युक्रेन प्रश्न र ट्रम्प प्रशासन

अलेक्जेन्डर दुगिनले दाबी गर्छन् कि युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा पूर्ण रूपमा एकीकृत गर्ने रूसको अडान विस्तारवादी महत्वाकांक्षा भन्दा पनि अस्तित्वगत आवश्यकता हो। यो एउटा भू-राजनीतिक अपरिहार्यता भएकोले, यो कुरा पश्चिमी नेताहरू, जस्तै डोनाल्ड ट्रम्पलाई स्पष्ट रूपमा बुझाउनु आवश्यक छ। अन्यथा गम्भीर भ्रमपुर्ण बुझाईको   कारण विनाशकारी परिणाम निम्तिन सक्छ।

जब हामी भन्छौं कि सम्पूर्ण युक्रेन एकीकृत रुसी क्षेत्रमा हुनुपर्छ। हामी अत्यधिक चरम माग गरिरहेका छैनौं। यो चरमवाद होइन। युक्रेनको वर्तमान अवस्था रुसको अस्तित्वसँग मेल खाँदैन। र यदि यो मुद्दा फेरि एकपटक स्थगित गरियो भने, हामीले हाम्रा सबै नयाँ क्षेत्रहरूलाई प्रशासनिक सीमाभित्र समावेश गरे तापनि, यसले केही समाधान गर्नेछैन। उनीहरू फेरि हतियारबन्द भएर आक्रमण गर्नेछन्। यसको विपरीत हुन्छ भन्ने कुनै किसिमको ग्यारेन्टी छैन।

साथै हामीलाई यस्तो कुनै युद्धविरामको प्रस्तावसमेत आएको छैन।

अतः ट्रम्पसँग युक्रेन सम्बन्धी हाम्रो वार्ता यसरी हुनेछ, युक्रेन हाम्रो हो। बाँकी सबै कुरा छलफल गर्न सकिन्छ। सम्झौता हुन्छ पक्कै पनि। तर हामीलाई यो सहजै दिइने छैन। हामीलाई सहजै दिइनु पर्ने पनि छैन। हामीले जुनसुकै मुल्य चुकाउनु परे पनि यसलाई आफैंले मुक्त गर्नेछौं।

एक मात्र प्रश्न यो हो कि, यो मार्गमा हामी परमाणु युद्धबाट बच्न सक्छौं कि? दुर्भाग्यवश सक्दैनौं?

यो टार्न सकिएको राम्रो हुनेछ। तर हामी जुनसुकै कुराको लागि पनि तयार छौं। युक्रेन हाम्रो लागि थप प्राप्त गर्ने इच्छा नभई सबै कुरा गुमाउने अस्तित्वगत खतरा हो। र यो कुनै अनुमान होइन; यो एक तथ्य हो।

पश्चिमी देशहरूले हाम्रो परिस्थितिको गम्भीरता नबुझेको स्थितिलाई हेर्दा अवस्था निकै चिन्ताजनक छ। बाइडेनका वैश्विकतावादी ओभरटन विन्डो रूसलाई रणनीतिक हारको सामना गर्ने वास्तविकतासम्म धकेल्ने प्रयासमा छन्, जसले गर्दा यो प्रवृत्ति केन्द्रीय बनिसकेको छ। रूस नजिक रहेका र केही हदसम्म अधिक तार्किक दृष्टिकोण भएका व्यक्तिहरू भन्छन्, रूसलाई हराउने प्रयास गर्नु अर्थपूर्ण नहुन सक्छ। किनकि यसले अत्यधिक लागत बेहोर्नुपर्नेछ। तर हामीसँग क्रोधित भएकाहरू, रुसफोबियाको लहर सवारहरु, घोषणा गर्छन्, रुसलाई रणनीतिक रुपमा हराउनुपर्छ। रूसले परमाणु आक्रमणको हिम्मत गर्ने छैन। यो केवल धम्की हो। तर, यो धम्की हो या होइन भन्ने कुरा उनीहरूलाई धेरै ढिलो भएपछि मात्र थाहा हुनेछ।

यी सबै किसिमका मानसिक नक्शाहरुले, ट्रम्प प्रशासनको रूससँगको सम्बन्धका लागि गम्भीर खतरा उत्पन्न गर्दछन्। अमेरिकामा रूसविरोधी हिप्नोसिस धेरै गहिरो तथा प्रभावकारी छ। यो नै योजनाकार थियो। उत्कृष्ट मनसाय राख्दै, ट्रम्पले भन्लान्: मस्को, सम्पूर्ण LBS (लाइन अफ कन्ट्याक्ट) भित्रको सबै भाग लिनुहोस्। के यो पर्याप्त छ? सम्झौता भयो?

तर हामीलाई यो पूर्ण रूपमा अस्वीकार्य छ। यसले अनिवार्य रूपमा ढिलो चाँडो नयाँ युद्ध निम्त्याउँछ। सम्भावित रूपमा रूसकै पतन गराउन सक्छ। किनकि यो हार हो। हरेक अर्थमा। ट्रम्पले सायद हामीलाई हामीले चाहेको कुरा दिइरहेका छन् भन्ने सोच्न सक्छन्। तर हामीले त्यो स्वीकार गरे हाम्रो लागि, त्यो प्रत्यक्ष चुनौती, ब्ल्याकमेल, र आत्मसमर्पणको आह्वान हुनेछ।

यो एक अत्यन्तै खतरनाक अवस्था हो। जहाँ भूराजनीतिक वास्तविकताहरू कृत्रिम मानसिक पूर्वाग्रहसँग ठोक्किन्छन्। जसले गर्दा एक अत्यन्तै जोखिमपूर्ण मानसिक असहमति (cognitive dissonance) सिर्जना हुन्छ।

वाशिंगटनले बुझ्नुपर्छ कि रुसलाई सम्पूर्ण युक्रेन चाहिन्छ। बस यत्ति नै। होईन भने, "कामरेड आणविक हतियार" ले बोल्न दिनुहोस्।

नयाँ अमेरिकी प्रशासनसँग संवादको सुरुवात गर्नु दुर्भाग्यपूर्ण छ। विशेषगरी यस्तो कठोर धारमा, जुन प्रायः वैश्वीकतावादी र परम्परागत मूल्यहरूको विरोधी छ। तर यो पनि वैश्वीकतावादीहरूले छोडेको अर्को जाल हो। सायद ट्रम्पले यो बुझ्न सकेका छैनन्। हामी कूटनीतिक तरिकामा हेरफेर गर्दै गर्दा यी कुराहरूलाई उनीहरूको नामले सम्बोधन गर्न हिचकिचाउँछौं। ट्रम्पसँग सिधा कुरा गर्नु नै राम्रो हुन्छ। युक्रेन हाम्रो हो (सम्पूर्ण), र यसमा कुनै बहस हुँदैन। हामी त्यहाँ पारम्परिक हतियारको प्रयोग गरेर विजयसम्म लड्दैछौं। हामीले के कस्तो बलिदान दिएका छौं, त्यो हाम्रो कुरा हो। तपाईंहरू अरु कुरामा ध्यान दिनुहोस्।

प्रतिबन्धहरू कायम रहन सक्छन्। सम्बन्धहरू फेरि स्थापना गर्नु आवश्यक छ/छैन। त्यो पछि सोच्न सकिन्छ। तर युक्रेन हामीसँग हुनेछ। पूर्ण रूपमा नि:सर्त।

किनकि यस बिना हामी समाप्त हुनेछौं। हामी समाप्त हुन चाहँदैनौं। यदि हामी मर्नुपर्ने स्थिति आयो भने, सबैलाई पनि हामीसँगै मर्नु पर्नेछ।

यहाँ कुनै अतिवाद छैन — केवल भू-राजनीतिको शीतल नियमहरू छन्। जसलाई दुवै पक्षबाट स्पष्ट रूपमा व्याख्या गरिएको छ। हाम्रो दृष्टिकोण र ब्रेजिन्स्कीको दृष्टिकोणबाट। रुसबाट युक्रेनलाई अलग गर्नु भनेको सम्पूर्ण एटलान्टिक भू-राजनीतिक विद्यालयको स्थापना कालदेखि नै एक अनिवार्य सिद्घान्त हो। म्याकिन्डरदेखि (र अझ पहिलेदेखि) नै। यो केवल एउटा नियमजस्तै हो। युरेसियाली विद्यालयका लागि यसको ठीक विपरीत सत्य हो। युक्रेन या त रूसी हुनेछ। होइन भने न युक्रेन रहनेछ, न रुस रहनेछ, न त अरू कोही रहनेछन।

एक अत्यन्त नाजुक परिस्थिती देखापर्दैछ। बाइडेन र वैश्विकतावादी पागलहरूसँग सबै कुरा स्पष्ट थियो। उनीहरूले हामीसँग अस्वीकार्य मागहरू अघि सारे। हाम्रा मागहरू पनि उनीहरूलाई अस्वीकार्य जस्तो लाग्थ्यो। ट्रम्पसँग भने कुरा फरक छ। उनलाई जुनकुरा “उपहार” लागिरहेकोछ, त्यो हाम्रो लागि युद्धको घोषणा हुनेछ।

त्यसैले, यो सबै कुरा ट्रम्पलाई स्पष्ट र अस्पष्ट नगरी, भावनात्मकता उतार चढाव बिना, व्याख्या गर्नु अत्यन्त आवश्यक छ। यदि हामी हाम्रो "छठौं स्तम्भ" लाई यो वार्तालापको मार्ग सम्हाल्न दिन्छौं भने, उनीहरूले तुरुन्तै सबै कुरा समर्पण गर्नेछन्। तर, मेरो विचारमा हाम्रो जनताले यो कुरा राम्रोसँग बुझेकाछन्। तथापि, वासिङ्टनमा नयाँ ट्रम्प प्रशासन, जो सिद्धान्ततः नियोकोन्स वा डिप स्टेटका नियुक्तिहरूबाट मुक्त हुन सक्दैन। उनीहरूले सजिलैसँग एउटा कुरालाई अर्को भ्रामक तर्कसँग मिसाउन सक्छन्।

म विश्वास गर्छु कि सबैभन्दा सिधा समाधान अहिले वाशिंगटनको संक्रमणको क्रममा रूसको युक्रेनका लागि वास्तविक योजनाहरू घोषणा गर्नु हुनेछ। रूस केवल किभको बिना शर्त समर्पण र सम्पूर्ण क्षेत्रमाथि पूर्ण नियन्त्रणको पछि मात्र रोकिनेछ। युक्रेन रूसको हिस्सा हो। यो हाम्रो आणविक नीति हो।

अनुवाद:मोहनप्रसाद ज्ञवाली