रूसका उदारवादी विध्वंसकहरू
Primary tabs

"हामीसँग एक शक्तिशाली विचार समूह छ, जसले यो विश्वास गर्दछ कि प्रतिबन्ध हटाउनु विनाशकारी हुनेछ। किनभने उदार सोच राख्ने अधिकारीहरूले तुरुन्तै आयात प्रतिस्थापन गर्ने, हाम्रो अर्थतन्त्र र उत्पादनको सार्वभौमिकताको सुनिश्चितता तथा राज्यको विकासका लागि अत्यावश्यक क्षेत्रहरूको सुरक्षामा भएका उपलब्धिहरूलाई उल्ट्याउने प्रयास गर्नेछन्।"
— रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ
सर्गेई लाभरोभले अन्ततः त्यो कुरा स्वीकार गरेका छन्, जुन विषयमा म लगायत धेरै विद्वानहरूले वर्षौंदेखि लेख्दै आएकाथियौं कि रूसमा सन् १९९० को दशकबाट बाँकी रहेको एक किसिमको कुलीनतन्त्र अझै पनि सक्रिय छ। जसले राष्ट्रप्रमुखको सार्वभौमिकतालाई सुदृढ गर्ने दृष्टिकोणसँग सहमति राख्दैन। यी अधिकारीहरूले रूसलाई फेरि एकपटक विश्वव्यापी संरचनाको हिस्सा बनाउने स्वप्न देखिरहेका छन्। तर त्यो विश्व अब बाँकी रहेन। यो उनीहरूको मानसिक पीडा मात्र हो। यसैले उनीहरूले पूर्णतः विनाशकारी दृष्टिकोण अख्तियार गर्छन् र हरेक क्षेत्रमा सार्वभौमिकताको प्रक्रियामा बाधा पुर्याउँछन्।
यी जिद्दी व्यक्तिहरूले अहिले केवल हाम्रो आर्थिक प्रणालीलाई पश्चिमको अनुकूल बनाउने चाहना मात्र राखेका छैनन्, तर उनीहरूले राष्ट्रपति पुटिनप्रति औपचारिक रूपमा निष्ठा देखाएको नाटक गरी उनका प्रत्येक कुरामा सहमति जनाएजस्तो देखिन्छ। यद्यपि, वास्तवमा उनीहरू रूसका हितविरुद्ध विद्रोह गर्ने र यहाँसम्मको उपलब्धिहरू ध्वस्त पार्ने प्रयासमा छन्। यही कुरा लावरोभले "मतनिर्माता"हरूलाई संकेत गर्दै स्पष्ट रूपमा औंल्याएका छन् — जुन आफैँमा निकै महत्वपूर्ण संकेत हो।
वास्तविकतामा, तथाकथित "छैठौं स्तम्भ" का भ्रमहरू विपरीत, रसिया र पश्चिमबीचको सम्बन्ध कुनैपनि रूपमा सुधार भइरहेको छैन। हो, संयुक्त राज्य अमेरिकासँग तनाव न्यूनीकरणतर्फ केही अत्यन्तै सतर्क कदमहरू चालिएका छन्, तर यूरोप उल्टै हामीसँग युद्धको तयारीमा जुटिरहेको छ। त्यसैले हाम्रो कर्तव्य, हाम्रो प्रत्यक्ष दायित्व भनेको देशको आर्थिक सार्वभौमिकताको सुनिश्चितता गर्नु हो। तर उदारवादी झुकाव भएका अधिकारीहरूले यस प्रयासमा बाधा पुर्याइरहेका छन्।
उदारवादी विचारधारा आफैँ हाम्रो देशमा प्रभावकारी रूपमा आपराधिक घोषित भइसकेको छ। कल्पना गर्नुहोस्, यदि लावरोभको वक्तव्यमा “उदार” शब्दको सट्टा “नाजी” राखियो भने: रूसमा केही अधिकारीहरू नाजी विचारधारामा विश्वास गर्छन्, हिटलरसँग सहानुभूति राख्छन् र हाम्रो राष्ट्रिय सुरक्षालाई सुदृढ गर्न चाहँदैनन्, किनभने उनीहरू विश्वास गर्छन् कि हिटलरको अधीनस्थतामा अवस्था राम्रो थियो। यस्ता भनाइप्रति हामी आक्रोशित र आतंकित हुने थियौं। तर आज उदारवादलाई पश्चिमी प्रभुत्ववाद, जातिवाद र रूसविरोधी सोचको नयाँ रूपसँग समानार्थक रूपमा हेरिन्छ। त्यसैले, रूसमा उदारवादी हुनु भनेको अब एक वैचारिक अपराधजस्तै हो। परराष्ट्र मन्त्रीले यस्ता मानिसहरू रूसमा छन् भनेर अप्रत्यक्ष रूपमा स्वीकार गरिसकेका छन्। र यसमा कुनै प्रभाव नभएका सीमान्तकरण व्यक्तिहरू होइनन्, बरु केही ठूला अधिकारीहरू नै उनको इशाराको लक्ष्य हुन् भन्ने सम्भावना बलियो छ।
आज यो छैठौं स्तम्भ ट्रम्पसँग हाम्रो सम्बन्ध सुधारिएकोमा उल्लासित देखिन्छ। तर यो हाम्रो स्थिति सुदृढ बनाउनका लागि होइन बरु, विशेष सैन्य अभियानको आरम्भदेखि रुसले सार्वभौमिकताको दिशामा गरेको सम्पूर्ण प्रगतिलाई सकेसम्म चाँडो पटरीबाट उतार्नका लागि हो। यो स्पष्ट रूपमा तोडफोड हो। राष्ट्रघात, विश्वासघात, विद्रोह, उदारवादी अधिकारीहरूको बिद्रोह हो। र जब यति सजग, संयमित र सूक्ष्म कूटनीतिज्ञले समेत आफ्ना टिप्पणीहरूमा ती व्यक्तिहरूको बारे उल्लेख गरेका छन् भने, यसको अर्थ परिस्थिती अत्यन्तै गम्भीर छ।
म यो कुरामा विश्वास गर्छु कि सेर्गेई लावरोभ हाम्रो महान राष्ट्रको इतिहासमा सबैभन्दा उत्कृष्ट परराष्ट्र मन्त्रीहरू मध्य एक हुन्। उनीप्रति हामी विश्वास र भरोसा गर्न सक्छौ। हाम्रो राष्ट्रभित्र राष्ट्रपति पुटिनका सार्वभौमिक सुधारहरूविरुद्ध काम गर्ने एउटा मूल शक्ति साँच्चै नै विद्यमान छ। तथाकथित छैटौं स्तम्भले षड्यन्त्रको खतरा पैदा गर्छ। जुन मूलतः सत्ताउलटको सम्भावना हो। किनभने आयात प्रतिस्थापन र आर्थिक सार्वभौमिकताको क्षेत्रमा हासिल गरिएका उपलब्धिहरूलाई पछाडि धकेल्ने प्रयास, जसमा हाम्रो राष्ट्रको विकास र सुरक्षा निर्भर छ। त्यसको सटिक परिभाषा नै यही हो। यो विषय अत्यन्तै गम्भीर छ।
अनुवादकको टिप्पणी: "छैठौं स्तम्भ" भन्ने शब्द रूसी समकालीन अवधारणा हो, जुन परम्परागत "पाँचौं स्तम्भ" भन्दा अझ कपटी र सूक्ष्म आन्तरिक षड्यन्त्रलाई जनाउँछ। पाँचौं स्तम्भले खुला रूपमा राज्यको विरोध गर्ने उदारवादीहरू, प्रगतिशीलपन्थीहरू तथा पश्चिम समर्थक कार्यकर्ताहरूलाई जनाउँछ भने, छैठौं स्तम्भ भने ती व्यक्तिहरूलाई जनाउँछ जसले बाह्य रूपमा राष्ट्रपति पुटिन तथा रूसी नेतृत्वप्रति निष्ठा देखाउँछन्, तर आन्तरिक रूपमा राष्ट्रको सार्वभौमिकता र विरोधी-वैश्वीकरण मार्गमार्फत कब्जा गर्ने कार्य गर्दछन्। उनीहरू राष्ट्रवादीको आवरण ओढ्छन्, तर भित्रभित्रै उदारवादी–वैश्वीकतावादी लक्ष्यहरूलाई अघि बढाउँछन्।
अनुवाद: मोहनप्रसाद ज्ञवाली