतृत्वलाई पनि दुविधाको परिस्थिति सृजना गरिदिएको छ।
एकातर्फ, हामी प्रतिरोधको अक्षका शक्ति र तिनीहरूको संघर्षमा पूर्ण समर्थन गर्दै जाँदैछौं। खासगरी इजरायलविरुद्ध मात्र होइन, तर यसलाई समर्थन गर्ने सामूहिक पश्चिमविरुद्ध। अर्कातर्फ, पुटिन (ट्रम्पको तुलनामा कम मात्रामा) नेतन्याहूको दक्षिणपन्थी नीति, एक बलियो राज्यको चाहना, परम्परागत (यहूदीहरूको लागि) मूल्यहरूको रक्षाको लागि निश्चित निकटता महसुस गर्दछन् । तर, इजरायलको यो नीति हाम्रो भूराजनीतिक हितको विरुद्धमा जानको लागि पर्याप्त नजिक छैन।
हामी देख्छौं कि रुसी परराष्ट्र मन्त्रालय र क्रेम्लिनको धारणा इरान, शिया, प्यालेस्टिनी, लेबनीज, यमनी र इराकीहरूलाई समर्थन गर्ने तर्फ झुकिरहेको छ र विश्व पश्चिमको खुल्ला विरोध गरिरहेको छ। तर कुनै न कुनै समयमा, हामीलाई इजरायलको सन्दर्भमा पनि एक महत्त्वपूर्ण निर्णय लिनु पर्नेछ। हामी बिर्सन सक्दैनौं कि रूसमा केही दक्षिणपन्थी जियोनिस्टहरूले युक्रेनी संघर्षमा मस्कोलाई समर्थन गरेका छन्। यो पनि एक महत्त्वपूर्ण कारक हो। साथै के यो प्रतिरोध ध्रुवसँग हाम्रो भू-राजनीतिक गठबन्धनमाथि भारी पर्नेछ? प्रश्न खुल्ला रहन्छ। मेरो विचारमा, इजरायलप्रति रुसको दृष्टिकोणलाई महत्वपूर्ण रूपमा पुनः मूल्याङ्कन गरिनेछ, जसले सम्बन्धलाई उल्लेखनीय रूपमा शीतलता प्रदान गर्नेछ।
अनुवादक: मोहनप्रसाद ज्ञवाली