सभ्यताहरूबीचको संवाद शान्ति र संस्कृतिका लागि
Primary tabs

हवानाले गणतन्त्र क्यूबाका शीर्ष अधिकारीहरूको सहभागितासँगै एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ।
सभ्यता बीच संवाद र शान्तिको संस्कृति’ शीर्षक नामाङ्कित फोरम परम्परागत रूपमा मुख्य राजनीतिक स्थल, हवाना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (Palacio de Convenciones) मा २०२५ जनवरी २८ देखि ३१ सम्म आयोजना भएको थियो। यसमा ९५ भन्दा बढी देशका प्रतिनिधिहरूले भाग लिएका थिए। कुल मिलाएर लगभग हजार जना मानिसहरू उपस्थित थिए। जसमा आधा विदेशी र बाँकी आधा क्यूबालीहरू थिए। यो सम्मेलन प्रत्येक दुई वर्षमा आयोजना हुन्छ र यो क्यूबाली राष्ट्रिय कवि तथा दार्शनिक, क्रान्तिको प्रेरक जोसे मार्टिको जन्मदिनलाई समर्पित छ (यस वर्ष उनको १७२औं वार्षिकोत्सव मनाइयो)।
जनवरी २८ मा, सम्मेलनको उद्घाटनको लागि समर्पित एक भव्य पूर्णसत्र आयोजना गरिएको थियो। जहाँ क्यूबाको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव र गणतन्त्र क्यूबाका राष्ट्रपति मिगुएल डियाज-कनेल, क्यूबाको जनशक्ति राष्ट्रिय सभाका अध्यक्ष एस्टेबान लाजो, देशका प्रधानमन्त्री म्यानुअल मरेरो क्रूज तथा अन्य वरिष्ठ सरकारी अधिकृतहरू, विदेश मन्त्री र संस्कृति मन्त्री समेतको सहभागीता थियो।
ब्राजिलका धर्मशास्त्री तथा बौद्धिक फ्रेई बेट्टो द्वारा “विश्वमा शान्ति र सन्तुलनतर्फको मार्गको रूपमा न्याय” शीर्षकको कार्यपत्र पनि पूर्ण सत्रमा प्रस्तुत गरिएको थियो। बुधबार, जनवरी २९ मा, बिहान र साँझका समयमा, विभिन्न देशका वक्ताहरूको सहभागिता सहितका कार्यसत्रहरू सम्मेलन केन्द्रका सबै हलहरूमा आरम्भ भएका थिए। साथै, जहाँ रूसको प्रतिनिधिमण्डल पनि उपस्थित थियो।
पश्चिमी उपनिवेशवाद र जातिवादका समस्यादेखि पर्यावरणीय चुनौतीहरू र क्रान्तिकारी विचारकहरूको विरासतसम्मका विविध मुद्दाहरूमा छलफल गरियो। जसमा निस्सन्देह फिडेल कास्त्रोका बारेमा पनि थिए। यस लेखका लेखकले पनि सहभागी भएको अघिल्लो सम्मेलनको तुलनामा, बहुध्रुववाद विषयमा बढी प्रस्तुतीकरणहरू प्रस्तुत गरिए। धेरैले अधिक न्यायसंगत विश्वव्यवस्था निर्माण र नव-नाजीवादसँग लड्न रसियाको भूमिकाको चर्चा गरे। ऐतिहासिक सन्दर्भमा, नाजी जर्मनी र तिनका सहयोगीहरू विरुद्धको विजयको ८०औं वार्षिकोत्सवसँग सम्बन्धित रूपमा, मास्कोसँग अन्तर्राष्ट्रिय एकताको महत्वलाई जोड दिइयो।
सम्मेलन डोनाल्ड ट्रम्पद्वारा लिइएका दुई विषयमा केन्द्रीत भयो, जसले सिधै ‘लिबर्टी आइल्याण्ड’ लाई प्रभावित गर्दछ र हालको व्हाइट हाउस प्रशासनको विस्तारवादी दृष्टिकोणलाई जनाउँछ। पहिलो, उनले क्युवालाई अमेरिकी राज्य प्रायोजक आतंकवादको सूचीमा पुनः समावेश गरे, जसबाट क्युवालाई बिदाइ हुँदै गरेको राष्ट्रपति जो बाइडेनले केही दिन अघि हटाएका थिए।
दोस्रो, उनले भने कि ग्वान्तानामो टापुमा रहेको अमेरिकी नौसैनिक अड्डा – जुन वास्तवमा सार्वभौमिक क्युवाको अवैध रूपमा कब्जा गरिएको क्षेत्रको हिस्सा हो – ल्याटिन अमेरिकी देशका आप्रवासीहरूलाई आवासीय स्थलको रूपमा प्रयोग गरिनेछ।
ग्वान्टानामो बेस अमेरिकी राजनीतिका सबैभन्दा लज्जास्पद पृष्ठहरू मध्ये एक हो। विशेष गरी मानव अधिकार उल्लङ्घनको सन्दर्भमा। र अहिले यस्तो देखिन्छ कि डोनाल्ड ट्रम्प वाशिङ्टनप्रति असन्तोष र आलोचना बढाउन चाहन्छन्।
दुवै निर्णयहरूले यस क्षेत्रमा कडा निन्दाको वातावरण उत्पन्न गरे। नयाँ ह्वाइट हाउस प्रशासनले मध्य र दक्षिण अमेरिकामा आफ्ना उपग्रहहरूको समर्थन प्राप्त गर्न प्रयास गरिरहेको छ। जसको प्रमाण नयाँ विदेश मन्त्री मार्को रुबियोको हालैको भ्रमण हो।
२०२५ फेब्रुअरी ४ मा कोस्टारिकाको जापोटेमा राष्ट्रपतिभवनको द्वारमा मार्को रुबियोले आयोजना गरेको प्रेस कन्फरेन्समा उनले भने: "कोस्टारिका मानवताका शत्रु क्युबा, भेनेजुएला र निकारागुएविरुद्धको लडाईमा विश्वसनीय सहयोगी हो।" कोस्टारिका, यसअघि कोलम्बिया र इक्वेडर जस्तै, अमेरिकाले द्विपक्षीय सुरक्षा र मादक पदार्थ तस्करी विरुद्धको सहकार्यको बहानामा आफ्नो सैन्य र खुफिया उपस्थिति बढाउँदै गएको अर्को ठाउँ बनेको छ।
यो महत्त्वपूर्ण छ कि कोस्टारिकासँग आफ्नै राष्ट्रिय सुरक्षा वा रक्षा सिद्धान्त छैन। यो विश्वका केही सशस्त्र बल नभएका देशहरूमध्ये एक ह। कोस्टारिका क्षेत्रीय सुरक्षाका लागि साझेदारहरूमा निर्भर रहनुपर्छ। वास्तवमा, यसको सार्वभौम र स्वतन्त्र परराष्ट्र नीतिको पनि कुनै सिद्धान्त छैन। कोस्टारिकाले वाशिंगटनलाई आफ्नो प्रभावमा राख्न र स्थानीय राजनीतिज्ञहरूलाई नियन्त्रण गर्न अनुमति दिन्छ। जसले गर्दा यो देश संयुक्त राज्य अमेरिकाको उपग्रह उपनिवेशमा परिणत भएको छ।
तिनीहरूले कोस्टारिकामा "खतरनाक आप्रवासीहरूको भीड," "मादक पदार्थ तस्करहरू," र "आतंकवादीहरू" लाई रोक्न स्थापना गरिने नयाँ उन्नत प्राविधिक संयन्त्रहरू र "बायोमेट्रिक प्रणालीहरू" बारे पनि छलफल गरे।
https://antiimperialistas.com/la-guerra-de-trump-y-su-secretario-de-estado-a-cuba-y-latinoamerica/
मार्को रुबियोले डोमिनिकन गणराज्यमा यस्तै बयानहरू दिए, यद्यपि उनले ऊर्जा अवसरहरू, हैटी र छिमेकी पुएर्टोरिकोको सहयोगको बारेमा पनि कुरा गरे।
संयुक्त राज्य अमेरिकाको यस क्षेत्रप्रतिको नयाँ चासो (डोनाल्ड ट्रम्पद्वारा क्यानडा र ग्रीनल्यान्डबारे दिएका विवादास्पद बयानहरूको उल्लेख गर्न लायक छ) मा, १९औं शताब्दीको सुरुवातमा पश्चिमी गोलार्द्धमा अमेरिकी प्रभुत्वको अनिवार्यता स्थापित गर्ने मुनरो सिद्धान्तको नयाँ रूप स्पष्ट रूपमा देख्न सकिन्छ। र १९०४ मा थियोडोर रूजवेल्टको संशोधनपछि, यो वास्तवमा सैन्य हस्तक्षेप र "सभ्य समाजको तर्फबाट" प्रत्यक्ष हस्तक्षेपको आधार बन्यो।
अमेरिकाबाट ल्याटिन अमेरिकामा रहेका हाम्रा रणनीतिक साझेदारहरू, जसलाई रूसको वैदेशिक नीतिमा क्युबा, भेनेजुएला, र निकारागुआ भनेर चिनिन्छ। उनीहरू माथि बढ्दो दबाबका साथै जारी विशेष सैन्य अपरेसनको बाबजुद, रूसले यो परिस्थितिलाई अमेरिकाको 'अन्डरबेली' मा आफ्नो उपस्थिति बलियो बनाउन, भू-राजनीतिक शब्दावलीमा, प्रयोग गर्न सक्छ।
क्युबा–भेनेजुएला–निकारागुवा त्रिकोण आफैंमा एक शक्तिशाली संयोजन हो, जसले रूसबाट उचित लगानी र संयुक्त परियोजनाहरू (क्षेत्रीय पूर्वाधार र ढुवानी सहित) को कार्यान्वयनसँगै शक्ति सन्तुलनमा परिवर्तन ल्याउन सक्छ र पश्चिमी गोलार्द्धमा रूसको वैदेशिक नीतिमा एक महत्वपूर्ण तुरुपको पत्ता बन्न सक्छ।
मेक्सिकोमा, रूससँग मैत्रीपूर्ण सम्बन्ध राख्ने र सधैं क्युवाको अन्तर्राष्ट्रिय अधिकारहरूको समर्थन गर्ने मोरेना पार्टी सत्तामा छ। क्यारिबियन क्षेत्रमा रूसको कूटनीतिक उपस्थितिको विस्तार लामो समयदेखि आवश्यक छ। कुनै समयमा, क्युवाले वाशिंगटनबाट ६० वर्षभन्दा बढीको प्रतिबन्धको बाबजुद त्यहाँ स्थिर कूटनीतिक सम्बन्ध निर्माण गर्न सफल भयो, र क्षेत्रका धेरै राज्यहरू क्युवा गणतन्त्रको समर्थनमा एकजुट भइरहेका छन्। विशेष गरी, १५ राज्यहरू समावेश गर्ने क्यारिबियन समुदाय (CARICOM), जसमा मुख्यतया लेसर एन्टिल्सका देशहरू, साथै गयाना, सुरिनाम र बेलिज पनि छन्। संयुक्त राष्ट्रसंघमा मतदान लगायत धेरै विदेशी नीतिका मुद्दाहरूमा समन्वित नीतिहरू अपनाउँछन्। यस समुदायसँगको क्युवाको अनुभवको आधारमा, रूसले पनि आफ्ना चासोहरूलाई राम्रोसँग रक्षा गर्न सक्छ।
यद्यपि ल्याटिन अमेरिकामा बहुध्रुवीयता गठन गर्ने राजनीतिक इच्छा छ, तर यस क्षेत्रका देशहरूसँग नयाँ र विविध स्तरको अन्तरक्रियाले यस प्रक्रियालाई स्पष्ट रूपमा थप गति प्रदान गर्नेछ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली