रसियाको असफल युरेशियाली परियोजना

प्राथमिक टैब्स

अलेक्जेडर दुगिनका अनुसार पच्चीस वर्षसम्मको उपेक्षा, अयोग्यता र षड्यन्त्रका कारण पुटिनको यूरेशिया एकीकरणको परिकल्पना  विघटनमा परिणत भएको छ, जसले फेरि  पूर्ण-रणनीतिक पुनर्संरचनाको माग गरेको छ।

हाम्रो नीतिको प्रश्न सोभियतसंघ पश्चात् सबै क्षेत्रमा अत्यन्त गम्भीर रुपमा विचरणीको छ। व्यावहारिक रूपमा, राष्ट्रपति पुटिन सत्तामा आएदेखि नै पच्चीस वर्षअघि उनले युरेशियाली एकीकरणलाई प्राथमिकताका रूपमा निर्धारण गरेका थिए। हो, युरेशियन आर्थिक समुदाय (EurAsEC) स्थापना भयो र यससँग सम्बन्धित विभिन्न पहलहरू पनि गरिए। तर यहाँ आश्चर्यजनक कुरा के हो भने, यदि हामी वर्तमान घटनाक्रमलाई थोरै पछाडि फर्केर हेर्दा, यी पच्चीस वर्षमा यो कार्य अधुरो मात्र रहेन, वस्तुतः यसको विपरीत परिणाम देखा पर्‍यो।

हामीले धेरै लामो समयसम्म कायम रहेका सम्बन्धहरूलाई विघटन गर्यौँ, र सोभियत-पश्चात् क्षेत्रभित्र आफ्नो प्रभाव कायम राख्न असफल भयौँ। राष्ट्रपति पुटिनले व्यक्तिगत रूपमा उक्त अवस्थालाई सुधार गर्न अत्यन्त ठूलो प्रयास गरे तापनि, संस्थागत तहमा विषयवस्तुहरू अर्को तहमा सारिए, सबै कुरा नियन्त्रणबाहिर गयो। न निरन्तरता थियो, न रणनीति; न मन्त्रालयहरू र निकायहरूबीच समन्वय थियो, न त ठूला निजी व्यवसायहरूको प्रणालीगत प्रयोग भयो। अर्काे शब्दमा भन्नुपर्दा, युरेशियन एकीकरणलाई व्यावहारिक रूपमा स्वतः निष्क्रिय प्रवाहमा छाडियो। फरक-फरक वर्षमा फरक-फरक व्यक्तिहरूले यसलाई सम्हाले—कहिले दक्षतापूर्वक, कहिले पूर्णतया अदक्ष र असक्षमतापूर्वक।

यस बिन्दुमा आएर, अब कसले राम्रो गर्‍यो, कसले नराम्रो गर्‍यो, कसले कुन काम उत्कृष्ट गर्‍यो, कसले कमजोर रूपमा गर्‍यो वा सोभियत-पश्चात् राज्यहरू आफैं कत्तिको दोषी थिए भन्ने विषयमा अहिले अाएर वादविवाद गर्न आवश्यक छैन भन्ने कुरामा म विश्वास गर्दछु। किनकि यदि राष्ट्रपति र हाम्रो समाजलाई निस्सन्देह युरेशियाली एकीकरण आवश्यक छ, किनभने हामी बहुध्रुवीय विश्वको केन्द्र बन्न चाहन्छौं। यो हाम्रो लागि भू-राजनीतिक अपरिहार्यता हो। उनलेे भन्छन्: “युरेशियाली एकीकरण कार्यान्वयन गर,” तर कसैले पनि त्यो गर्दैन भने, त्यसको अर्थ या त विघटन, अक्षमता वा प्रत्यक्ष रूपमा विध्वंस हो। यस्तो अवस्था पच्चीस वर्षसम्म निरन्तर रह्यो। जसको जरा नियाल्ने हो भने अझ अघिदेखि फैलिएको थियो।

हामीले, अन्तर्राष्ट्रियस्तरमा युरेशियन आन्दोलनलाई (जसलाई मैले स्वयं दुई दशकभन्दा बढी समयदेखि नेतृत्व गर्दै आएको छु) जनसाधारण, विज्ञ, बौद्धिक, राजनीतिक दर्शन, भू-राजनीति र सांस्कृतिक संवादका विशेषज्ञहरूसँग मिलेर यस विषयलाई विभिन्न कोणबाट सम्बोधन गरेका छौँ। हामी प्रत्यक्ष संलग्न भयौँ, विभिन्न देशहरूसँग सम्मेलनहरूको आयोजना गर्यौँ, प्रतिष्ठित व्यक्तित्वहरूलाई आमन्त्रित गर्यौँ, रणनीतिहरू विकास गर्यौँ र असंख्य पुस्तकहरू प्रकाशित गर्यौँ। तर हरेकपटक, युरेशियन एकीकरणका लागि जिम्मेवार राज्य संस्थाहरूको पूर्ण उदासीनता र असहयोग मात्र भेट्यौँ। यस्तो देखिन्थ्यो कि यो विषयले तिनीहरूभित्र गहिरो वितृष्णा उत्पन्न गरेको छ। यो स्थिति बारम्बार दोहोरिँदै गयो—हामीले जे गरे पनि: अझरबैजानसँग होस् वा काजाखस्तानसँग, मोल्दोभा वा बेलारुससँग। प्रत्येक पटक, सरकारी अधिकारीहरूले आफ्नो व्यवहार र निष्क्रियतामार्फत मानौं यस्तै भनिरहेका थिए:
हामीलाई तिमीहरूको आवश्यकता छैन; सबै कुरा हाम्रो नियन्त्रणमा छ।

आज ती अधिकारीहरू, जसले पच्चीस वर्षसम्म यही कुरा दोहोर्याइरहे, आज (यदि वास्तविक अवस्थालाई हेरियो भने) तिनीहरु पूर्ण रूपमा असफल भएका छन्। सबै कुरामा असफल। पुटिनले “एकीकरण” भन्नुभयो, तर हामीले “विखण्डन” पायौँ। हाम्रो आँखामुनि नै, ती अन्तिम देशहरूसँग पनि हाम्रो सम्बन्ध हराउँदैछ, जसले अझै केही निष्ठा र मित्रता कायम राखेका थिए। यसबाहेक, विशेष सैनिक अभियान (SMO) पनि असफल युरेशियाली एकीकरणको प्रत्यक्ष परिणाम हो।

अवश्य पनि, हाम्रा शत्रुहरू छन्, जसले यी उत्तर–सोभियत राज्यहरूलाई हामीबाट टाढा तानेका छन्। अवश्य पनि, ती देशभित्र नै राष्ट्रवादी र रूस–विरोधी प्रवृत्तिहरू सक्रिय छन्। यसलाई बेवास्ता गर्न मिल्दैन; यो वास्तविकता हो। तर प्रश्न उनीहरूको होइन। त्यो त पश्चिमसँगको हाम्रो संघर्ष, हाम्रो सार्वभौमिकता र स्वाधीनतालाई सुदृढ पार्ने हाम्रो प्रयासको स्वाभाविक भूराजनीतिक परिणाम हो। यो संघर्ष निरन्तर जारी छ, तर उत्तर–सोभियत क्षेत्रमा जसरी यसलाई अघि बढाइएको छ, मेरो दृष्टिमा, त्यसले एक ठोस र निर्विवाद “असफलताको परिणाम” मात्र प्राप्त गर्छ।

परम्परागत प्रश्न यो हो कि, अब हामीले के गर्नुपर्छ? यस सन्दर्भमा राष्ट्रपतिको प्रशासनमा केही रूपान्तरण सुरु भइसकेको कुरा स्वीकार गर्नैपर्छ। तर स्पष्टतापूर्वक यो भन्नु आवश्यक छ कि हामी अहिले वास्तविक विनाशको सामना गरिरहेका छौँ। पच्चीस वर्षदेखि युरेसियाली क्षेत्रीय एकीकरणको जिम्मेवारी लिएका व्यक्तिहरूले व्यवहारमा हाम्रो राष्ट्रपति र हामी सबैलाई धोका दिएका छन्। किनकि परिणाम राम्रो छैन, सन्तोषजनक छैन। म फेरि पनि दोहोर्याउँछु, यो असफलताको सङ्केत हो।

अब हामीले पूर्णरूपमा नयाँ युरेसियाली एकीकरण रणनीति विकास गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। उपलब्ध स्रोतहरूको पुनरावलोकन गर्नुपर्नेछ र सुरक्षा निकायहरू सहितका अन्तरविभागीय आयोगहरू गठन गर्नुपर्छ र मेरो विश्वास छ, यसमा प्रमुख रूसी व्यवसायीक क्षेत्रहरु पनि संलग्न हुनुपर्छ। हाम्रो युरेसियाली नीतिको व्यापक लेखापरीक्षण गर्न अपरिहार्य छ र त्यसकै आधारमा हामीले वास्तविक रणनीतिक योजना कार्यान्वयन गर्नैपर्छ।

पक्कै पनि, यो काम ती व्यक्तिहरूलाई सुम्पिनु पर्छ जसले आफ्नो कार्यकुशलता प्रमाणित गरिसकेका छन्। म प्रशासनिक प्रक्रियाका विवरणमा प्रवेश गर्ने छैन, तर त्यस्ता सक्षम व्यक्तिहरू अवश्य पनि छन्। युरेसियन एकीकरणको जिम्मेवारी अहिले उनीहरूलाई दिइएको छ। मलाई विश्वास छ कि उनीहरूले यस विषयमा पूर्णतया फरक दृष्टिकोण अपनाउने छन्। सबै कुरा सावधानीपूर्वक विचार गरी, समन्वय गरी, यो मोडेल लगभग नयाँ शीराबाट निर्माण गर्नुपर्ने छ वा यसअघि कार्यरत अधिकारीहरूले हामीलाई पुर्याएका नकारात्मक स्थिति/घाटाबाट नै सुरु गर्नुपर्ने छ। यो काम गम्भीरतापूर्वक सुरु गर्नुपर्छ र त्यसपछि मात्र प्रेस र सार्वजनिक क्षेत्रमा छलफल गर्नुपर्छ  के सफल भयो वा  भएन भन्नेबारे।

अनुवाद: मोहनप्रसाद ज्ञवाली